काठमाडौं। आज तिहारको मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका। टीकाको साइत ११ः३७ बजे दिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ। तिहारमा विशेषत विभिन्न सात रङको ठाडो टीका लगाईदिने चलन छ ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुनारधर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिने गरिन्छ।
टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि पूर्नर्निमाण थालिएकोमा अहिले त्यो पूरा भएको छ । मन्दिरमा पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए। यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।
शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया