काठमाडौं । खुला प्रतिष्पर्धाबाट नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् ।
शंकरकुमार रायमाझीको संयोजकत्वमा गठित सीईओ छनोट उपसमितिले शनिबारको अन्तर्वार्तापछि आइतबार श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
खुला प्रतिस्पर्धाबाट सीईओ छनोटका लागि ४ जना आवेदक मध्येबाट उमेर, शैक्षिक योग्यता, र अनुभवको आधारमा चार जनाबाट उपसमितिले महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गरीे शनिबार अन्तर्वार्ता लिएको थियो । शनिबार भएको दुवै उम्मेदवारको अन्तर्वार्ताको ब्यबसायी रणनीति, र कार्ययोजना प्रस्तुतीकरणको आधारमा श्रेष्ठ सीइओमा नियुक्त भएका हुन् ।
नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त कर्मचारी हुन् ।
त्रिपुरेश्वर काठमाण्डौंमा जन्मिएका श्रेष्ठले आफ्नो करियरको ३० वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका थिए । श्रेष्ठले अवकास हुनभन्दा अघि कर्पोरेट प्लानिङ्गमा समेत काम गरेका थिए । राष्ट्र बैंकमा बैंक सुपरिवक्षेण विभागको नेतृत्व गरेका श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । श्रेष्ठ पाँच वर्ष नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । सो समयमा उनी राष्ट्र बैंकको तर्फबाट सीईओ नियुक्त भएका थिए ।
नागरिक स्टक डिलर कम्पनीको सीईओ पदका लागि सन्तोषराज नेपाल, विशाल अग्रवाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया