भक्तपुरकी रुपाको फूलबारी : जहाँ सयपत्रि मखमलीसँगै खुशी फुलिरहेको छ

काठमाडौं – भक्तपुर सूर्यविनायक – ७ स्थित गुण्डु विभिन्न प्रजातिको फूलखेतिको लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक परिवारले आफ्नो वा भाडामा लिएको धेरैथोरै जमिनमा कुनै न कुनै प्रजातिको फूल रोपेका छन् ।

पहिले चाडवाडमा आफ्नो घरको अभाव पूर्ति गर्न फूल रोपेका उनीहरुले बिस्तारै प्रसिद्ध मन्दिरको छेउछाउमा विभिन्न किसीमका फूल बेच्न थाले । फूलको व्यापार राम्रो हुँदै जाँदा गुण्डुबासीको भान्सामा मरमसला किन्नको लागि सजिलो भयो । तरकारी र सागसब्जी आफ्नै बारीका छेउकुनामा फलाउने उनीहरु त्यसबाट उत्साहित बने र पूजाकोठामा चढाउन आँगनको छेउमा रोपिने फूललाई बारीसम्म फैलाए । बारीका कान्ला र आलीमा फूलले ढकमक्क फूलेर शोभा मात्रै बढाएन गुण्डुबासीको चाडवाड मात्रै लक्षित गरेर रोपिने फूलले अझ व्यवसायिकता पाउन थाल्यो ।

अफ सिजनका फूलहरु, आयातित बिउबाट उमारेका फूलहरु, नयाँ जातिका फूलहरु, विशेष प्रजातिका फूलहरुले बढावा पाउँदै गयो भक्तपुरको गुण्डुमा ।

यसैको परिणाम हो – जब दशैँ सकिन्छ अनि तिहारको आगमनलाई ढकमक्क फूलले स्वागत गर्छ गुण्डुले । यहाँ विशेषत सयपत्रि र मखमली फूल व्यवसायिक रुपमा उत्पादन हुन्छ । मानिसहरु बिहानदेखि पर्म गएर एक अर्काको बारीको फूल टिप्ने काममा सघाउँछन् । कोही डाँठ टिप्ने, कोहि सियो धागोको सहायताले माला उन्ने, फिरन्तेहरु घुमफिरका लागी फूलले मनमोहक बनेको गुण्डु पुग्ने गर्छन् । व्यापारीहरु पनि किसानका बारीमै मोलमोलाई गर्न पुग्छन् ।

लोकपथको टिम गुण्डु पुग्दा केहि महिलाहरु बारीमा डालोमा फूल टिपीरहेका थिए । केहि पारिलो घाममा बसेर माला उन्दै थिए । केहि व्यापारीहरु फूल संकलन गरी बजार लैजाने तरखरमा थिए ।

दिदीबहिनीले गरे गुण्डु एरियाकै नमूना फूलखेति

भक्तपुर गुण्डु एरियाकै नमूना फूलखेति गरेका छन्, २६ वर्षिय रुपा बस्नेत र उनकी दिदी ३० वर्षिय रञ्जना बस्नेत खड्काले । दुई दिदीबहिनीको ‘केमेस्टी’ मज्जैले जमेको छ – फूलखेतिमा । आर. बि. अर्गानिक फार्म दर्ता गरेरै उनीहरुले टनेलमा फूलखेति गरेका छन् । ३ वर्ष भयो हामीले शुरु गरेको । लोकपथसँगको कुराकानीका क्रममा रुपा मुस्कुराउँदै भन्छिन्, मैले अध्ययन गरेको विषय पनि कृषि नै हो ।

हिमालयन कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट कलेजबाट बिएस्सी एजी अध्ययन सकिएपछि उनले गोदाबरीमा एक वर्ष जागिरे रुपमा ईन्टरसिप पनि गरेकी थिईन् । जागिरे जीवनमा लगानी उठाउनैपर्छ भन्ने दबाब हुँदैन भनेर धेरैले व्यवसाय गर्ने आँट नै गर्दैनन् । तपाईलाई यो सोच कसरी आयो ? हामीले प्रश्न राख्यौँ । रुपा भन्छिन्, “पढाईकै शिलशिलामा मैले जागिरे जीवन या विदेशभन्दा अर्को विकल्प रोजीसकेको थिएँ । आफ्नै माटोमा आफूले ज्ञान सिप लिएको विषयमा काम गर्नु । आफ्नै देशमा बसेर कृषि कर्ममा व्यवसायिक रुपमा लाग्छु ।”

तर उनको आँटमा शुरुमा परिवारले खुलेर सहयोग गरेनन् । रुपा ति दिन सम्झिँदै सुनाउँछिन्, ” बुबाले मान्नुभएन नि । कति अप्ठेरो भयो उहाँलाई मनाउन ।”

कुराकानीका लागि सँगै बसेकी रुपाकी दिदी रञ्जनाले थपिन्, “शुरुवातमा आर्थिक सहायताको लागि हामीलाई निकै अप्ठेरो भयो । परिवारसँग आफन्त नातेदारसम्मलाई हारगुहार गर्नुपर्‍यो । त्यो दिनहरुमा हामीले हार खाएनौँ । अहिले सहज छ । हामी दिदीबहिनी मात्रै होईन अहिले परिवार नै खुसी छ ।”

रुपा ३ वर्ष अगाडीको त्यो दिनहरु सम्झिँदै भन्छिन्, “बुबाले हाम्रो आँट नमान्नुको कारण उहाँ मलाई अधिकृत बनाउने सपना देख्नुहुन्थ्यो । राम्रो पढाई भएकी छोरीको जीवन बाधाव्यवधान वा व्यवसायिक रिस्कभन्दाटाढा होओस् भन्ने उहाँलाई लाग्यो होला । तर आफूले कलेज पढ्दादेखि नै व्यवसायिक फूलखेतिको बारेमा योजना बनाएको कारण घरमा सर्पोट नपाउँदा दुखि थिएँ ।” उनी केहि भाबुक बनिन् ।

“तर हामीले आँट गर्‍यौँ। र आज सफलताको सिँढी उक्लँदै छौँ । खुसी छौँ ।”

दुवै दिदीबहिनी उत्साहित सुनिए । उनीहरुले ४ रोपनी क्षेत्रफलमा फैलिएको ९ वटा टनेलमा उनीहरुले फूलखेति गरेका छन् ।

आफ्नो मेहनत बारीभरी फक्रिरहेको देखेर रुपमा निकै खुसी छिन् । उनले थपिन् अफ्रिकन मेरीगोल्ड जातको फूल हामीले सधैँ उत्पादन गर्छौ । यो फूलको माग जहिलेपनि हुने गर्दछ । मखमली त यहि एक सिजनमा हुन्छ । यसपटक हामीले २ हजार बढी माला बनाएर एक साताअघि नै बजारमा पठाईसक्यौँ ।

यो सफलताको स्वाद चाख्न रुपा र उनकी दिदी रञ्जनाले निकै दुख बेसाउनु परेको छ । हामीले अहिले राष्ट्रिय वाणिज्य बैंकबाट महिला उद्यमशिलता कर्जा लिएका छौँ । हामी चाहन्छौँ यो टनेलालाई नयाँ प्रविधीयुक्त बनाऔँ । पढेको, जानकारी लिएको विषयलाई व्यवहारत उतारौँ । तर के गर्नु पूँजी अभाव छ ।

तपाईले के त्यस्तो नौलो गर्नुभएको छ ?  जसबाट छोटो समयमा नै गुण्डुकै उत्कृष्ट उद्यमी बन्न सफल हुनुभयो ?
रुपा थप्छिन् , “पहिलो कुरा त हामी नेपालमा जुन तरीकाले काम भईरहेको छ, त्यो तरीकाले हामी काम गर्दैनौँ ।” हामी एकदमै स्मार्ट टुल्स र टेक्नोलोजी प्रयोग गर्न खोजीरहेका छौँ । व्यवसायिक रुपमा अघि बढाउन खोजिरहेका छौँ । त्यसैको लागि मैले अघि भने नि फलामको टनेल प्रयोग गर्ने ईच्छा छ ।

दोस्रो कुरा हामी एउटा तरकारी फलाईरहँदा त्यसैभित्र अर्को तरकारी पनि लगाउँछौँ । दुई बाली एकसाथ फल्छ । जस्तोकी अहिले कतिपय तरकारी वा फूल रोपेर खेर गएको जग्गाको छेउकुना वा पानी बग्ने बीचको भाग टनमन्नै मखमली फुलेको छ । यसबाट दोब्बर लाभ लिईरहेका छौँ ।

उनले अप्ठेरोको पोको खोल्दै भनिन्, नयाँ उद्यमी गर्नेलाई बजारमा विचौलियाको समस्या छ । मार्केटिङको लागि निकै समस्या रहेछ । सरकारले भनेजस्तो सजिलै अनुदान नपाईने रहेछ । बैंकहरुले सजिलै रिण पत्याउँदैन् । यस किसीमको खेतिमा श्रमीकको खर्च ज्यादा हुन्छ । भनिन्छ नि दुख गरे सुख अवश्य मिल्छ । हाम्रो भागमा त्यहि मिलेको छ अहिले ।

हामी त कहिँकतैबाट ‘सपोर्ट’ भए २० रोपनी बनाएर फूल खेति गर्न चाहन्छौँ । छोरीमान्छेले गरेको भनेर पनि होला हामीलाई खासै पत्याएका छैनन् रञ्जना बस्नेत मलिन सुनिईन् ।

यतिबेला हामी रुपा र रञ्जनाको टनेलमा छौँ ।

छेउमै अफ्रिकन मेरीगोल्ड मुस्कुराईरहेको छ । मखमली ढकमक्कै छ । मगमग बास्ना आईरहेको छ । छेउको बाँकी रहेको थोरै जमिनमा उनीहरुले खुबै मेहनतले गोदावरी फूलाएका छन् ।

सयपत्रि चाहिँ कागतिहारको अघिल्लो दिन टिप्ने । यसपटक भारतबाट फूल आउँदैन भनिएको छ । हेरौँ बजार कस्तो हुन्छ ? २ लाख बराबरको अनुमान गरेका छौँ । उनीहरुले यसअघि नै २ हजार बढी माला बजारमा पठाइसकेका छन् । मौसमले पनि साथ दिएकोमा दंग छन् – उनीहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?