काठमाडौं – तिहार र छठ पर्वका बेला रमाईलोका लागि पटाका पट्काउने गरिन्छ । तर तराईका धेरै जिल्लाहरुमा यी चाडवाडमा पटाका पट्काउने चलन यसरी विकृत हुँदै गईरहेको छ कि यो एकखाले आतंक जस्तै भएको छ ।
जिउज्यानकै जोखिम हुनसक्ने, क्षति हुनसक्ने र विभिन्न दुर्घटना हुन सक्ने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटाका पड्काउन समेत निषेध गर्दै आएको छ । तर खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजारबाट लुकिछिपी पटाका ल्याउने र यि चाडबाडका बेलामा ठूलो आवाजमा पटाका पड्काएर रमाईलो गर्नेहरुका कारण मानिसले तिहारको नराम्रो पक्षमा पटका बारुदका आवाज र गन्धलाई लिने गर्छन् । तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दै गएको छ ।
पछिल्लो केहि वर्षदेखि प्रशासनले दीपावली र छठको समयमा पटाकाजन्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गर्छ । मानिसले लुकिछिपी पटाका किनेर छरछिमेकलाई समेत असर पर्ने गरी यसलाई पड्काउने, तर्साउने पनि गर्ने गरेका छन् ।
तर के तपाईलाई थाहा छ ? रमाईलोका लागि पट्काईने पटाकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ ।
चिकित्सकहरुले यो विकृत पाटोको असरबारे जानकारी दिँदै यस्ता क्रियाकलापबाट श्रवणक्षमतामा समेत असर पुर्याउन सक्ने, चर्को आवाजका कारण टाउको दुख्ने, मुटु काप्ने, डर लाग्ने जस्ता समस्या देखिनसक्नेतर्फ संकेत गर्दै यस्ता क्रियाकलाप नगर्न अनुरोध गरेका छन् ।
हुन त यसपटक कोरोनाको कहरले गाँजेको कारण पनि मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन, भिडभाड नगर्न सरकारले अनुरोध गरिरहेको छ । त्यसमाथि विभिन्न जिल्ला प्रशासन कार्यालयले पनि छुट्टा-छुट्टै सूचना जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया