काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षीक साधारण सभा आज (बिहीवार) देखि शुरु भएको छ । चैत्र महिनामा नै सम्पन्न हुनु पर्ने साधारण सभा कोभिड-१९ का कारण आजदेखि शुरु भएको छ । यस पटकको महासंघको निर्वाचनलाई विषेश महत्वका साथ हेरिएको छ किनभने यस साधारण सभाबाट नयाँ नेतृत्व चयनका साथै आगामी कार्यकालको वरिष्ठ उपाध्यक्ष चयन हुदैछन् ।
आजबाट शुरु भएको महासंघको साधारण सभाको उद्घाटन प्रधानमन्त्री के पी शर्मा ओलीले गरेका छन । प्रस्तुत छ महासंघको ५४ औँ वार्षिक साधारण सभाको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले दिएको मन्तवयको सम्पादित अंश :
अब महामारीले अर्थतन्त्रमा पारेको प्रभावबाट कसरी छुटाउने र रिकभरी गर्ने भन्ने योजना बनाउनु छ । कोभिड अघि कै अवस्थामा अर्थतन्त्रलाई फर्काउनु पर्नेछ । यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रका बारेमा गहन छलफल गरि निष्कर्ष निकाल्नेछ । संगठन र व्यवसायीक क्षेत्रका लागि तथा सरकारका लागि पनि उपयुक्त हुने निष्कर्ष निकाल्नेछ । त्यसबाट सरकार पनि लाभाम्वित हुनेछ ।
कोरोना साझा समस्या हो र समाधान पनि संयुक्त प्रयासबाटै गर्न सकिन्छ । सरकार र निजी क्षेत्र, व्यक्ति र संस्था, केन्द्र, प्रदेश र स्थानीय तहहरु सबै मिलेर कोरोनासँग लड्ने हो । सबैको संयुक्त प्रयासबाट मात्रै कोरोनासँग जुध्न र पार पाउन सकिन्छ । एउटा खुसीकै जानकारी आउँदैछ, कोरोना विरुद्धको भ्याक्सिन विभिन्न देशहरुले पत्ता लगाएका छन् । त्यसले मानव जातिलाई कोरोना महामारीबाट मुक्त गर्याउनेछ । लडाईमा सफलता दिलाउनेछ ।
यो महामारीले बलिया देशहरुलाई पनि आक्रमण गरेको छ । कमजोरलाई मात्रै होइन, सबल छु भन्नेहरुलाई पनि पिरोलेको छ । कोरोनाको रिकभरीका सन्दर्भमा कमजोरहरुलाई मुस्किल पर्नेछ, बलियालाई भन्दा । भ्याक्सिन आविष्कार त भयो तर गरिब देश र जनताले कसरी प्रयोग गर्ने ? मानव जातिको साझा सम्पतिको रुपमा प्राप्त गर्ने वा बिजनेशको रुपमा उपयोग गर्ने भन्ने प्रश्न उठेको छ । भ्याक्सिनको आविष्कार मानव जातिका लागि ठूलो उपलब्धि हो र त्यो साझा हुनुपर्छ । यो सबलका निम्ति थप उपलब्धी हुने र दुर्बलका निम्ति अर्थहिन हुने अवस्था आउनु हुन्न ।
हामी सानो धर्तीमा छौं, एक ठाँउमा शुरु भएको रोग विश्वव्यापी बन्न सक्छ । दुनियाँ सागुरो भैसकेको छ, संक्रमणबाट जोगिन सजिलो छैन् । मास्क लगाईरहेका छौं, सामाजिक दुरी कायम गरिरहेका छौं, स्वास्थ्यका मापदण्ड पालना गरिरहेका छौं । फेरी पनि रोग फैलिइरहेको छ । यी सबै कुरा गर्दा गर्दै पनि कोरोना महामारीका रुपमा आईरहेको छ । यसका विरुद्ध हामीले साझा लडाई लड्नुपर्नेछ ।
कोरोनाले अर्थतन्त्रमा पारेको प्रतिकुलतालाई पराजित गरेर माथि उठाउनुपर्नेछ । गत आवमा ८.५ का दरले आर्थिक वृद्धि हुने प्रक्षेपण थियो तर शुन्यको अवस्थामा पुग्यौं । तै पनि हामीले सन्तोष मान्नुपर्छ, किन की ठुला देशहरु झन शुन्य तल झरका छन्, हामी शुन्य भन्दा थोरै माथि नै रह्यो । अरु देशसँग बचत थियो, हामीसँग बचत थोरै छ, हाम्रो खर्च गर्ने क्षमता पनि कमजोर छ ।
तपाईहरुलाई लाग्न सक्छ, अरु देशका सरकारले ठुलो रकम अर्थतन्त्र उत्थानका लागि दिएको छ, हामीले किन पाएनौं भन्ने लाग्छ होला । नेपाल सरकार मनको गरिब होइन, हाम्रो क्षमता हेर्नु पर्छ, हाम्रो गक्ष कति छ, त्यहि अनुसार उद्यमी व्यवसायीलाई सघाउँछौं । गक्ष भन्दा एक स्टेप अघि बढेर सरकारले सहयोग गर्छ तर पनि त्यो थोरै हुन्छ । किनकी हामीसँग रिजर्भ वा बचत धेरै छैन् ।
हामीले साझा प्रयत्नबाट अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु त्यस दिशामा केन्द्रित छन् । मानव जातिले समय समयमा ठुला ठुला समस्या झेल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया