काठमाडौं, २५ फागुन । एनआईसी एशिया बैंकसँग नेपाल बैंकर्स संघले सम्बन्ध र सहकार्यलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।नेपाल बैंकर्स संघको निर्णय बाहिर गएर बैकिंङ प्रणालीलाई असहज बनाउन खाजेको भन्दै संघले एशिया बैंकसँगको सम्बन्ध र सहकार्यलाई तत्काल स्थगित गर्ने निर्णय गरेको हो ।एनआईसी एशिया बैंकमा ब्याजदरको विषयलाई लिएर प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा गरेका थिए । सो लगत्तै बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेपछि आकस्मिक बैठक बोलाएर संघले यस्तो निर्णय गरेको हो ।एनआईसी एसियाले संघमा ब्याज दर नबढाउने प्रतिबद्धता व्यक्त गरेपनि सम्झौता विपरित संघको काम कारबाहीलाई प्रभावित बनाउन खाजेको संघको ठहर छ । पछिल्लो पटक एनआईसी एशियाले साधारण बचतको ब्याजदर १० प्रतिशत पुर्याए लगत्तै संघले बैठक बोलाएर साधारण बचतको ब्याजदर ८ प्रतिशत माथि नलैजाने निर्णय गरेको थियो । सोही अनुसार एनआईसी एशियाले ब्याजदर ८ प्रतिशतमा नै फर्काएको थियो ।तर त्यस अघिको बैठकले मुद्धती निक्षेपमा ११ प्रतिशत ब्याजदरभन्दा माथि नजाने भनी गरेको निर्णयलाई टेकेर एनआईसी एशियाले १२ प्रतिशतको व्याजदर प्रस्ताव गरेको छ । यही ब्याजदरको विषयमा उत्पन्न विवादका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले राजिनामा गरे पछि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको थियो ।बैंकको यो निर्णयलाई संघले एक्लो यात्रामा निस्कन एनआईसी एशिया अग्रसर भएको भन्दै तत्कालका लागि सो बैकसँग कुनै पनि किसिमका सम्बन्ध नराख्ने निर्णय गरेको हो । संघले एनआईसी एशियासँग कुनै पनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको छ ।‘एनआइसी एसियाको पछिल्लो कदमले वाणिज्य बैंकहरुको प्रणालीमा नै समस्या ल्याउने शैलीमा अघि बढ्यो । यही कारण बाँकी २७ वाणिज्य बैंकले एनआईसी एशियासंग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेका छौं ।’ बैंकर संघका अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया