पञ्चकमा किन शुभ कार्य र दक्षिण दिशाको यात्रा गर्नु हुँदैन ? यस्तो छ कारण !

काठमाडौं । हाम्रो संस्कारमा कुनै पनि शुभ तथा मांगलिक कार्य गर्नको लागि शुभ मुहुर्त वा साईत हेरिन्छ । यदि राम्रो मुहुर्त वा साईत निस्किएन भने शुभ कार्य गर्नुहुन्न भन्ने हाम्रो शास्त्रिय मान्यता रहेको छ ।

ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ । आकास मण्डलमा पर्ने ५ नक्षत्र पर्दापनि शुभ कार्य गर्नुहुन्न भन्ने मान्यता रहेको छ । जुन नक्षत्रलाई पञ्चक भनिन्छ ।

धनिष्ठाको आरम्भ सँगै शतभिषा, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा र रेवती हुने दिनलाई पञ्चक भनिन्छ ।

ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ । पञ्चकको समयमा कुनै मानिसको मृत्यु भएका शवसँगै कुश वा आटाको पुत्ला बनाएर जलाए पञ्चकको दोष काटिने मान्यता रहेको छ ।

जव चन्द्रमा कुम्भ र मीन राशिमा हुन्छ त्यतिबेला पञ्चक हुन्छ । रामायणकालमा भगवान रामले रावण बध गर्ने समयमा घनिष्ठा नक्षत्र देखि रेवती सम्मका धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपदा, उतराभाद्रपद र रेवती० पाँच नक्षत्र उपस्थित थिए । उनीहरुलाई पञ्चक भनिएको थियो ।

रावणको बध भएपछिका ५ दिनलाई पञ्चक भनिएको थियो । पञ्चकको समयमा ५ काम गर्नु अशुभ मानिन्छ । पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।

पञ्चकमा गर्न नहुने काम

पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै ५ वटा कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउदा संकट आउन सक्छ । पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ । पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ । पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ ।

पञ्चकका प्रकार

१ रोग पञ्चक

आइतवार देखि शुरु हुने पञ्चकलाई रोग पञ्चक मानिन्छ । यो समयमा शारीरिक तथा मानसिक तनाव हुन सक्छ ।

२ राज पञ्चक
सोमवार शुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ । यो शुभ पञ्चक मानिन्छ । सरकारी काममा सफलता पाउन चाहनेले यो पञ्चकमा शुरु गर्नु पर्छ ।

३ मृत्यु पञ्चक

शनिवार शुरु हुने पञ्चकलाई मृत्यु पञ्चक भनिन्छ । यो पञ्चकमा कुनै काम शुरु गर्दा घातक अर्थात मृत्यु समान अशुभ हुन सक्छ ।

४ चोर पञ्चक

शुक्रवार शुरु हुने पञ्चकलाई चोर पञ्चक भनिन्छ । यो पञ्चकमा यात्रा गर्नु सबैभन्दा खराव मानिन्छ । यो समयमा लेन–देन तथा व्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ । बुधवार र विहीवार शुरु हुने पञ्चकलाई माथिका नियम लाग्दैन ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?