महासंघ साधारणसभा : क-कसले भोट हाल्न पाउने ? यस्तो छ निर्वाचन प्रणाली

प्रस्तुत कोइराला/काठमाडौं । निजि क्षेत्रको ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आज (बिहीवार) देखि वार्षिक साधारणसभा शुरु भएको छ । यस पटकको वार्षिक साधारणसभाले ३ वर्ष पछिको नेतृत्व चयनका साथै यस पटकको कार्य समिति चयन गर्दै छ ‘निर्वाचन प्रणाली बाट’, महासंघको पछिल्लो संशोधित विधान अनुसार निर्वाचित वरिष्ठ उपाध्यक्ष आर्को कार्यकालका लागी स्वत अध्यक्ष बन्ने प्रवधान रहेको छ ।

सोहि अनुसार पछिल्लो निर्वाचनमा विजय भएका व्यक्ति यस पटकको निर्वाचन पूर्वै अध्यक्ष भई वरिष्ठ उपाध्यक्षको निर्वाचनलाई सहयोग पुर्‍याउँछ। वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए पश्चात सोहि पदमा रहि ३ वर्षको कार्यकाल पुरा गरे लगत्तै अध्यक्षमा नियुक्ति हुने व्यवस्था रहेको छ । जसअनुसार अघिल्लो चुनावका विजेता अथवा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्ने छन भने वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल पनि अन्त्य हुने छ । सोहि व्यवस्थाका कारण वरिष्ठ उपाध्यक्षको प्रतिस्प्रधालाई विषेश मह्त्वका साथ हेरिने गरिन्छ । सरल शब्दमा लेख्दा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको आकर्षण नै वरिष्ठ उपाध्यक्षको पद रहेको हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिमा ७८ जनाको रहने व्यवस्था छ । मुलुक संघीयतामा प्रवेश गरेपछि महासंघको विद्यान पनि संघीय संरचनाअनुरूप संशोधन गरिएको छ । संशोधित विधानपश्चात् केन्द्रीय कार्यकारिणी समितिको आकार ठूलो बनाइएको हो । जसमध्ये निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । ६९ जना सदस्य निर्वाचित हुने छन् भने ५ जना मनोनीत सदस्य रहने छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । त्यस्तै कोषाध्यक्ष कार्यकाररिणी समितिले चयन गर्नेछ ।

महासंघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला र नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट गरी ३ जना उपाध्यक्ष रहनेछन् । संशोधित विधानमा कोषाध्यक्ष पदको पनि व्यवस्था गरिएको छ । कार्यकारिणी समितिका निर्वाचित सदस्यमध्येबाट एक जना कोषाध्यक्ष निर्वाचित गरिनेछ । संस्थापक सदस्यहरूबाट एकजना, निवर्तमान अध्यक्ष पदेन सदस्य र ५ जना अन्य मनोनीत सदस्य रहने व्यवस्था छ ।

महासंघमा एसोसिएटतर्फ १९ जना, वस्तुगततर्फ १४ जना कार्यकारिणी सदस्य रहने व्यवस्था छ । यस्तै, जिल्ला र नगरका उद्योग वाणिज्य संघहरूले खुल्लातर्फ निर्वाचित गरेका १८ जना कार्यकारिणी सदस्य रहनेछन् । प्रदेश उद्योग वाणिज्य संघअन्तर्गत प्रत्येक प्रदेशबाट एक/एक जना गरी ७ जना, द्विराष्ट्रिय संघतर्फ एक जना कार्यकारिणी सदस्य रहनेछन् । यदि महासंघमा द्विराष्ट्रिय सदस्य संघ २० सदस्य पुगेमा दुई जना कार्यकारिणी सदस्य र एक जना उपाध्यक्ष निर्वाचित गर्ने विधानमा उल्लेख छ । यसो भएमा उपाध्यक्षको संख्या चार पुग्नेछ । तर, अहिले द्विराष्ट्रिय सदस्य संघ २० नपुगेको हुनाले एक जना कार्यकारिणी सदस्यमात्र निर्वाचित गरिनेछ ।

महासंघका संस्थापक सदस्यमध्येबाट एक जना कार्यकारिणी सदस्यमा निर्वाचित हुने व्यवस्था छ । महासंघको कार्यकारिणी समितिले ५ जना सदस्य मनोनयन गर्नेछ । यसमध्ये २ जनामा एक महिला र १ पुरुष अध्यक्षले मनोनयन गर्न पाउने छन् । बाँकी तीन जना कम्तीमा १ महिलासहित कार्यकारिणी समितिले मनोनयन गर्नेछ ।

निवर्तमान अध्यक्ष महासंघको पदेन सदस्य रहने व्यवस्था छ । निवर्तमान अध्यक्ष मर्यादा क्रममा अध्यक्षपछि हुन्छन् । तर, अध्यक्षको अनुपस्थिती भए कार्यवाहकको भूमिका भने वरिष्ठताको आधारमा उपाध्यक्षले निर्वाह गर्ने व्यवस्था छ ।

मुलुक संघीयतामा प्रवेश गरेपछि महासंघको विद्यान पनि संघीय संरचनाअनुरूप संशोधन गरिएको छ । संशोधित विधानअनुसार प्रत्येक प्रदेशमा एक÷एक प्रादेशिक इकाइ ९ प्रदेश उद्योग र वाणिज्य महासंघ हुनेछ । प्रादेशिक इकाइका निर्वाचित ७ अध्यक्ष महासंघको कार्यकारिणी समितिमा पदेन सदस्य हुन्छन् । विधानअनुसार सम्बन्धित प्रदेशले नै आफ्नो अध्यक्ष छान्ने छन् । यस्तै, जिल्ला र नगर उद्योग वाणिज्य संघहरूबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यकारिणी समितिमा ७ जना सदस्य निर्वाचित गरिनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघका मतदाताको ५० प्रतिशत भार हुन्छ, वस्तुगत संघका मतदाताको २० प्रतिशत र एसोसिएट तथा द्विराष्ट्रिय संघ समेतको ३० प्रतिशत भार हुन्छ । वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?