प्रस्तुत कोइराला/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा १५ वर्ष भन्दा धेरै समय बिताएका त्रिवेणी गु्रपका अध्यक्ष रामचन्द्र सांघाईको उद्योग व्यवसायको क्षेत्रमा ३६ वर्ष भन्दा लामो अनुभव रहेको छ । विगत १ दशक भन्दा लामो समयदेखि महासंघमा कार्यकारी सदस्यको रुपमा रहेका सांघाई आसन्न महासंघको चुनावमा चन्द्र ढकाल प्यानलबाट एशोसिएट उपाध्यक्षका उम्मेद्वार हुन् । महासंघमा कार्यकारी सदस्यको भुमीकामा मात्र रहेका सांघाई यसपटक भने नेतृत्वको लडाईमा सामेल भएका छन् जसको प्रेरणा चन्द्र ढकाल नै रहेको उनी बताउँछन् ।
प्रस्तुत छ, लोकपथ डटकमले नेपाल उद्योग वाणिज्य महासंघमा आसन्न निर्वाचनको विषयमा एशोसिएट तर्फका उम्मेद्वार रामचन्द्र सांघाईसँग गरिएको कुराकानी
लामो समय महासंघमा लो प्रोफाईलर भएर बिताउनु भयो तर अहिले यसबेला नै किन नेतृत्वको लाडाईंमा सामेल हुने निर्णय गर्नु भयो त्यो पनि एशोसिएट तर्फबाट नै ?
म विगत १५/१६ वर्ष देखि महासंघमा आवद्ध छु । महासंघको एशोसिएट तर्फको समूह ठूलो छ । करिब ९०० जना मतदाता एशोसिएट तर्फका रहेका छन् । म एशेसिएटतर्फ बाटै महासंघको कार्यकारी सदस्यको भुमिका निभाउँदै आएको छु । मेरो विषेशताको क्षेत्र पनि एशोसिएट नै हो । आर्के कुरा किन अहिले नेतृत्वको लडाँईमा भन्ने कुरामा, मलाई चन्द्र ढकाल ज्यू ले प्रेरित गर्नु भएको हो । सधै सदस्यको रुपमा मेरो भिजन शतप्रतिशत कार्यन्वयन हुने सम्भावना पनि थोरै रहेको कारण आफ्नो भिजन कार्यन्वयन गर्नकै लागि महासंघको नेतृत्वको लाडाईमा म सामेल भएको छु ।
चुनाव एजेन्डाले जितिन्छ र यसको लागि रणनीति सहितको एजेन्डा चाहिन्छ, तपाईको एजेन्डा के हो ?
चुनावमा जित होओस् वा हार । मेरो एजेन्डा एउटै रहने छ । त्यो हो नेपालमा रोजगारी श्रृजना गर्ने, त्यो काम महासंघको नेतृत्वकारी भुमिकामा नबसेर पनि गर्न सकिन्छ । तर सरकारको नीतिगत कार्यमा सरकारको कमी कमजोरी सुधारेर रोजगारीको वातावरणलाई थप प्रभावकारी बनाउन महासंघको नेतृत्व आवश्यक रहेको छ । नेपालमा बेरोजगारीको समस्या व्यापक रहेको छ । त्यही माथि विदेशमा गएका कयौँ नेपालीहरुको पनि रोजगारी गुमेको छ । यस्तो अवस्थामा नेपालमा सबैभन्दा खाँचो भएको चिज नै रोजगारी हो । जुन मेरो मुख्य एजेन्डा रहेको छ । देशमा रोजगारीको वातावरण सहित सरकारको नीतिगत कमी कमजोरीलाई सुधारेर देशभित्रै रोजगारी बढाउने एजेन्डा लिएरै मैले महासंघको एशोसिएट उपाध्यक्षको उम्मेद्वारी घोषणा गरेको हुँ ।
नेपाल उद्योग वाणिज्य महासंघको एउटा जटिल र चुनावी समिकरणको हिसाबले कठिन विभाग हो एशोसिएट, कसरी यस एशोसिएटका मतदातालाई मनाउन सक्नुभयो ?
हो, तपाईले भने जस्तै एशोसिएट महासंघ भित्रको जटिल क्षेत्र हो । तर, अबका भावी अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल पनि यसै क्षेत्रका हुन र म पनि यसै क्षेत्रबाट उठ्दैछु । नेपाल उद्योग वाणिज्य महासंघमा कुन क्षेत्रको भन्दा पनि कुन काम गर्न आएको भन्ने महत्वपूर्ण हुन्छ । महासंघको जटिल क्षेत्र एशोसिएट भए पनि म थप चुनौती लिएरै अगाडी बढ्ने सोचले आएको छु । जुन एशोसिएट तर्फका मित्रहरुले नापी पनि सक्नु भएको छ । महासंघमा आफूले मतदाता रिझाँएर भोट माग्नु भन्दा पनि आफूले गरेको काम र गर्ने एजेन्डालाई बुझेर मतदाताहरु आफै विश्वस्त हुने छन् र आशा छ कि यहि एशोसिएट तर्फबाट मलाई नै बिजयी गराउनु हुनेछ ।
महासंघमा आवद्ध पदाधिकारीहरुलाई अहिले कोभिड १९ ले पारेको समस्याको गहिराइ नै थाहा छैन जस्तो अनुभव भएको छ , महासंघले कोभिड असरको म्याग्निच्युड नै नाप्न सकिरहेको छैन, यस्तो अवस्थामा अनुभवको राग ओकलेर समस्याबाट पार पाउन सकिन्छ ?
त्यस्तो पनि होइन । महासंघले कोभिडको असरबारे मुल्याङ्कन गरेरै सरकारको ५० अर्ब रुपैयाँको स्टिमुलस प्याकेज कार्यन्वयन गर्न सफल भएको छ । महासंघको नेतृत्वको लडार्इं भएपनि व्यक्ति, कर्मचारीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशको अर्थतन्त्रसँग जोडिएका हुन्छन् । तपाईले भने जस्तो एकिन तथ्याङ्क सरकार र निजी क्षेत्र दुवैसँग नरहे पनि मोटामोटी आँकलन भने सबैले गरेका छन् । निर्वाचन लगत्तै यो मोटामोटी तथ्याङ्कलाई पनि मुर्त रुप दिएर सरकार समक्ष थप कडाईका साथ प्रस्तुत हुनेमा हामी प्रतिबद्ध रहेका छौँ ।
के नेपालमा अझै औधोगिक क्षेत्रको सम्भावना बाँकि छ त ? यो त दिनानुदिन धरासायी बन्दै गएको छ, अब कसरी औद्योगिक विकास गर्न सकिन्छ ?
नेपाललाई औद्योगिक दृष्टिकोणबाट हेर्दा यो अझै पनि भर्जिन ल्याण्ड हो । यहाँ औद्योगिक व्यवसायको प्रचुर सम्भावना रहेको छ । नेपालमा सिमेन्ट उद्योगको उदाहारण हेर्दा कति छोटो समयमा हामी आत्मनिर्भर भइसकेका छौँ । २० वर्ष अगाडीको मात्रै इतिहास हेर्ने हो भने नेपालमा जम्मा २ देखि ३ वटा सिमेन्ट इन्डस्ट्रिज थियो अहिले हामी यसमा आत्मनिर्भर छौँ । अबको बाटो भनेको निर्यातको हो । धागो उद्योग, कपडा उद्योगमा नेपाल अग्रसर हुँदै छ । छोटो समयमा यस क्षेत्रमा पनि हामी आत्मनिर्भर भई निर्यातको अवस्थामा अवश्य पुग्ने छौँ ।
यति लामो समयदेखिन नेपालमा चिनि उद्योग संकटमा परेको छ, ल अब भन्नुहोस् नेपालमा सुगर इन्डिस्ट्र लाई रिभाइभ गर्ने फरमुला तपाईंहरु जस्ता महासंघमा चुनावी प्रतिस्पर्धा गर्नेहरुसँग छ ?
नेपालमा चिनि मिलको प्रचुर सम्भावना रहेको छ र बाहिरि हल्ला जस्तो चिनि मिल धरासायी पनि बनेको छैन । किसानको मर्म, सरकारको तर्फबाट हुनु पर्ने नीतिगत सुधारहरुलाई सच्चाएर नेपाल चिनिमा आत्मनिर्भर हुने सम्भावना अझै रहेको छ । अर्को तर्फ चिनिलाई पर्यटनसँग जोडेर पनि सिनर्जी ल्याउन सकिन्छ । चिनिमिलको संरक्षण भनेको उखु किसानहरुको संरक्षण गर्नु हो । केहि नीतिगत समस्याका कारण बजारमा नकारात्मक सन्देश मात्र गएको हो तर नीतिगत सुधारले अझैपनि यस्को सम्भावना भने खस्केको छैन ।
अब चुनाव तर्फ नै फर्कऔँ, कस्तो चल्दै छ तपाईको चुनावको तयारी ?
चुनावको समय व्यापक हुनु पर्ने थियो तर कोभिडका कारण केहि समस्या उत्पन्न भएता पनि सबै साथिहरु सामाजिक दूरी कायम गर्दै वा डिजिटल प्लाटफर्म मार्फत चुनावी माहोल तताइरहेका नै छौँ । पहिले जस्तो व्यापक नदेखिए पनि चुनावको तयारीमा भने कुनै कमी कमजोरी छैन ।
चुनावको माहोल, कुनै कसर नछोडि तताइरहनु भएको छ, हाम्रो जिज्ञासा यो छ कि अहिले सम्मको मूल्याङकनमा तपाईंले जित्ने सम्भावना कतिको रहेको छ ?
मैले एशोसिएट तर्फको उपाध्यक्षमा चन्द्र ढकाल प्यानलबाट आफ्नो उम्मेद्वारी दर्ता गराएको छु । एशोसिएट तर्फ ९ सय सदस्य रहेका छन् । अहिलेसम्मको तयारी हेर्ने हो भने मेरो जित पक्का देख्छु । तर पनि यो निर्वाचन हो । अन्तिम घडिसम्म पनि नतिजा उल्टिन सक्छ । निर्वाचनमा कि त हार हुन्छ कि त जित हुन्छ । मलाई विश्वास छ कि जित मेरै हुन्छ । म त्यसैको प्रयासमा रहेको छु । महासंघको शुरुवात देखि नै महासंघ प्रतिको विश्वासले मलाई यो अवसर दिएको छ जसको मैले भरपुर सदुपयोग गर्दै आगाडी बढेको छु ।
अन्त्यमा तपाईंका सहकर्मी, महासंघका पदाधिकारी, व्यवसायी साथिहरुलाई के भन्नुहुन्छ ?
सर्वप्रथम त म भोटको म लागि हार्दिक अपिल गर्दछु । तपाईहरुको बहुमूल्य भोट खेर जान नदिने प्रतिबद्धता पनि व्यक्त गर्दछु । मलाई विश्वास गरेर जिताउनु भयो भने म कसैलाई पनि निराश बनाउने छैन । निजी क्षेत्रको विकासका लागि जिम्मेवारपूर्वक काम गर्छु र आफ्नो कामप्रति सधै उत्तरदायी रहने प्रतिबद्धता जनाउँछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया