काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल प्रतिपदासम्म तिहार मनाइन्छ । तिहारको पहिलो दिन कात्तिक २७ गते यमदीप दान, कात्तिक २८ गते काग तिहार, धनवन्तरि जयन्ती धन त्रयोदशी र धनतेरस पर्व, कात्तिक २९ गते बिहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, कात्तिक ३० गते गाई, गोरु र आत्म /म्हपूजा, १ गते भाइपूजा, किजापूजा, नेपाल संवत् ११४१ परेको छ ।
यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिन आज यमदीप दान गरिन्छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । भोली कागलाई मीठो-मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । भोली कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ । कागलाई खानेकुरा चढाउने बलि दिने शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।
“तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, उनले भने ।
यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ ।
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ :
वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामनलगायत पुराणमा वर्णन गरिएको छ । विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. गौतमले बताए ।यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा “हामी त्यसै आएनौँ बलि राजाले पठाए” भनी भट्याउने गर्छन् ।
लक्ष्मीपूजाका दिनमा भैलो र गोवर्द्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ ।
अहिले महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन् । लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुवातदेखि नै गर्न थालिएको छ ।
अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।
तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ ।
यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन् ।
तिहारको अन्तिम दिन मंसिर १ गते दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ ।
यस वर्ष मंसिर १ गते मध्याह्न
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया