खानपान : के खाने, के नखाने ? यसरी अपनाउनुहोस् चलाखी

काठमाडौं – तिहार भन्ने बित्तिकै मिठामिठा खानेकुरा, फूलहरु, झिलीमिली भनेर मष्तिष्कमा आईहाल्छ । तर सावधान ! तिहारमा हामीले खाएको अत्याधिक चिल्लो खानपान गर्नाले शरीरलाई बेफाईदा पुर्‍याउँछ । हामी जतिनै सचेत छौ भनेतापनि खानपानको सवालमा पारिवारीक जमघट र भेटघाटमा आफूलाई अनि शरीरलाई नियन्त्रणमा राख्न सक्दैनौँ ।

हामीले यो बुझ्नुपर्छ की मुटुसँग खानाको गहिरो सम्बन्ध छ। त्यसैले के खाने ? के नखाने ? एकदमै विचार गर्नुपर्छ ।

भोजनको मात्राको निक्र्यौल व्यक्तिको प्रकृति, रोग, बल, उमेर र मानसिकता आदिका आधारमा हुनुपर्छ ।

‘तिहारको परिकार त घरैमा बनाएको त हो नि  !’ पक्कै हामी यहि भन्छौँ । तर घरैमा बनाएतापनि तिहारका अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ। तिहारमा सेल रोटी, फिनी, अनर्सा लगायतका परिकार खाइन्छ । घरैमा बनाएपनि यी खानेकुरामा मैदा, चिनी, तेलको अत्याधिक प्रयोग गरिन्छ, जुन स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन ।

किनकी यस्ता मिठाईले तौल बढाउनुका साथै रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ । साथै, कलेजोमा बोसोको मात्रा समेत बढाउँछ । कोरोनाको कहर बढीरहेका बेला खानपानमा ध्यान नदिँदा झनै समस्या थपिन सक्छ ।

चिकित्सकहरुले गुलियो र चिल्लो खानेकुराले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने भएको कारण सचेत रहन अनुरोध गरेका छन् ।

तिहारको रमाईलो जमघटमा हामीले वास्तै नगरी खाएका खानेकुरा र त्यसले शरीरमा पार्ने नोक्सानी डिटक्ट गर्नको लागि अबका दिनमा तपाईले उमारेका गेडागुडी, झोलिलो खानेकुरा, हरिया सागपात, पहेँला फलफूल, सुप, नियमित शारिरीक अभ्यास गर्नुपर्छ ।

पहिलो कुरा त कोरोनाबाट बच्न र यसको जोखिमबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि सबैले खानपानमा यो समयमा बढी नै ध्यान दिनुपर्छ ।

दोस्रो कुरा : मुटुरोग विशेषज्ञका अनुसार चिल्लो र गुलियो खानेकुराहरुले कोलेस्ट्रोल बढाउनुका साथै रक्तचाप, मधुमेह र अम्लपित्तको पनि वृद्धि गर्छ।

सेलरोटीसँगसँगै मदिरा समेत सेवन गर्ने चलन छ। चिल्लो र मदिरा स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । सेलरोटी तथा मिष्ठान्न भोजन बनाउँदा गर्मी भएमा शरीर तातेमा कागती तथा पुदिना मिसाएर पानी खान सकिन्छ । यसले शरीरलाई ठन्डा राख्न मद्दत गर्छ ।

तेस्रो कुरा : केहिले ताजा सेलरोटी खाने भन्दै पिठो फ्रिजमा राखेका छन् । तर पहिलो पकाएको तावा वा भाडामा बचेको तेलमा फेरि सेलरोटी पकाउनु हुँदैन । सेलरोटी बनाउँदा तोरीको, भटमासको वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ । सेलरोटी सँगसँगै फलफूल, सागपात पनि खानुपर्छ । त्यसका साथै पानी प्रशस्त पिउनु पर्छ। सानो प्लेटमा राखेर खाँदा थोरै खाईन्छ । नियमित शारीरिक अभ्यास छुटाउनुहुँदैन ।

चौथो कुरा : खाली पेटमा सेलरोटी खाँदा एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुपर्छ। मधुमेह, उच्च रक्तचाप, एसिडिटी भएको व्यक्तिले सेलरोटी धेरै खानु हुँदैन ।

यस्तै भाइटिकाको अवसरमा दिदीबहिनीले दाजुभाईलाई भाइमसलासहित विशेष उपहार दिने गर्छन् । भाइमसलामा राखिएको ‘ड्राई फुड’ एकैपटक खानुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?