स्वास्थ्य संस्था डाक्टर नहुँदा विरामीलाई समस्या

जाजरकोट, ५ चैत । साताअघि दल्ली प्राथमिक स्वास्थ्य केन्द्र छाडेका डा सञ्जय यादव काममा नफर्केपछि बिरामी उपचारबाट वञ्चित छन् ।अस्पतालमा डाक्टर नभेट्दा उपचार नपाएरै फर्केको स्थानीय हरिबहादुर खत्रीले बताए  । अस्पतालमा झाडापखाला, ज्वरो, पेट दुख्ने, निमोनियालगायत रोगका बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य सहायक तप्तबहादुर चनाराले बताए । डाक्टर नहुँदा दर्जनौँ बिरामी उपचार नपाई फर्कने गरेको उहाँको भनाइ छ ।“प्लास्टर, सुत्केरी, भिडियो एक्सरेलगायत सेवा बन्द भएको छ,” उनले भने, “आइतबार मात्र ४५ बिरामीको सामान्य जाँच मात्र गरियो ।” डाक्टर नआउँदा अस्पतालमा भर्ना भएका पाँच जना बिरामीको उपचार गर्न कठिन भएको उनको भनाइ छ ।डा यादव प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले धम्काएको बहानामा अस्पताल आउनै छाडेको बताइएको छ  । प्रजिअलाई कारबाही नभएसम्म कार्यस्थलमा नफर्कने यादवले बताए ।जिल्ला स्वास्थ्य कार्यालयले गत बुधबार डा यादवलाई बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा शव परीक्षणका लागि खटाउँदा उनले अटेरी गरेका थिए ।जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले कार्यबोझका कारण नभई व्यक्तिगत घमण्डका कारण यादवले आदेशको उल्लंघन गरेको बताए  ।यस्तै जाजरकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटमा पनि चिकित्सक नहुँदा त्यस क्षेत्रका बिरामी पनि उपचारबाट वञ्चित छन् । ती संस्थामा कार्यरत मेडिकल अधिकृत एमडीको परीक्षा दिन काठमाडौँ गएपछि बिरामी उपचारबाट वञ्चित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?