मोरङ । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी आज थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।
विराटनगर–६ वस्ने ८३ वर्षिय र मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय पुरुषको संक्रमणबाट आज मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।
मृतकमध्ये ८३ वर्षीय पुरुष यही कात्तिक १४ सङकमित भइ आएको र ५४ वर्षीष् पुरुषको सोही दिन पोजेटिभ देखिएको थियो । मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा संक्रमण देखिएको थियो ।
यसैगरी संक्रमणका कारण विराटनगर–१२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ देखिएका कात्तिक १५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । होम आइसोलेसनमा रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।
त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा आज मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।
प्रदेश १ मा ४४९ जना निको, २५९ थप सङ्क्रमित
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना संक्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् ।
संक्रमित मध्ये ९९ महिला र १६० पुरुष छन् । आज थपिएका संक्रमितमा सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुई दुई, धनकुटा, भोजपुर र ताप्लेजुङ एकएक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् । प्रदेश १ मा आज एक हजार २७२ जना सहित कुल एक लाख ६२ हजार ४१४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया