माता लक्ष्मी र सरस्वतीको अनुकम्पाले यो निर्वाचन मैले जित्छु : किशोर प्रधान

प्रस्तुत कोइराला/काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान अहिले चुनावी सरगामीमा व्यस्त रहेका छन् । महासंघमा करिव ३ दशक लामो अनुभव बोकेका किशोर प्रधान यसपटक वरिष्ठ उपाध्यक्षमा आफू विजयी हुने विश्वास लिएर अगाडी बढेका छन् । महासंघको इतिहासमा १ जना मात्र जिल्ला नगर तर्फबाट अध्यक्ष बनेको बताउँदै सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको विकासका लागि आफ्नो उम्मेद्वारी अपरिहार्य रहेको उनी बताउँछन ।

आसन्न महासंघको निर्वाचनमा लोकपथ डटकमले किशोर प्रधानसँग गरेको यो कुराकानी :

महासंघको निर्वाचनमा अहिले त स्ट्राट्रेजीकल्ली लागि पर्नु भएको छ ? जितको सम्भावना कतिको बन्दै छ ?

समयको माग र जिम्मोवारीबोध गर्न अवश्य नै स्ट्राट्रेजीकल्लीनै लाग्नु पर्छ नि, र अब यसपटक माता लक्ष्मी र सरस्वतीको कृपाले मैले चुनाव अवस्य जित्नेछु ।

जिल्ला नगरबाटै आफ्नो क्यारिएर बनाएका किशोर प्रधानको जिल्ला नगरमा राम्रो पकड छ भन्छन, तर अर्को पक्षको पनि जिल्ला नगर त मजबुत नै देखिँदै छ ? आफ्नो पकड कसरी दरिलो बनाउँदै हुनुहुन्छ ?

पकड भन्नु भन्दा पनि जिल्ला नगरका साथिहरुको विश्वास भन्न रुचाउँछु । ११ वटा जिल्लाबाट शुरुभएको महासंघमा हाल एशोसिएटको वर्चस्व रहेको छ । ५४ वर्षको महासंघको इतिहासमा जिल्लानगरबाट एकजना मात्र अध्यक्ष बन्न सफल भएका छन । अबभने जिल्ला नगरकै समय आएको छ । यस पटक पनि जिल्ला नगरबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित नहुने हो भने जिल्ला नगरको विकास हुन कठिन छ । म आफै पनि जिल्लानगरको प्रतिनिधी रहेको कारण जिल्ला नगरका साथिहरुले गरेको विश्वास देखेर म यस पटक महासंघको वरिष्ठ उपाध्यक्षको लाडाई जित्न सक्छु भन्ने विश्वास पलाएको हो ।

शेखर गोल्छ तपाईको गोप्य बैठकमा पनि सामेल हुनु भएको छ, यो त निकै आलोचनाको बिषय बन्यो, विरोधीहरु तपाईहरुलाई विधान विपरित गएको समेत आरोप लगाउँदै छन ?

आरोप लगाउनेलाई लाज लाग्नु पर्ने हो । महासंघको परिपाटी कसले बिगारेको हो ? विधानमा किल्चिएर महासंघको घजिया कस्ले उडाएको हो ? आफूलाई हुँदा ठिक अरुलाई हुँदा बेठिक भन्ने मान्छेलाई म प्रश्न गर्न चहान्छु, महासंघको परिपाटी कसले बिर्गायो ? भावी अध्यक्षले आफ्नो कार्यकालको लागी आफ्नो टिम चयन गर्न किन नपाउने ? भावी अध्यक्ष शेखर गोल्छाको भिजन ठूलो रहेको छ जुन कार्यन्वयन गर्न उहाँलाई सबल टिमको खाँचो रहेको छ जसमा उहाँले मेरो प्यानललाई सक्षम देखेर समर्थन गर्नु भएको छ । यसमा गलत के ।

के महासंघमा अब किङमेकर मानिने चण्डीराज ढकालको युग अन्त्य भएकै हो ?

हो, सतप्रतिशत महासंघमा चण्डीराज ढकालको यो अन्त्य नै हो । यो परम्परा कुनै पनि हालतमा अन्त्य हुनै पर्छ । यो गरिन्छ नै, अबदेखि महासंघको निर्वाचनमा चण्डीराज ढकालको नाम कहिल्यै पनि आउँने छैन ।

पूर्व अध्यक्षहरुमा कुश कुमार जोशी मात्र तपाईको समर्थनमा देखिनुहुन्छ, बाँकिलाई त तपाँईले घरघरमा गएर फकाउँदै हुनुहुन्छ भन्ने विपक्षीहरुको आरोप छ नी, यसमा के भन्नु हुन्छ ?

गलत , यो भनाई सतप्रतिशत गलत हो । मलाई प्रतिपक्षले के भन्छ त्योसँग मलाई मतलब छैन । तर, अहिले धेरैजसो पूर्व अध्यक्षहरु क्वारेन्टिनमा रहेका छन । म आफ्नो कर्तव्य निभाउछु । पूर्व अध्यक्षहरुको घर घरमा गएर आशीर्वाद लिनुमा गलत के छ । हाम्रो घर्म संस्कृती अनुसार आफू भन्दा जान्ने बुझ्ने अग्रजहरुसँग आशिर्वाद लिएर आएकोमा गल्ती के गरे र

भिजन र आश्वासन बाढ्ने बेलामा एशोसिएट टिमलाई कसरी ट्याकल गर्नुभयो, यो चुनावमा मुख्य मुद्दा त एशोसिएटका पनि छन र पकड पनि जबरजस्त हुन्छ एशोसिएट सदस्यहरुको ?

अहिले नेपालमा सबैभन्दा थोरै लेबर डिस्पियुट मोरङमा रहेको छ । हामी सक्षम छम् साथै हाम्रो एशोसिएट तर्फका उम्मेद्वार सौरभ ज्योती अत्यन्तै सक्षम हुनुहुन्छ । हाम्रो एजेन्डाहरु मध्ये श्रमिकहरुको जिवनस्तर उठाउने हाम्रो मुख्य एजेन्डा हो । रोजगारी र श्रमीकको जिवनस्तरको लागि काम गर्न लागेको हुनाले एशेसिएटको समर्थन लिन त्यती पनि असहज भएन । कामै गर्ने भनेर मौदानमा उत्र्तिएपछि सबैको साथ र सहयोगले नै त म यहाँसम्म पुगेको हुँ ।

पूर्व अर्थमन्त्रीसँग निजी क्षेत्रले नेगोशिएसन त परै जाओस् लबिङसमेत गर्न सकेको थिएन अब अर्थमन्त्री परिर्वतन भएको अवस्था छ तपाँइृले चुनाव जित्नु भयो भने अर्थमन्त्रालय र महासंघ बिचको ग्यापलाई कम गर्न के गर्नुहुन्छ ?

अहिले देशका प्रधानमन्त्रीको निजीक्षेत्रसँग हातेमालो गरेर काम गर्ने चाहाना रहेको छ । तर विभिन्न पार्टिगत समस्याका कारण राजनीति र अर्थतन्त्रको लय मिल्न सकेको छैन । यस्तो अवस्थामा सरकारसँग निजी क्षेत्रको समस्या र मागहरु बुलन्द आवजमा राख्नसक्ने मेरो टिम रहेको छ । भावी अध्यक्ष शेखर गोल्छा दक्ष छन । देशको नयाँ अर्थमन्त्री र महासंघको नयाँ नेतृत्वको समन्वयले कोभिडले सिथिल पारेको अर्थतन्त्र रिभाइभ गर्न सक्ने क्षमता हामीले बोकेका छौँ । साथै, हाम्रो नेतृत्वले १० वर्षको लङ टर्म भिजन सहित महासंघमा प्रवेश गर्न लागेको हो । ३/४ कार्यकालको लागि हामीले महासंघको काम कारवाहि, योजना र योजनाको रेडम्याप सबैकुरा तयार गरेरै महासंघको यो लडाई लडदै छौ । सरकार र निजी क्षेत्र बिचको पुलको काम गर्ने जिम्मेवारी हामीमा रहेको छ र यहि गर्नका लागि निर्वाचित हुन तपाईले अघि भने जस्तै माहोल तताउनमा व्यस्त छौँ ।

अन्त्यमा आफ्ना सहकर्मी, महासंघ पदाधीकारी एवं व्यवसायी साथीहरुलाई के भन्न चाहानुहुन्छ ?

अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राखेर सबैलाई शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना दिन चहान्छु साथसाथै नेपाल उद्योग वाणिज्य महासंघको आउँदो चुनावमा मलाई विजयी गराउनु पनि आग्रह गर्दछु । निजीक्षेत्रको समस्या सरकार समक्ष पुर्‍याउन मात्र होइन त्यस समस्या समाधानका लागि लड्न समेत तयार रहेको छु । धन्यवाद ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?