काठमाडौं – फूलैफूल, झिलिमिली बत्ती, देउसी भैलोसँगै तिहारको अर्को महत्त्वपूर्ण पक्ष हो, जूवा । कहिल्यै जूवा नखेल्ने व्यक्ति पनि तिहारको बेला परिवारसँग बसेर जूवा खेल्ने चलन छ ।
यद्यपी, जूवाले विकृति तथा ठगी बढाएको भन्दै सुरक्षा निकायले सार्वजनिक रुपमा जूवा खेल्न प्रतिवन्ध लगाएको छ । त्यस्तै, ‘नखेल्नु जुवा र तास धनको नाश, जीवनको वनवास’ भन्ने गीत पनि जनचेतनाका लागि बेलाबेला घन्किरहन्छ । कतिपय मानिसले जोशमा होश गुमाएर उठिबास भएको घटनाहरु पनि सार्वजनिक नभएका होईनन् ।
जूवालाई राम्रो वा नराम्रो भन्ने दुईथरीको जमात भएतापनि यो सर्वाधिक पुरानो खेल हो भन्ने विषयमा दुईमत छैन । यस खेलको चर्चा विभिन्न हिन्दू ग्रन्थहरुमा समेत गरिएको छ । त्यसैले जूवाको इतिहास दैविक कालमा गएर ठोक्किन्छ । भगवानदेखि लिएर राजा महाराजाले समेत जूवा खेलेको किस्साहरु हामीले सुन्दै, पढ्दै आएका छौं ।
महाभारतमा जूवाकै कारण द्रौपदीले राजसभामै नाङ्गिनुपर्ने अवस्था आयो त्यसैगरी पाण्डवहरुले आफ्नो सिंहाशन गुमाएर वनवासको सजाय भोग्नुपर्यो । यी त भए, भगवानका कुरा ।
यता मान्छेहरुलाई पनि जूवाले कम सताएको छैन । जूवाकै कारण करोडबाट रोडमा आएका घटनाहरु हाम्रा लागि नौला होइनन् । जूवा खेलमात्र नभएर धेरैका लागि नशा पनि हो ।
जूवाको नशा लागेको व्यक्ति एकपटक खेल्न बसेपछि खेल नसकिउन्जेल उठ्न मन गर्दैन । नतिजा जेसुकै होस् । खेलको दौरान घरजग्गा, सम्पत्ति सबै दाउमा राखेर अन्तिममा ऋण तिर्न नसकेर कतिले आत्महत्यासमेत गरेका छन् ।
फेरि पनि, जूवालाई उत्तिकै सम्मान गरिन्छ । धर्मसंस्कृतिले पनि यसलाई संरक्षण गरेकाले होला यसको घाँटी निमोठ्ने आँट अहिलेसम्म गरिएको छैन ।
किन खेलिन्छ जूवा ? यसो भन्छन् संस्कृतिविद् :
तिहारमा विशेषतः लक्ष्मी पूजापछि जूवा खेल्ने चलन छ ।
यसको विकास किन र कसरी भयो भन्ने प्रश्न हामीले संस्कृतिविद् प्रा डा देवमणी भट्टराईलाई गर्यौँ ।
उहाँले दिएको जानकारी अनुसार लक्ष्मीलाई अत्यन्तै चञ्चल देवीका रुपमा चिनिन्छ । उनी कहिल्यै एक ठाउँमा बस्दै बस्दिनन् । त्यसैले उनको पूजाआराधना गरिसकेपछि कसको हातमा लक्ष्मी बसिन् भनेर थाहा पाउन परिवारका सबै सदस्य बसेर जूवा खेल्ने परम्परा छ ।
यसरी जूवा खेल्दा जसले बाजी मार्छ उसैको हातबाट वर्षभरि घरव्यवहार चलाउँदा फाप्छ भन्ने मान्यता छ ।
यद्यपी, आजकल रमाइलोका लागि मात्र भएपनि परिवारका सबै सदस्य बसेर जूवा खेल्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया