काठमाडौं – कोरोना कहरकाबीच आएको नेपालीहरुको महान् पर्व दशैँ पर्वको लागि मानिसहरुले विभिन्न सरसामान जोहो गर्छन् । एकातिर कोरोनाको महामारी अर्कोतिर चाडवाडको मूल्य मान्यता अनुसार विभिनन सरसामानको जोडजाम गर्नुपर्ने संस्कृति । त्यसैमाथि लामो समयको लकडाउनका कारण सवारी, पसल, किनमेल त परको कुरा निर्धक्कले मानिसहरु पार्कसम्म पुगेर घुमफिर गर्न पनि पाएका थिएनन् ।
यस्तो विषम परिस्थितीमा आएको चाडबाडलाई मध्येनजर गर्दै विज्ञहरुले पनि पसलपसल चहारेर, मानिसहरुको सम्पर्कमा रहेर कोरोना भाइरस ‘कोभिड – १९’ को जोखिम मोल्नुभन्दा सजिलो किसीमले सकेसम्म अनलाईनबाट सामान खरिद गर्न सुझाव दिएका छन् । त्यसैले ग्राहकलाई पसलपसल चहार्न भनदा अनलाईन माध्यमबाट ‘एक कल’मा नै अर्डर गरेको ठाउँमा सामान आईपुग्ने सुविधामा त्यस्तो जोखिम किन मोल्नु भनेर पनि उपभोक्ताहरु विभिन्न अनलाईन साईटहरुले गरेका विज्ञापनहरुतिर नजर दौडाइरहेका छन् । तर के तपाईलाई अनलाईन माध्यमबाट हुने ठगी तथा झन्झटबारे थाहा छ? यदी छैन भने तपाईले यी कुराहरु अध्ययन गरेपछि तपाईलाई सचेत हुने मौका मिल्नेछ ।
एकातिर, घरमै बसीबसी आफ्नो रोजाइको सामान खत्रक्क आफ्नो हातमा आउने खुसीले उपभोक्तालाई पुलकित बनाइरहेको छ भने अर्कातिर, सबै सामान आफूले रोजे जस्तो, खोजे जस्तो र सोचे जस्तो हुन्छन् होला रु भन्ने प्रश्नले पनि उत्तिकै पिरोलिरहेको छ ।
अनलाइन सपिङमार्फत् लाभान्वित हुनेको सङ्ख्या जसरी दिन प्रतिदिन बढ्दै गएको छ, यसबाट ठगिनेको सङ्ख्या पनि उत्तिकै चुलिँदै गइरहेको छ । अतः किनमेल गर्ने र ठगिने दुवै पक्ष समानान्तर रुपमा चलिरहेका छन् । कसरी ठगिइन्छन् ग्राहक रु
पहिलो कुरा त, अनलाइन सपिङ गरिएका प्राय सामान आफैँमा गुणस्तरहीन हुने ग्राहकको गुनासो छ ।
यद्यपी कुनै अवस्थामा गुणस्तरीय ब्रान्डकै सामान भएपनि कमसल निर्माण सामाग्री प्रयोग गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिन्छ । त्यसैगरी, उच्च ब्रान्डको ‘डुप्लिकेट’ प्रोडक्ट निर्माण गरेर कम दाममा पनि बेचिने उपभोक्ता अनलाईन सामान खरीद गर्नेहरु बताउँछन् ।
आफ्नो रोजाइको ब्रान्डको सामान कम दाममा पाउँदा उपभोक्ता पनि मख्ख पर्दै किन्छन् तर, उक्त सामान प्रयोग गरेपछि मात्र वास्तविकता उनीहरुको सामू आउँछ ।
उपभोक्ताहरु विशेष गरेर कपडा, जुत्ता, ब्यागको मामिलामा ठगिइन्छन् । साइटमा हेर्दा राम्रो देखिने सामान ‘रियल’मा वेग्लै रङ्ग, बनावट र गुणस्तरको हुन सक्छन् । कतिपय अवस्थामा भने अनलाइन स्टोर आफैले आफ्नो ‘टर्म एण्ड कन्डिसन’ अनुरुप काम गरेको पाइँदैन ।
अनलाइन सपिङ गर्न नजानेको पो हो कि ?
अनलाइन सपिङ कसरी गर्ने भनेर उचित जानकारी नभएकाले पनि ठगिने सम्भावना निम्त्याएको हुनसक्छ । इन्टरनेट जति उपयोगी छ उति नै घातक पनि । त्यसैले आफूलाई ठग्न, लुट्न च्याउसरि जुर्मुराएका अनलाइन सपिङ स्टोरको पहिचान बेलैमा गर्न जरुरी छ । अनलाइन सपिङ गर्नुअघि ध्यान दिनुपर्ने केही टिप्सहरु यस प्रकार छन् :
– आफ्नो कम्प्युटरलाई एन्टी भाइरसबाट सुरक्षित बनाउने । पासवर्ड कसैले पत्ता लगाउन नसक्ने किसिमको राख्ने ।
– आफूले सामान खरिद गर्न लागेको स्टोर कतिको सुरक्षित छ भनेर अगाडि नै सर्तक हुने । शंकास्पद साइटहरुबाट टाढै रहने ।
– साइटको विश्वसनीयता थाहा पाउन ग्राहक र मिडियाको समीक्षाहरू जाँच गर्ने । नाम चलेका, धेरै वर्षदेखि सेवा पु-याउँदै आएका साइटहरुको मात्र प्रयोग गर्ने ।
– सामान किन्नु अघि भुक्तानी गर्ने, रद्द गर्ने, फिर्ता गर्ने र रिफन्ड गर्ने नियमहरु राम्रोसँग बुझ्ने ।
– सामानको गुणस्तर जाँच गर्न कम्पनीको लोगो, नामको स्पेलिङ, प्याकेजिङ, मूल्य आदि विषयमा ध्यान पु-याउने ।
– साइटको विश्वसनीयताका बारेमा ढुक्क भएपछि मात्र वित्तीय लेनदेनको कारोवार अघि बढाउने ।
– पहिलो पटक अनलाइन सपिङ गर्दै हो भने सकेसम्म डेबिट, क्रेडिट कार्डको प्रयोग नगर्ने । नगदमार्फत् भुक्तानी गर्ने ।
– अनलाइन किनमेलमा प्रयोग गरिने डेबिट कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट समय–समयमा जाँच गर्ने ।
– आफूले पैसा तिरिसकेपछि त्यसको रसिद, किनेको सामानको बिल लगायत विविध सामाग्री प्रमाणस्वरुप सुरक्षित राख्ने ।
– स्प्यामर र फिशरले विभिन्न खराब सफ्टवेयरमार्फत् व्यक्तिगत जानकारीमा हस्तक्षेप गर्ने भएकाले अनलाइन किनमेलको प्रक्रिया पूरा गरिसकेपछि सबै वेब ब्राउजर कुकीजहरू क्लियर गर्ने र पिसी बन्द गर्ने ।
सबै साइट खराब हुन्छन् भन्ने होइन । कतिले वर्षौंदेखि आफ्ना ग्राहकलाई उचित सेवा प्रदान गरेर विश्वास जित्न पनि सफल छन् । देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्मै आफ्नो सेवाहरु प्रदान गर्दै आएको तथ्यले पनि यस्ता स्टोरहरुले निकै राम्रो आम्दानी गरिरहेको कुरा प्रष्ट्याउँछ । नेपालका केही भरपर्दा अनलाइन सपिङ साइटहरुमा
दराज डटकम, हाम्रो बजार डटकम, सस्तो डिल डट कम, नेप बे डटकम, मुञ्चा डट कम, फुडमान्डु डट कम आदी पर्छन् ।
यसका अतिरिक्त भकारी डट कम, भाटभटेनी अनलाइन डट कम, सोचेको डट कम आदिजस्ता साइटहरु पनि नेपालका केही नाम चलेका साइटहरु हुन् ।
यो पनि हेर्नुहोस् : अनलाईन सपिङका दुख : यी तस्वीर हेरेपछि तपाईको हाँसो रोकिँदैन !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया