काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ ।
आज बसेको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेशसभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएका नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ ।
यही असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । संसदीय दलको बैठक सकिएपछि अबको केहीबेरमा प्रदेशसभा बैठक शुरु हुनेछ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
आज संसद् भवन परिसरमै बसेको कांग्रेस दलको बैठकले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिए । बैठक शुरु हुनासाथ रोष्टम घेराउ गर्ने र दलका नेताले बोलेपछि बैठक स्थगित गर्न दबाब दिने सचेतक क्षेत्रीले बताए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया