फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार !

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ का बीच आएको नेपालीहरुको महान पर्व बडा दशैँ सकियो । दशैँ लगत्तै आउने अर्को उमगंको पर्व तिहारले छपक्कै छोपिसक्यो । तर जनताको सेवामा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी जो हरबखत समाजको पहरेदारी गरीरहेका छन् उनीहरुलाई तिहारको रौनकले छुन सकेको छैन ।

हुनत कोरोना भाइरस ‘कोभिड – १९’ को कहरका कारण यसवपर्ष अघिल्ला वर्षहरुमा जस्तो रौनक छैन । तरपनि दाजुबहिनी दिदीभाईको सम्बन्ध अझ सुमधुर र मिठास थप्ने यो पर्वले सबैलाई कुनै न कुनै रुपमा छुन्छ । तर फौजी जीवनमा प्रवेश गरेपछि यी चाडवाडले उमंग त भर्छ तर अझ बढी जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ, उनीहरुसँग ।

दशैँ र तिहार झनै खल्लो काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोग गेटमा भेटीएका एक सशस्त्रका जवान भन्छन्, “घर परिवारमा आश हुन्छ । घर आईदिए हुन्थ्यो जस्तो लाग्छ । तर हरेक फौजीको परिवारको आश त्यहि हो । त्यसैले पालैपालो हामी दशै तिहार छठजस्ता चाडपर्वमा छुट्टी मिलाउँछौँ । यस्तै हो । अब के गर्नु ? सरकारी नुनपानी खाएपछि नितिनियम मान्नैपर्छ । जनताको जिउधनको सुरक्षा गर्छु भनेर जागिर आएर भनेजस्तो सेवा सुविधा त कहाँ पाईन्छ ?” उनी निर्धक्क सुनिन्छन् । उनले थपे, “फरक जाति, भूगोल, धर्म, संस्कृति भएका कारण कसैको सुतक, कसैको जुठो बार्ने, कसैले अर्को कुनै चाड मान्ने हुँदा पनि कहिलेकाहिँ नसोचेको छुट्टी मिल्छ । त्यतिबेला चाहिँ बहुतै खुशी लाग्छ ।”

हुन त यसपटक सबैजसो सुरक्षा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी निकायले पहिलेजस्तो छुट्टी दिएका छैनन् । कोरोनाको कहरबाट बच्नको लागि अनिवार्य रुपमा क्वारेन्टाईन बस्नुपर्ने बाध्यात्मक परिस्थितीका कारण पनि पोहोर सालजस्तो दशैँमा पनि छुट्टी नदिईएको हो । तिहारमा पनि कोरोनाको कहर कम नभएका कारण पहिलेजस्तो छुट्टी हुँदैन । त्यसकारण यसवर्ष पनि सुरक्षा निकायमा खटिएका धेरैको निधार रित्तो हुने भएको छ । धेरै दिदीबहिनीले उनेको मखमली दाजुभाईको गलामा सजाउन नपाउने भएका छन् ।

ड्युटीमा खटिएकै बखत हामीले तेर्साएको प्रश्नको जवाफमा प्रहरी अधिकारीहरु भन्छन्, चाडवाडमा अझै बढी सतर्क रहनुपर्छ । हामीले आमसञ्चार माध्यमबाट पनि सूचना, समाचार जानकारी विभिन सूचना दिईरहेका हुन्छौँ । हामी चाडवाड मान्न नपाए पनि जनताको जिउधनमा कुनै पनि अप्ठेरो परिस्थिती नआओस् भनेर हामी प्रार्थना गर्छौं।

हुन पनि हो, एकैछिन् सम्झनुहोस् त ।

ढोकामा ताल्चा लगाएर शहरबाट स – परिवार मानिसहरु निर्धक्क गाउँतर्फ लाग्छन् । चाडवाडको मौका छोपेर चोरको विगविगी हुँदा पनि घरबेटीको आँखामा चैनको निन्द्रा पर्छ । टिकट काउन्टरमा हुने लफडा होस् या बाटामा आइपर्ने झमेला सबैबाट मुक्त भएर सबैजना आनन्दले चाडवाडको बेला आफ्नो परिवार, आफ्ना आफन्तसँग रमाइलो गर्छन् । हो, हामी यति निश्चिन्त हुन हाम्रो सुरक्षाको लागि खटिएका प्रहरीमाथि हामीलाई पूर्ण विश्वास छ । किनकी हामीलाई थाहा छ, हाम्रा फौजीले हाम्रो सुरक्षाको जिम्मेवारी लिएका छन् ।

हाम्रो जस्तै परिवार भएका फौजी न निष्फिक्री कतै घुम्न निस्कन पाउँछन् न त आफ्ना परिवार, आफन्त र साथीभाई भेट्न । अझ यहि समयमा बढी चलाखिपूर्ण तरीकाले कर्तव्य पूरा गरी ड्युटीमा लाग्छन् ।

उनीहरुको मन कति खल्लो हुँदो हो । तर पनि तपाई हाम्रो सेवामा घाम पानी, धुलो हिलो, चाडबाड नभनी खटिएका छन् । राष्ट्रसेवक यी कर्मचारीको भावना र वेदना समेटेर बनाइएको गीत हो, ‘फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार ’ रेडियो, टिभीमा दशैँको बेला गुन्जिने मालश्री धुनसँगै तिहारमा घन्किने देउसी भैलो र सबैभन्दा बढी घन्किने यो गीतमा चाडबाडका बेला फौजीले गर्ने गाउँघर र परिवारको सम्झनालाई शब्दमा उनिएको छ ।

गीतको भिडियोमा प्रहरी जवान बर्दीमै रातो टिका र जमरामा सजिएर नाचगान गरेको देखिन्छ । जो सुकैको मुटु निचोर्ने यस गीतमा फौजीको आत्मा बोल्छ ।

हाम्रा सुरक्षाका लागि आफ्नो खुसी सहजै त्याग्ने सम्पूर्ण राष्ट्रसेवकलाई शुभ दिपावलीको शुभकामनासहित हाम्रो सलाम । (file:photo)

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?