काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त व्यक्त गर्दै सुरक्षाका मापदण्ड अपनाएर पर्यटन पुनरुत्थानका कार्यक्रम गर्न ‘अपिल’ गरेका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा आज आईतबार एक शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैँ निकट भविष्यमा नै यो महाव्याधी नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने अपेक्षा साटेका हुन् ।
कोरोना संक्रमण रोकथामको उद्देश्यले नेपालमा गत वर्ष ७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले पर्यटन व्यवसाय तथा सेवामा उच्च क्षति पुगेको बताउँदै मन्त्री भट्टराईको शुभकामना सन्देशमा लेखिएको छ, हाम्रा तत्कालीन एवम् दीर्घकालीन लक्ष्यहरु हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ ।’
उनले आगामी दिनमा जनता एवंम् सरोकार समुदायका सुझाव, विज्ञहरुको सिफारिसको आधारमा नवप्रवर्द्धन र विकास सम्बन्धी योजना तथा कार्यक्रमलाई उच्च महत्वका साथ कार्यान्वयन गर्ने पनि बताएका छन् ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाईन्छ । तर यसपटक कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सबै क्षेत्र ठप्पप्राय भएका कारण पनि औपचारिक कार्यक्रम भएका छैनन् । कोरोनाको कहरले हरेक क्षेत्र तह र तप्कामा अप्ठेरो परिस्थिती सिर्जना भयो । अझ नेपालमा यस अंगेजी वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणासहित नेपालले विशेष तयारी गरेको थियो । सरकारले यसवर्ष २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेकोमा अंग्रेजी वर्षको अन्तिम महिनामा कोरोना भाइरसको कारण स्वास्थ्य क्षेत्रमा मानव अस्तित्वमा नै चुनौति थपिएसँगै नेपालमा लकडाउन भयो । त्यसयता पर्यटन क्षेत्रका हरेक गतिवीधि ठप्पै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया