वासिङटन, १ चैत–बेलायतमा भएको भनिएको रुसी गुप्तचर र उनकी छोरीमाथिको घातक विष आक्रमणको अमेरिकासहितका राष्ट्रले कडा शब्दमा निन्दा र भत्र्सना गरेका छन् । अमेरिका, बेलायत,जर्मनी र फ्रान्सका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यसको निन्दा गरेका छन् ।ती राष्ट्रले रुसले यो आक्रमणमा आफ्नो कुनै संलग्नता अस्वीकार गर्दै दिएको प्रष्टिकरण केबल सस्तो लोकप्रियताका लागि मात्रै आएको समेत उनीहरुले आरोप लगाएका छन् । यस्तो प्रकारका विष आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलो पटक भएको भन्दै यसले बेलायतको सार्वभौमिकतामाथि समेत आक्रमण गरेको उनीहरुको आरोप छ ।बेलायतले यसै घटनालाई लिएर रुसका २३ जना कूटनीतिज्ञलाई निष्काशन गरेको छ । प्रधानमन्त्री थेरेसा मेले बिहीबार नै विलसायरस्थित आक्रमण भएको क्षेत्रको भ्रमण गरेकी थिइन् । रुसले भने आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेकोमा आलोचना गर्दै त्यसमा आफ्नो कुनै संलग्नता अस्वीकार गरेको छ । बेलायतमा रहेका रुसी गुप्तचर ६६ वर्षीय सर्गेइ स्क्रिपल र उनकी छोरी युलियामाथि घातक नर्भ एजेन्ट बिष आक्रमण भएको थियो । उनीहरुको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । चारवटा देशले जारी गरेको संयुक्त विज्ञप्तिमा यो आक्रमण घृणाजनक भएको उल्लेख गरिएको छ ।बेलायतले रुसका निष्काशित कूटनीतिज्ञलाई देश छाड्न एक साताको समय दिएको छ । बेलायतले पूर्व रुसी गुप्तचर सर्गेईमाथि नर्भ एजेन्ट बिष दिएर हत्या गर्ने कोशिस गरेको आरोप लगाएको छ । बेलायती प्रधानमन्त्री मेले निष्काशित रुसी कूटनीतिज्ञ अघोषित गुप्तचर भएको आरोप समेत लगाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया