काठमाडौं । प्रत्येक दुई वा तीन वर्षमा पुरुषोत्तम मास वा मलमास पर्ने गर्दछ । मलमासमा पर्ने दुईओटा एकादशीको अन्य एकदशीजस्तै आफ्नै छुट्टै विशेषता छ ।
यी एकादशीमा व्रत लिनाले समेत विशिष्ट फलप्राप्ति हुने धार्मिक मान्यता रहेकोछ । तीमध्ये पहिलो एकादशी अर्थात् अधिकमासको शुक्लपक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ । पुरुषोत्तम महिनाको एकादशी भएकाले यसलाई पुरुषोत्तमी एकादशी पनि भनिन्छ ।
यो एकादशी भगवानले अती प्रिय मान्नुहुन्छ । त्यसैले यस एकादशीको व्रत विधिपूर्वक सम्पादन गर्दा प्रत्येक जीव सीधै विष्णुलोक पुग्दछ भन्ने धार्मिक विश्वास छ । यस व्रतको विधिवत् पालनाबाट व्यक्तिले सबै प्रकारका यज्ञ, व्रत एवं तपश्चर्याको फल प्राप्त गर्दछ ।
यस व्रतको महात्म्यमा उल्लिखित कथा अनुसार भगवान् श्रीकृष्ण युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी र बलशाली राजा थिए । तिनका धेरैवटी रानीहरू थिए तर कुनै रानीबाट पनि यिनले सन्तान उत्पादन गर्न सकेका थिएनन् ।
सन्तानहीन भएकाले राजा र तिनका रानीहरू यावत् सुखसुविधाहरूका माझमा पनि दुःखी र सन्तप्त थिए । सन्तानप्राप्तिको मनोरथ पूर्ण गर्न ती राजा आफ्ना रानीलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे । हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन ।
बरु राजा दुब्ला पातला र ख्याउटे बन्न पुगे । उनी यतिसम्म निर्बल भए कि रानीहरूको कामना पूर्ति गर्न समेत उनी असमर्थ झैं हुनपुगे । त्यसै जङ्गलमा नजिकै ऋषि अत्रिको आश्रम थियो । उनकी पत्नी अनुसूया सतीत्व, पवित्रता र आचरणमा तीनै लोकमा प्रसिद्ध थिइन् ।
राजा कृतवीर्यका रानीहरूले ऋषिपत्नी अनुसूयासँग आफ्ना आकांक्षालाई बताउँदै सन्तान प्राप्तिको उपाय सुझाउन अनुरोध गरे । ठिक्क त्यतिबेला अधिकमास परेको थियो, गुरुआमा अनुसूयाले तिनलाई त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा सुझाईन् र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि बताईन् ।
रानीहरूले पनि गुरुपत्नीले निर्देशन गरेबमोजिम पद्मिनी एकादशीको व्रत लिए । व्रतको सम्पादन पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो । रानीहरूले भगवानसित भने–प्रभु ! हजुर हामीसँग प्रसन्न हुनुहुन्छ भने हाम्रो सट्टामा हाम्रा पतिलाई वरदान र आशिक दिनुहवस् । भगवानले रानीहरूको अनुरोधलाई स्वीकार गर्दै राजासँग वरदान माग भन्नुभयो, राजा कृतवीर्यले पनि भगवानसँग बिन्ती गरे–हे प्रभो ! मेरी जेठी पत्नी ९पट्टरानी०को कोखमा हजुरले मलाई यस्तो एउटा पुत्र प्रदान गर्नुहवस् ।
जो सर्वगुण सम्पन्न होस् र तीनै लोकमा आदरणीय तथा सम्मानित पनि होस्, अनि ऊ कसैसित पनि पराजित नहोस् । भगवानले पनि तथास्तु भन्नुभयो र त्यहाँबाट अन्तर्धान हुनुभयो । केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण गरिन् र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो, धेरै ओटी आमाहरूले निस्वार्थ भगवद्भक्ति गरी जन्मिएको हुँदा ऊ जन्मँदै सहस्रबाहु अर्थात् हज्जारवटा हातसहित जन्मिएको थियो । उसको व्यक्तित्व, ऐश्वर्य र पराक्रम तीनै लोकमा प्रसिद्ध भयो । उसको अन्त्यका निमित्त स्वयं भगवानले पर्शुराम अवतार लिनु परेको प्रसङ्ग विभिन्न पुराणहरूमा पाइन्छ । कुनै समयमा कार्तवीर्यले रावणलाई पनि बन्दी बनाएको थियो भन्ने कथा छ ।
पद्मिनी एकादशी व्रत विधानः
यस एकादशीको व्रतसम्पादन गर्ने नियम र विधान यस प्रकार छ
१. एकादशीका दिन स्नानादिबाट निवृत्त भएर भगवान् विष्णुको विधिपूर्वक पूजा गर्नुपर्छ ।
२. निर्जला–सकेसम्म पानीसमेत नखाई व्रतसम्पादन गर्नुपर्छ ।
३. दिनभरि पुराणको अध्ययन, श्रवण र मनन गर्नुपर्दछ ।
४. रात्रीकालमा पनि निर्जला व्रत लिनुपर्छ र भजनकीर्तनका साथमा जागरण गर्नुपर्दछ ।
५. रात्रिकालमा प्रत्येक प्रहरमा क्रमशः दम्पतीसहित भगवान् नारायण र शङ्करको पूजा गर्नुपर्दछ ।
६. प्रत्येक प्रहरमा भगवान् भिन्नभिन्न नैवेद्य र भेटी चढाउनु पर्दछ, जस्तै पहिलो प्रथम प्रहरमा श्रीफल९नरिवल०, दोस्रो प्रहरमा बेल, तेस्रो प्रहरमा फर्सी र चौथो प्रहरमा मौसमी, जुनार वा सुन्तला र सुपाडी अर्पण गर्नुपर्दछ ।
७. द्वादशीका दिन बिहानै भगवानको पूजा गरेर ब्राह्मणलाई भोजन गराई सीधा, दक्षिणासहित विदा गर्नुपर्छ र त्यसपछि आफूस्वयंले भोजन ग्रहण गर्नुपर्दछ ।
यसरी यस एकादशीको व्रतसम्पादन गर्नाले मनुष्यको जीवन सफल हुन्छ, उसले आजीवन सुख भोगेर अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया