‘बस टू एभरेष्ट टूर’ : अब बस चढेर काठमाडौंबाट लण्डन जान पाइने

काठमाडौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ ।

यो बस टू एभरेष्ट टूर १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको हो । पर्यटकले बसबाटै काठमाडौंबाट माउन्टेन फ्लाईट मार्फत सर्वोच्च शिखर सगरामाथको अवलोकन गर्न सक्नेछन्।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न नयाँ अवधारणा अनुरुप यस्तो टूर प्याकेज सञ्चालनमा ल्याइएको हो । यो प्याकेज अप्रिलदेखि शुरु भएर सेप्टेम्बर महिनासम्म चल्नेछ ।

यो टुर देश अनुसार कम्तिमा २३ दिनदेखि बढीमा ६५ दिनसम्मको हुनेछ । पर्यटकलाई फाइभस्टार होटलमा राख्ने व्यवस्था समेत मिलाइएको छ । विदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्य राखेर सञ्चालन भईरहेको यो टूर प्याकेजमा आएका पर्यटक नेपालको काठमाडौंसम्म बसमा आउने र फर्किँदा भने आफैँ टिकट काटेर वा टूर सञ्चालकसँग समन्वय गरेर फर्किनुपर्ने बताइएको छ ।

यो टूरमा सबैभन्दा सस्तो भनेको २३ रातको लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले एभरेष्ट–चाइना–उत्तर कोरिया–सोल यात्रा गर्न पाउने छन् । यस्तो खर्चमा खाने, बस्ने लगायतका सुविधा जोडिएको छ ।

यस्तै, सबैभन्दा महंगो टूर भनेको १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यो टुर गर्न ५७ दिन लाग्नेछ भने पर्यटकले एभरेष्ट–पोल्याण्ड–मिलान यात्रा गर्न पाउने छन् ।

यो टूर प्याकेज अन्तर्गत नेपालीहरु पनि अब बसमै लण्डनसम्मको यात्रा गर्न पाउने अवसर प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?