आजबाट अधिकमास शुरु, के गर्ने, के नगर्ने ?

काठमाडौं । अधिकमासलाई पुरुषोत्तममास भनेर पनि भनिन्छ । किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ ।

यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुँदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू हुदैनन् । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन ।

अधिक मास कसरी पर्छ ?

३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेण्डको एक चन्द्रमास हुन्छ ।

त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढी हुन पुग्छ । ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ ।

अधिक मासमा के गर्नु हुन्छ ? के गर्नु हुदैन ?
गर्न हुने
वार्षिकी कार्य
दैनिक नित्य कर्म सधै गरेर ल्याइएका कर्म जस्तो दैनिक विहान बेलुकाको पूजा ।
पुरुषोत्तम पूजा कथा श्रवण

गर्न नहुने कार्य
श्राद्ध तथा पितृकर्म
विवाह व्रतवन्ध, चूडाकर्म
सप्ताह, नवाह, महारुद्रि, शतचण्डी

शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश , नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ ।
अधिक मासमा विवाह गरेमा गृह सुख हुदैन गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ । नव विवाहित दाम्पत्तीहरूकालागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ र २०७७ सालमा विवाह गर्नुभएको छ भने पतिसँग बस्नुहुदैन ।

अधिकमास प्रारम्भ भएपछि सधैं बिहानै नुहाइधोई गरेर पवित्र भई विष्ण भगवान वा बिष्णुको अरु कुनै पनि अवतारको पूजा गर्नुपर्दछ । सहस्त्रांशुु सूर्य भगवानको पूजन गर्नुपर्दछ । विविध प्रकारको घिउ, चाकु र अन्नको नित्य दान गर्नुपर्दछ तथा घिउ, चाकु तथा अन्नले बनेका तेतीसवटा पुवा कांस्यपात्रमा राखेर अधिकमासका तेतीसवटा

देवताहरूका लागि–

विष्णुरूपी सहस्त्रांशु स्सर्वपाप प्रणाशनः ।
अपूपान्न प्रदानेन मम पापं व्यपोहतु ।।

मन्त्र उच्चारण गरेर प्रतिदिन वा आफ्नो सामर्थ्यअनुसार दान गर्नुपर्दछ । यस प्रकारले पूजाआजा गर्दा सबै प्रकारको धन्य–धान्य, पुत्र तथा परिवारको उन्नति हुन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?