मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । उनले कोरोना संक्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाए ।
प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना संक्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शैयाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गरे ।
उनले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए ।
मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको २ करोड, निजी क्षेत्रको १ करोड ५० लाख र महानगरपालिकाको २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए ।
स्वास्थ्योपचारका लागि टेलिमेडिसिन
प्रदेश नं १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी क्यूरा हेल्थको मोबाइल एप्लिकेसनमार्फत स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले जानकारी दिए । क्युरा हेल्थको प्रयोग गरी आफूले खोजेको अस्पताल, चिकित्सक, समय र शुल्क आदिबारे घरमै बसेर तय गर्न सकिने छ ।
उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाइफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरी शुरु गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया