सहमतिमा नै यौन सम्बन्ध राखेपनि बलात्कार मानिने, तोकियो न्युनतम उमेर

पेरिस, २४ फागुन । फ्रान्समा उमेर नपुगी बालिकामाथि सहमतिमा यौन सम्बन्ध राखेका घटनाहरु बाहिर आएपछि न्यूनतम उमेर तोक्ने तयारी भएको छ । यो नीति लागु भएपछि १५ वर्षभन्दा मुनिकासँग सहमतिमा नै यौन सम्बन्ध राखेपनि त्यो बलात्कार ठहरिनेछ । फ्रान्सेली प्रहरीले हाल १५ वर्षभन्दा कम उमेरका व्यक्तिसँग भएको यौन सम्बन्धमा बलात्कारको आरोप प्रमाणित गर्नका लागि जबरजस्ती यौन सम्बन्ध बनाएको पुष्टि गर्नुपर्ने बाध्यता रहेको छ । हालै एक ११ वर्षीया बालिकासँग यौन सम्बन्ध बनाएको घटनापछि यस्तो कानुनी परिवर्तन गर्न खोजिएको हो । वर्तमान कानुनअनुसार जबरजस्ती यौन सम्बन्ध राखेको कुनै प्रमाण फेला नपरेमा अपराधीलाई नाबालिगसँग यौन सम्बन्ध बनाएको आरोपमा मात्रै दोषी ठहर गरिन्छ । यस्ता व्यक्ति बलात्कारी ठहरिँदैनन् । जुन आरोपमा पाँच वर्षको जेल र ६६ हजार पाउन्ड जरिमाना हुने प्रावधान रहेको छ । बालिक र नाबालिकसँगको यौन उत्पीडनको मामलामा करिब उस्तै प्रकारको कारबाहीको प्रावधान रहेको छ । तर, बलात्कारको आरोप प्रमाणित भएमा कडा कारबाही हुन्छ । आगामी दिनमा यौन हिंसा र उत्पीडन रोक्नका लागि उठाउने कदमका रूपमा सरकारले यो कानुनलाई स्वीकृति दिने तयारी गरेको छ । सहमतिमा यौन सम्बन्ध राख्न पाउने उमेर पनि १३ वर्ष वा १५ वर्ष राख्ने भन्नेबारेमा बहस भएको थियो । पछि सरकारले १५ वर्षको उमेर राख्ने निर्णय लिएको हो । बालअधिकारको क्षेत्रमा काम गर्दै आएका समूहले यो माग गर्दै आएका थिए । फ्रान्सको लैंगिक समानता सुनिश्चित गर्नेसम्बन्धी विभागकी मन्त्री मार्लिन सियपाले भनिन्, ‘मलाई सरकारले धेरै उमेरको विकल्प चयन गरेकोमा खुसी लागेको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोले पनि यसमा सहमति जनाउनुभएको छ ।’ गत वर्षको नोभेम्बरमा ३० वर्षका एक व्यक्तिलाई ११ वर्षकी बालिकासँग यौन सम्बन्ध राखे पनि अदालतले रिहा गरिदिएको थियो । अदालतले अभियुक्तले ११ वर्षीय बालिकालाई जबरजस्ती यौन सम्बन्ध नराखेको भन्दै रिहा गर्ने आदेश दिएको थियो । अर्को यस्तै घटनामा पनि २८ वर्षीय एक युवकमाथि बलात्कारको नभई यौन हिंसाको मुद्दा चलाउने फैसला गरेको थियो । यो घटनामा पनि अदालतले यौन सम्बन्धका लागि उनले जबरजस्ती नगरेको दाबी गरेको थियो । हालै सोही अदालतले आफ्नो फैसला उल्टाउँदै बलात्कारको मुद्दा चलाउने फैसला गरेको छ । विश्वका विभिन्न देशमा सहमतिमा यौन सम्बन्ध राख्नका लागि न्यूनतम उमेर तय गरिएको छ । भारतमा १८ वर्षलाई न्यूनतम उमेर मानिएको छ भने अस्ट्रिया, जर्मनी, हंगेरी, इटाली र पोर्चुगलमा १४ वर्ष कायम गरिएको छ । यस्तै ग्रीस, पोल्यान्ड र स्वीडेनमा १५ वर्ष, बेल्जियम, नेदरल्यान्ड, स्पेन र रुसमा १६ वर्ष र साइप्रसमा १७ वर्षसम्म सहमतिमा नै राखेको यौनसम्बन्ध बलात्कार ठहरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?