सुवाश जमरकट्टेल । बहुजात, बहुभाषा, बहुधर्म र बहुसंस्कार संस्कृती भएका हामी नेपालीहरुका थुप्रै मौलिक चाड पर्वहरु छन् ।
तिनीहरु मध्ये दोस्रो ठुलो चाडको रुपमा परिचित चाड तिहार नेपालीहरुको घर आँगनमा आइसकेको छ । शरद ऋतुमा पर्ने यो चाडलाई प्रकाश, फुल र सप्तरङ्गीको त्रिवेणीका रुपमा पनि लिईन्छ । यो समयमा जता ततै रङ्गी विरङ्गी फुलहरु ढकमक्क फुलेर सबै वातावरण नै सुवासमय र मनोरम बनेको छ । कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि देखि सुरु भई द्वितिया तिथिमा समाप्त हुने यस पर्वलाई समग्रमा तिहार भनिन्छ ।
सदैव सबै प्राणिलाई कर्म अनुसारको फल भोगाउने यमलोकका राजा यमराजले यस समयमा ५ दिन फुर्सद लिई पृथ्वीलोकमा आई आफ्नी बहिनी यमुनासँग फुल टिका लगाएको धार्मिक ग्रन्थहरुमा वर्णन भएको हुनाले यस पर्वको ५ दिनलाई यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिनलाई काग तिहार भनिन्छ अर्थात यस दिन प्रतकालमा कागको पुजा गरि कागलाई भोजन गराई काग उपर श्रद्धा प्रकट गर्ने गरिन्छ । यमराजको दुतका रुपमा लिईने कागलाई पुजा गर्नुमा थुप्रै महत्व र धार्मिक जनविश्वास रहि आएको छ । मान्छे सर्वप्रथम घर गृहस्थी जिवन व्यतित गर्नु अघि घुमन्ते जिवन बिताउथे । त्यसैको प्रतिकात्मक रुपमा पनि कागलाई पुजिन्छ ।
कार्तिक कृष्णपक्षको त्रयोदशकिो दिन कागलाई पुजा गरि भोजन गराउनाले पीतृहरु खुशी हुन्छन् भन्ने जनविश्वास पनि रहिआएको छ । यमराजको दुतका रुपमा काम गर्ने कागले शुभ अशुभ खबर ओसार पसार गर्ने गर्दथ्यो भन्ने गरिन्छ । यमराजले मत्र्यमण्डलका मान्छेको जन्म मृत्युको रेकर्ड राख्दथे त्यसको लागि विवरण ओसारपसार गर्ने काम कागले नै गर्दथ्यो भन्ने गरिन्छ । त्यसैले आज भोली पनि काग घर अगाडि आई करायो भने ‘शुभ बोल’ ‘शुभ बोल’ भनिन्छ । काग करायो भने पाहुना आउने वा शुभ अशुभ समाचार आउने वा घटना घट्ने जनविश्वास रहि आएको छ ।
आँखाको नानी एउटा मात्र हुने हुनाले सबैलाई एउटै अर्थात् समान दृष्टिले हेर्ने भेदभाव नगर्ने हुनाले पनि कागको दृष्टिलाई काकन्याय का रुपमा हेरिन्छ । यो निकै चलाख पञ्छिका रुपमा पनि चिनिन्छ त्यसैले विद्यार्थीका पञ्चलक्षणमा काकचेष्टा पनि महत्वर्पूण मानिन्छ । यो सर्वभक्क्षी प्राणी भएका कारण यसले वातावरणलाई असर गर्ने सिनो लगायतको दुषित पदार्थ तथा अन्न बाली नष्ट गर्ने किरा फट्याङ्ग्रा खाएर खेति किसानीको जगेर्ना गर्ने बहुउपयोगी भएकै कारण कागलाई पुजा गर्ने गरिन्छ ।
कागको पुजा गर्नाले आयु बढ्ने र अकाल मृत्यु टर्छ भन्ने पनि विश्वास गरिन्छ । पध्म पुराणमा ‘कार्तिके कृष्णपक्षतु त्रयोदश्याम निशा मुखे, यमदिप बहिर्दत्यात अपमृत्युम् विनाश्यती’ अर्थात् कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिका दिन सन्ध्या कालमा घरको मुल ढोकामा दियो बालि यमराजको पूजा गर्नाले अकाल मृत्यु हुदैन भनिएको छ । त्यसैले यमपञ्चको पहिलो दिन यमलोकका सम्पुर्ण काम थांति राखी बहिनि यमुनाका घर हिडेका कालका पनि काल अर्थात कालका देवता यमराज झुक्किएर आफ्नो घर तिर नपसुन, घरमा सबैलाई धनधान्य र सुख सुविधा मिलोस भनि घरको मुल ढोकामा दियो बाल्ने गरिन्छ ।
त्यस दिनलाई काग तिहारका अलवा आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका मालिक कुबेरको जन्म दिनका रुपमा पनि मनाउने चलन छ । त्यसैले यस दिनलाई धनवन्तरी त्रयोदशी अर्थात धनतेरस पनि भनिन्छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरि समुन्द्रमनथनबाट निःसृत चौध रत्नहरु मध्ये अमृत कलश लिई यसै दिन प्रकट भएबाट धन्वन्तरि जयन्ती मनाउन थालिएको हो ।
धनतेरस पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र मनाउने गरिए पनि आज भोली भने शहर बजार लगायत सबै गाउँघर तिर मनाउन थालिएको छ । धनतेरसका दिन भाँडाकुडा र सुनचाँदिका गर गहना किनमेल गर्ने परम्परा रहि आएको छ । धनतेरसका दिन भाँडा किन्नु अति शुभ मानिन्छ । धनतेरसको दिन नयाँ भाँडाकुडा किनि त्यसमा लक्ष्मि पुजाको दिन लक्ष्मिपुजा गर्नले लक्ष्मि खुशी भई धन दौलत प्राप्त हुने, घरमा धन धान्यले भरिपुर्ण हुने जनविश्वास रहिआएको छ ।
यमपञ्चकको पहिलो दिन विहान प्रातकालमा काग पुजा र सन्ध्या कालमा धन्तेरस मनाउने परम्परा रहि आएको छ । धनतेरसको दिन देखि घरको बाहिर तथा कोठा चोठामा दियो बालि झिलिमिलि बनाउने चलन अनुसार नै आज विभिन्न इलेक्ट्रिक बत्ति तथा आकाश दिपहरु बाल्ने गरिन्छ ।
यसरी दिप प्रज्जवलन गरि अन्धकारलाई हटाउने तथा निर्दयी कालका देवता यमराजलाई अर्कैतिर पठाउने शक्ति मिलेको हुनाले यस चाडलाई अध्यारो जडता रुपी औंसीको कालरात्रीलाई दिप बाली उज्यालो प्रकाशले अन्धकार तोड्ने चाड अर्थात दिपावली पर्व पनि भनिन्छ ।
(अद्यावधिक गरिएको)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया