चिण्डो आकारमा ‘टेम्के भ्यूटावर’ बन्ने

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘टेम्के भ्यू टावर’ को शिलान्यास गरेका छन्। तीन हजार १०० मिटर उचाइको सो डाँडामा प्रदेश सरकारको रु १३ करोड ६२ लाख ८१ हजार लागतमा दृश्यावलोकनस्तम्भ निर्माण गर्न लागिएको हो ।

टावर किराँतराईको सस्कृति झल्कने गरी चिण्डो आकारमा निर्माण हुनेछ जुन २० मिटर अग्लो रहने जनाइएको छ । टावरको पहिलो तलामा सङ्ग्रहालय रहने छ ।

कुन्सालिङ कन्स्ट्रक्शन भोजपुरले आगामी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । कार्यक्रममा मुख्यमन्त्री राईले किराँतराईको संस्कृतिको उजागर गर्ने तवरबाट स्तम्भ निर्माण गरिने र यसले भोजपुरको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

मुख्यमन्त्री राईले आज नै टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्नुभयो । गाउँपालिका, प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणको आर्थिक लगानीमा गाउँपालिकामा विद्युत् विस्तार गरिएको हो ।

विद्युत् विस्तारका लागि गाउँपालिकाको ६ करोड ६० लाख, प्राधिकरणको ६ करोड २० लाख र प्रदेश सरकारको ५० लाख लागतमा गाउँपालिकाभरि विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । भोजपुरमा हालसम्म ४८ प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको प्राधिकरण भोजपुरका प्रमुख रवीनबावु घिमिरे जानकारी दिए । गाउँपालिकाभर तीन हजार ७३८ घरपरिवार छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?