व्यापक र स्तरीय अनुवाद हुनुपर्नेमा जोड

काठमाडौँ, १ चैत – नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन र विश्व साहित्यबाट लाभ लिन व्यापक तथा स्तरीय अनुवाद हुनुपर्नेमा एक विचार गोष्ठीका वक्ताहरुले जोड दिए ।नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले बुधबार यहाँ आयोजना गरेको अनुवाद विचारगोष्ठीका सहभागी वक्ताहरुले सो आवश्यकता औँल्याउएका हुन ।कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हाम्रो साहित्य उत्कृष्ट भएपनि राम्रो अनुवाद हुन नसक्दा अन्तर्राष्ट्रियस्तरमा पुग्न नसकेको र नोबेल पुरस्कारजस्ता ठूला पुरस्कार प्राप्त गर्न नसकेको पनि बताए ।उनले अनुवाद भएर मात्र हुँदैन सरल र उत्कृष्ट पनि हुनुपर्ने बताउँदै साहित्यकार डायमण्ड शमशेर राणाको ‘सेतो बाघ’को अनुवाद ग्रेटा राणाले उत्कृष्टरुपमा गरेकाले नै यसको अन्य भाषामा पनि अनुवाद हुन सकेको उदाहरण प्रस्तुत गरे ।उनले अंग्रेजीबाट नेपालीमा भन्दा पनि नेपालीबाट अंग्रेजी भाषामा नेपाली साहित्यलाई लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले अनुवाद गर्नाले नै रुसी साहित्य विश्वमा पुगेको बताउदै नेपालका अनुवादमा जटिलता र स्रोतको कमी हुनुका साथै विभिन्न मातृभाषाबाट पनि नेपालीमा पनि अनुवाद गर्नुपर्ने आवश्यकता औँल्याए ।कार्यक्रमका सभापति तथा प्राध्यापक डा अभि सुवेदीले आफूले विदेशमा जाँदा बंगलादेश तथा जापानमा राम्रो पठन संस्कृतिको अनुभव गरेको बताउँदै नेपालमा भने यहाँको साहित्य पर्याप्त मात्रामा अनुवाद हुन नसकेको बताए ।उनले जर्मनीमा संस्कृत भाषाबाट पनि अनुवाद हुन थालेपछि नै अंग्रेजी भाषा पनि बाहिरी संसारमा विस्तार हुँदै गएको बताए । उनले प्रज्ञाको अनुवाद विभागले थोरै बजेटबाट पनि प्रशंसनीय काम गरेको बताए ।प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले विश्वको ज्ञान आर्जन गर्ने हो भने अनुवाद अपरिहार्य रहेको बताउँदै नत्र हाम्रो साहित्य आफ्नै टापुमा साँघुरिएर मर्ने पनि बताए ।विभागका संयोजक उषा ठाकुरले थोरै बजेटबाट पनि मितव्ययी ढंगबाट उपयोगी काम गरेको बताउँदै वाङ्मय शताब्दी पुरुष जस्ताको प्रस्तुतिबाट अनुवादको विराटस्वरुप प्रकट भएजस्तो भएको बताए ।कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराईले अनुवाद विभागले अनुवादसम्बन्धी महत्वपूर्ण कार्य गरेको बताउँदै आफ्नै सम्पादकत्वमा नेपाली अनुवादक कोश तयार हुँदै गरेको र आफूले भारतका आसामसम्मको भ्रमणबाट धेरै अनुदित कृतिहरुको विवरण प्राप्त गरेको बताए ।विभागका संयोजक प्रा डा उषा ठाकुरले आजको युग अनुवादको युग भएको बताउँदै नेपाली भाषा साहित्यलाई विश्वस्तरमा पु¥याउन अनुवाद आवश्यक भएको बताए । उनले विभागबाट हालसम्म नौवटा अनुवाद कृति प्रकाशित भइसकेको पनि बताए ।कार्यक्रममा ‘नेपालीमा अनुदित अंग्रेजी साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्ने त्रिविका उपप्राध्यापक बलराम अधिकारीले नेपालीमा अनुवादको प्रमुख स्रोत अंग्रेजी भएको बताउँदै हाल नेपाली अनुवादकहरु अंग्रेजी केन्द्रित हुँदै गएको बताए ।अघिल्ला चरणमा संस्कृत, बंगला, हिन्दी भाषाबाट हुने गरेकोमा हाल निजी प्रकाशनगृह अंग्रेजी साहित्यको अनुवादमा सक्रिय भएको पनि उनले बताए ।कार्यक्रममा अर्का कार्यपत्र प्रस्तुतकर्ता डा रामदयाल राकेशद्वारा तयार गरिएको कार्यपत्र ‘नेपालीमा अनुदित हिन्दी साहित्य’मा उनको अनुपस्थितिमा प्रा डा भट्टराईले टिप्पणी गरेका थिए ।सो कार्यक्रमका प्रतिवेदक बलराम अधिकारी र त्रिभुवनचन्द्र वाग्ले थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?