राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रि गर्दै, नेपाली नागरिकले पनि लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बोलकबोल मार्फत बिक्रि गर्न लागेको छ । ७ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘घ’के ब्याजदर बोलकबोल मार्फत निर्धारण अुने जनाइएको छ ।

यस विकास ऋणपत्रमा बैंक तथा वित्तिय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् ।

विकास ऋणपत्रमा ईच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी वोलवालाहरुलाई छुटाइएको रकमभन्दा बढि रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जानकारी गराएको छ ।

साथै बोलवालाले कबोल गरेको ब्याजदरलाई सानादेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट—अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहानेले २०७७ साल असोज २० गतेका दिन अपरान्ह ३ बजेसम्म वेवसाइट मार्फत बोलकबोल गर्न सक्नेछन् भने असोज २१ गते ऋणपत्र निष्काशन गरिने छ ।

यस ऋणपत्र खरिद गर्ने सिमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन पेश गर्नु पर्ने राष्ट्र बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?