चितवन, २९ फागुन – पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिव ७० प्रतिशतले जिप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेका छन् ।सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ गैँडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट अवसर भएको बताउछन ।जिप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, खुला खोरमा राखिएको अर्ना तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैँडाको उत्कृष्ट वासस्थान हो । विसहजारी ताल, इचर्नी टापू, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी र पूर्व कुमरोज गैँडाको राम्रो वासस्थान हो ।निकुञ्जको पूर्वी सेक्टरमा करिव ६० वटा गैँडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउछन । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् ।“सौराहा आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले जिप सफारी गर्छन्”, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले भने ।सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जिप सफारी महत्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ ।सौराहाबाट निकुञ्ज घुम्नका लागि ४० भन्दा बढी जिप सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क रु एक हजार ५०० लाग्छ । पर्यटक प्रवेश गर्दा नेपालीलाई रु ११३, सार्कको नागरिकलाई रु ८५० तथा तेस्रो मुलुकका पर्यटकलाई रु एक हजार ६९५ थप शुल्क लाग्छ । एउटा जिप प्रवेश गर्दा निकुञ्जले रु चार हजार ५२० शुल्क लिन्छ ।सौराहा रेवानका अध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जिप सफारीमा पर्यटकले सहजै गैँडालगायत वन्यजन्तु हेर्न पाउने बताउछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया