यमदिपदान
काग तिहार अर्थात् कार्तिक कृष्णपक्ष,त्रयोदशीको साझ यमराजको आगमन हुने हुँदा दिपावली गरि यमराजलाई स्वागत गर्नुपर्दछ । यस बिधानलाई व्यवहारमा यमदीपदान भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा उद्धरण गरिएको स्कन्दपुराणको वचन अनुसार कार्तिक कृष्णपक्ष, त्रयोदशी तिथिमा रात पर्न लागेपछि घरको मूल दैलोभन्दा बाहिर पटि यमराजलाई दीपदान गर्नुपर्दछ ।
यसरी दीपदान गरेर उनलाई घरभित्र नपस्न र कसैलाई दुःख कष्ट नदिन अनुरोध गरिन्छ । यसक्रममा मेरो परिवारमा सबैको दीर्घायूष्य,ऐश्वेर्य एवम् सुख समृद्धी प्राप्ती र दुर्घटना, अपमृत्युजस्ता संकट निवारण होस भन्ने कामना सिद्ध गर्ने उदेश्यले यमराजको प्रशन्नताका लागि यमराजलाई दिपदान गर्दछु भनि विधिपूर्वक संकल्प उच्चारण गरेर दियो बाल्नु पर्छ । दियो बालेपछि चन्दन,अक्षता र फूल हातमा लिएर ध्यान गरि यमाय पाषहस्ताय महिषारुढाय कृष्णप्रणाय नमः भनि नमस्कार गरेर यस मन्त्रले दीपदान ग्रहणका लागि यमराजलाई प्राथना गर्नुपर्दछ ।
धन्वन्तरी जयन्ती
पौराणीक प्रशङ्ग अनुसार आजकै दिनमा भगवान विष्णु आयुर्वेदका प्रवद्र्धक धन्वन्तरीको अवतार लिएर प्रकट भएका थिए ।
देवता र अशुरद्वारा समुमन्द्रमन्थनका क्रममा हलाहल,कामधेनु, येरावत,उच्चैःश्रवा अश्व, अप्सरा,कस्तुपमणि,वारुणी,महासंख,कल्पवृक्ष,चन्द्रमा, लक्ष्मी,कदलीवृक्ष आदिको उत्पत्ति पछि अन्त्यमा धन्वन्तरिको प्रादुर्भाव भएको हो । हातमा अमृतले भरिएको शुवर्ण कलश लिएर चतुर्भुज धन्वन्तरी प्रकट भएका थिए । अमृत वितरण पछि देवराज ईन्द्रको अनुरोधमा देवबैध्यको पद स्वीकार गरि स्वर्गमा बस्न थाले । यसर्थ आयुर्वेद अर्थात औषधि बिज्ञानका प्रवर्तक धन्वन्तरीलाई आजकै दिनमा आरोग्यका देवताको रुपमा पूजा गर्ने गरिन्छ ।
धनतेरस
कार्तिक कृष्णपक्षको त्रयोदशीलाई धन त्रयोदशी अर्थात धनतेरस पनि भनिन्छ । यस दिन सुन चाँदीका गरगहना,सिक्का र भाँडाकुडा तथा कास,तामा,पित्तल आदिका भाँडाकुडा किन्ने परम्परा रहेको छ ।
विशेष गरि लक्ष्मी पूजाका लागि आवश्यक नयाँ भाँडाकुडा, थालबटुका आदि जोरजाम गर्ने चलन पुरानै रहेपनि परम्परा बाहेक हिजो आज व्यवहारिक उपयोगिताका सामानहरु ,मोटर, मोटरसाईकल,फ्रिट तथा अन्य भौतिक सम्पत्ति आदि समेत खरिद गर्न यसैदिनलाई पर्खने पनि गरिन्छ । हुने खानेले विलाशीताका वस्तुहरु जोड्छन् भने हुँदा खानेले आफ्नो आवश्यक्ताहरु पूरा गर्ने गर्दछन् । समग्रमा तिहारको किनमेल गर्ने दिनको रुपमा धनतेरसलाई लिने गरिन्छ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया