प्रस्तुत कोइराला, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ यस पटकको चुनावमा पनि सोहि पदमा दोहोरिन चाहेका छन् । उनले चन्द्र ढकाल प्यालनबाट आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । पहिलो कार्यकालमा आफ्नो सम्पूर्ण भिजनहरु कार्यान्वयन गर्न नसकेको र महासंघको विभिन्न मुद्दाहरु हेर्न फेरि पनि वस्तुगत उपाध्यक्ष दोहोराउन चाहेको उनी बताउँछन् ।
प्रस्तुत छ, आसन्न महासंघको निर्वाचनमा वस्तुगत उमेदवार र भावी वस्तुगत उमेदवार उमेशलाल श्रेष्ठसँग गरिएको कुराकानी :
चुनाव त तात्यो, तपाईलाई कतिको चुनाव लागेको छ ?
चुनाव त लागेको लाग्यै छ गत फागुनदेखि अहिलेसम्म चुनावै त लागेको छ । तर, ‘कोभिड – १९’ को कारणले मोमेन्टम नबन्दा यसपटक डिजिटल प्लेटफर्मको भने चुनावकै लागि भरपूर प्रयोग गरेका छौँ । एकदमै कम भेटघाट गरिएको छ । भेटघाट गर्नैपर्ने अवस्थामा सामाजिक दूरीको नियम पालना गरेरै काम गरिरहेका छौँ । चुनावको मोमेन्टम नबिगार्न अनलाईनबाटै चुनावको चहलपहल बढिरहेको छ ।
आसन्न महासंघको निर्वाचनमा पुन वस्तुगत उपाध्यक्षबाट आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ ? तपाईले फेरि जित्ने आधार के छन् ?
चुनाव जित्ने आधार भन्नुभन्दा अगाडी आफ्नो वजनदार पास्ट पफर्मेन्स, आफूले दिएको योगदान, खण्डन गरेका विषयहरुको मूल्याङ्न गर्न आवश्यक छ । जुन साथिहरुले आफैँ गर्नु भएकै छ भन्ने मैले ठानेको छु । महासंघमा साथीहरुले मेरो आवाज बुलन्द भएको बताउनुहुन्छ । जसको मतलब सटिक प्रश्नहरुको सटिक जवाफ दिन म सक्षम छु । अनि ब्यापारी भएपछि स्वभाविक रुपमा पहुँच बढ्छ । मेरो पनि छ । तपाईलाई थाहा नै छ मेरो राजनीतिक पहुँच पनि छ, जुन मलाई प्रयोग गर्न मन लाग्दैन ।
कोरोनाको कहरले अर्थतन्त्र ध्वस्त पार्दैछ, उद्योग बाणिज्य महासंघको एक नेता तथा आसन्न साधारण सभाको उम्मेद्वारको हैसियतले तपाईंको रणनिती के छ ? कसरी अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ?
नेपाली उद्योग क्षेत्रको कुरा गर्ने हो भने ३० प्रतिशत अर्थतन्त्र मात्र ठूला उद्योगहरुले धानेको छ । बाँकि ७० प्रतिशत अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरुको योगदान छ । साना तथा मझौला उद्योगहरु नेपाली अर्थतन्त्रको ढाड हुन् । जुन ढाड कोभिडको कारणले भाँच्चिएको छ । ठूला त आफैँमा ठूला छन् । ठूलो लगानी छ, जसरी तसरी सम्हालीन्छन् तर सरकारको ध्यान भने पूर्ण रुपमा साना तथा मझौला उद्योगमा केन्द्रित हुन आवश्यक छ । यसतर्फ सरकारले खोई त ध्यान दिएको ? चालु वर्षका लागि सरकारले ९ खर्ब ८६ अर्ब रुपैयाँ करबाट उठाउने लक्ष्य राखेको छ, कहाँबाट पुरा हुन्छ त्यो लक्ष्य ? सबैकुरा घट्दो क्रममा छ। सरकारको खर्च मात्र धेरै छ आम्दानी कम छ । सरकारलाई आफै सर्भाइब गर्न मुस्किल परिरहेको छ । हामीले लकडाउनको शुरुमै ब्याजको कुरा गर्नु गलत थियो । राहतको कुरा गर्नुपर्ने थियो ।
ढेड खर्बको राहत माग गरेकोमा सरकारले दिन नसक्ने अवस्थामा छ । यस्तो विषम परिस्थितीमा सरकारले विभिन्न उपाय अपनाएर खर्च कटौती गर्न आवश्यक छ । साना साना खर्च होइन । साना साना भत्ता काटेर केहि हुनेवाला छैन ठूलो खर्च कटाउने सामथ्र्र्य राख्न सक्नप¥यो । अर्को समस्या भनेको बैंकको समस्या, बैंक पनि एउटा विजनेश हो यसमा धेरै कडाइ पनि अर्थतन्त्रलाई घातक हुन्छ । एक पटक सर्टिफिकेट राखेर लोन दिने नियम लागु गरेको थियो जुन अत्यन्तै राम्रो थियो । यस्तै साना तथा मझौला उद्योगहरु लाई बिना धितोको एउटा सिमित रकमसँग लोन दिने व्यवस्था गराउन सक्ने नियम राष्ट्र बैंकले लगाउन सक्नुपर्छ । सरकार आफ्नो खर्च केहि नकटाउने अनी उद्योग व्यवसायलाई मात्र सास्ती ।
हामी हेर्न सक्छौ कि महासंघ ब्यक्तीवादी संस्कारमा केन्द्रित छ, तर हुनुपर्ने त संस्थागत अभ्यास हो नि । यसलाई कसरी सुधार गर्न सकिन्छ ? के कस्तो योजना छ ?
महासंघमा म होइन, हामी भन्ने शब्द गुञ्जिनप-यो । आत्मकेन्द्रित (मपाईंत्व)को अन्त्य हुनुपर्यो। बहुमतको आधारमा निर्णय हुनुपर्छ । कमिटेड साथिहरु लाग्नुपर्छ । महासंघमा म जस्तो हामी भन्ने शब्दको मात्र उच्चारण गर्ने व्यक्तिको आवश्यक छ । त्यस्तै चन्द्रजी शुन्यको अवस्थाबाट जुन उचाईमा पुग्नु भयो उहाँपनि कहिले आफू मात्र भन्नु हुन्न हामी भनेरै लागि पर्नु भएको छ । महासंघको अहिलेको परिपाटी हेर्दा महासंघका सदस्यहरु आ आफ्नो अफिसमा प्रोफेशनल हुने महासंघमा भने आ आफ्नै स्वार्थका लागि काम गर्ने बानीको भने अन्त्य हुनुपर्छ ।
तपाईंको ३ बर्षको कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ? फेरि त्यही पदमा दोहर्याउनु चाहनुको कारण के हो ?
किन नचाहनु ? म नेपाल उद्योग वाणिज्य महासंघमा एक आम सदस्यमात्र हुन आएको होइन मलाई मेरो भिजन कार्र्यान्वयन गराउनु छ । म महासंघमा हुनैपर्छ, मेरो तागत भनेकै मेरो भोटर्स हुन् । जो मेरै पक्षमा छन् । महासंघमा मतदान गर्ने मतदाताहरु धेरै छन् उनीहरुको मुद्दा पनि धेरै छन् जुन सुनुवाई हुदैनन् । त्यसको गम्भिरतालाई बुझेरै म फेरि वस्तुगत उपाध्यक्षमा दोहोराउन चाहेको हुँ ।
वस्तुगत तर्फको सदस्य संगठनहरुसँग कुरागर्दा “महासंघले हामीलाई केवल मतदाताको रुपमा लिएको छ, न त संस्थागत विकासमा सहयोग गर्छन् न त नितिगत बहसमा पहुँच पुर्याउन सहयोग नै गर्छन् भन्ने गुनासो छ । तपाईं वस्तुगत तर्फको वर्तमान उपाअध्यक्ष र आगामीको कार्यकालको लागि उम्मेद्वार पनि, यसमा तपाईंको धारणा के छ ?
नेपाल उद्योग वाणिज्य महासंघको सिस्टम खत्तम छ । केहि वर्ष अगाडी देखि हामीले वरिष्ठलाई अध्यक्ष बनाउने निर्णय ग-यौँ खोई के परिवर्तन आयो ? के फरक भयो ? सबै उस्तै त छ । महासंघमा भएको व्यक्ति, पदाधीकारीहरु आफ्नो व्यक्तिगत जिवनमा जस्तो छन् उस्तै देखाउन सक्ने हुनुपर्छ । केहि समय अगाडी महासंघमा आउट स्वर्सीङ गरेर एच. आर को आवश्यकता अध्ययन गराइयो । ५ ७ लाख रुपैयाँ खर्च पनि गरियो, आवश्यकता के ? प्रगती के ? महासंघ सरकार र नीजी क्षेत्र बिचको पुलको काम गर्ने संस्था हो । तर महासंघको सचिवालय कहिल्यै बलियो हुन सकेन । म महासंघमा छिरेदेखि अहिलेसम्म बलियो सचिवालय देखेको छैन । चाकडीप्रथादेखि विभिन्न कुराहरुले महासंघलाई गलाएको छ । भावी अध्यक्ष पनि पहिले देखिए जस्तो छैनन् । जुन सक्षमताको आधारमा हामीले उनलाई वरिष्ठ उपाध्यक्ष बनाएका थियौँ अब अध्यक्ष बन्ने बेलामा त्यो सक्षमता केहि कमजोर देखिएको छ । तर यसको मतलब मैले उनलाई असक्षम भन्न खोजेको होइन एज लङ एज हि डु गुड आइ विल अलवेज हेल्प हिम ।
महासंघमा ब्यापारीले ब्यापारीसँग प्रतिस्पर्धा गर्छन् र जित्नको लागि राजनीतिक शक्ति केन्द्र धाउँछन्, आफ्नो एजेन्डा र कार्यनिती भन्दा पनि राजनीतिक सम्पर्क र पैसाको आधारमा जित्न खोज्छन् । यो त गलत थिती हैन र ?
हो । यो कुरा मेरो मनमा पनि छ । नगएको भए नधाएको भए पनि हुन्थ्यो भन्ने । अब चुनावको समयमा एकजना गएपछि अर्को जानैपर्छ तर नेपाल उद्योग वाण्ज्यि महासंघका भोटरहरु जिनियस छन् । फरक छन् । राजनीतिक प्रभावमा परेर नेताले भन्ने बित्तीकै आफ्नो भोट परिवर्तन गर्दैनन् । नेताको बोलीले प्रभाव पार्ने महासंघको मतदाता छैनन् ढुक्क हुनुहोस् ।
अन्त्यमा आफ्ना सहकर्मी, महासंघ पदाधीकारी एवम् सदस्यहरु तथा व्यापारी साथिहरुलाई के भन्न चाहनुहुन्छ ?
महासंघमा अहिले चुनाव चलिरहेको छ । त्यसकारण शुरुमा त भोट नै माग्न चाहन्छु । मलाई निर्वाचित गराउनुहोस्, फेरि म तपाईहरुलाई अर्को ३ वर्षका लागि सेवा गर्न चाहन्छु । साथै कोभिडलाई खेलाँची नलिन आग्रह गर्दछु । कोरोना भाइरस खतरा छ । यसलाई गम्भिर रुपमा लिएर सर्तक रहन आग्रह गर्छु । सम्पूर्ण सुरक्षाको मापदण्डहरु अपनाएर सुरक्षित रहन आग्रह गर्छु ।
धन्यवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया