काठमाडौं – प्रहरीले दशैँ सुरक्षा योजना सार्वजनिक गर्दै अपरिचित व्यक्तिसँग कुनैपनि आर्थिक कारोबार नगर्न आम नागरिकलाई अनुरोध गरेको छ ।
कोरोनाको कहरकाबीच आएको दशैँ, तिहार र छठसम्मका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दै नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार छठ पर्वहरुमा मानिसहरुको ‘मुभमेन्ट’ बढी हुने र यस्तो बेला पैसा साटिदिने लगायत विभिन्न वहानामा ठगी हुनसक्ने भएकोले अपरिचित व्यक्तिसँग कुनैपनि आर्थिक कारोबार नगर्न भनेको हो ।
प्रहरीले बैंक तथा वित्तीय क्षेत्रलाई समेत सुरक्षा निगरानीमा राखेर एटीएम बुथहरुमा समेत सादा पोसाकमा प्रहरी परिचालन गरेको छ ।
यसपटक प्रहरीले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर सुरक्षा योजना सार्वजनिक गरेको छ ।
कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण तिव्र रुपमा बढीरहेको कारण स्वास्थ्य मन्त्रालयले जो जहाँ छन् त्यहिँ दशैँ तिहार मान्नको लागि अनुरोध गरिरहेको छ ।
तर मानिहरुको चहलपहल र आउजाउको मुभमेन्ट बढीसकेको प्रहरीको तथ्यांक छ । त्यसो त ‘कोभिड १९’ को महामारीबाट बच्न सरकारले गत वर्षको चैत्रमा गरेको लकडाउनको कारण हजारौँ मानिसहरु आ- आफ्ना थातथलो गइसकेका छन् ।
चाडपर्वको समय छोपेर हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष झैँ यसवर्ष पनि विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वका समयमा काम वा रोजगारीको सिलसिलामा काठमाडौंमा डेरा गरी बस्नेहरु आ आफ्ना गाउँ वा स्थायी बसोबास भएको स्थानमा जान सक्ने भन्दै यस्तो अवस्थामा हुने भिडभाडमा चोरी, ठगी, लुटपाट, पकेटमारी, कालोबजारी, आर्थिक अपराधलगायत अन्य अपराधिक क्रियाकलाप बढ्नसक्ने भन्दै काठमाडौंमा मात्रै तीन हजार बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा तालिमप्राप्त कुकुरबाट जाँच सुरु गरेको जनाएको छ ।
यात्रुलाई सहजता प्रदान गर्न बसपार्क लगायत विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखिएको छ ।
दिउँसो घरबाहिर निस्कँदा घरको ताल्चा र गेटमा पनि पक्कि ताल्चा लगाएर निस्कन र लामो समयसम्मका लागि निस्कन लागेको भए आफन्त, छिमेकी वा प्रहरीलाई जानकारी गराउन प्रहरीले आम नागरिकलाई अनुरोध छ ।
यस्तै बहुमुल्य सामान, गरगहनाको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
बढी भाडा लिने, भौतिक दूरी कायम नगरी अचाखच यात्रु चढाउने, गति अत्याधिक बढाउने, जबरजस्ती आफ्नो सवारीमा यात्रु चढाउनेलाई भने प्रहरीले कारबाही समेत गरिसकेको छ ।
ट्राफिक प्रहरीले लामो दूरीको गाडीमा दुई जना चालक राखिएको छ कि छैन भनेर पनि अनुगमन गर्नेछ ।
प्रहरीले कोरोनाको जोखिमबाट बच्न यात्रु स्वयम् पनि यात्रा अवधिभर सचेत हुन अनुरोध गरेको छ ।
सार्वजनिक यातायातमा ओहोरदोहोर गर्दा पाकेटमारदेखि सावधान रहन प्रहरीको विशेष अनुरोध छ ।
बढी भिडभाड हुने काठमाडौं उपत्यकाका विभिनन क्षेत्रहरुमा प्रहरीले सक्रियता बढाएको छ ।
पकेटमारलाई लक्षित गर्दै काठमाडौंमा गुड्ने सबैजसो सार्वजनिक सवारीमा सादा पोसाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् । उनका अनुसार मोटरसाइकल गस्ती, नियमित गस्तीमा पनि सक्रियता बढाइएको छ ।
प्रहरीले तपाईको वरपर, तपाईको बसोबास भइरहेको स्थानमा शंकास्पद व्यक्ति वा गतिविधि देखिए तत्काल प्रहरीलाई समयमै खबर गर्न समेत अनुरोध गरेको छ । कसैलाई केही समस्या भए १०३ मा फोन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
यसअघि हिजो (मंगलबार) ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान अन्तर्गत बढी भाडा लिनेलाई यात्रु बनेर कारबाही गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया