विमानस्थल निर्माणमा सङ्घ र प्रदेश सरकारबीच साझेदारी

काठमाडौं । विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच पहिलोपटक साझेदारी भएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त विमानस्थल विस्तार र स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी गरिएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको उपस्थतिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा कर्णालीका आर्थिक मामिला सचिव घनश्याम उपाध्याय र नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच हस्ताक्षर भएको हो ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको उल्लेख गर्दै सङ्घीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुङगा साबित हुने जिकिर ग् । उनले भने, “यो हाम्रो पहिलो समझदारी हो, अब प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ ।”

पर्यटनमन्त्री भट्टराईले विमानस्थल सङ्घीय सरकारको क्षेत्राधिकारभित्र परेपनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो पतिफल आउने विश्वास व्यक्त गरे । विमानस्थल मात्र होइन सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्नसक्ने उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?