काठमाडौं । सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । उच्चपोष्ट,राजनीति तथा कार्यकारी पदको कारक ग्रह मानिन्छ । सूर्यलाई जीवको आत्मा भनिन्छ ।
समस्त चराचर जगत सूर्यद्वारा नै सञ्चालित छ । बारमा आइतवार, राशिमा सिंह, नक्षत्रमा कृतिका, उत्तराफाल्गुणी र उत्तराषाढाको स्वामी सूर्य हो ।
सूर्य ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता,व्याकुलता र ताप बढ्ने गर्दछ ।
मुद्दामामिला र प्रशासनिक समस्या,घरपरिवारमा झैझगडा र धननाशको सम्भावना समेत हुने गर्दछ । तर कुण्डलीको सूर्य राम्रो भावमा छ, स्वगृह वा उच्च छ भने यसले राजनीतिमा उच्चपोष्ट प्रदान गर्दछ ।
सूर्य समस्त संसारको शक्तिको स्रोत र हाम्रो प्राणशक्तिका आधार हो । चिनामा सूर्यको महादशाको समय चल्दैछ वा योगिनीमा पिङ्गला चल्दैछ भने सूर्यको उपासना र आराधना गर्नु राम्रो हुन्छ ।
त्यस्तै जन्मकुण्डलीमा सूर्य अशुभ छ वा शुभ प्रभाव बढाउनु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो फल पाईन्छ ।
१ – सूर्यलाई बलियो बनाउन लागि मानिसले प्रातःकालमा सूर्यदयको समयमा उठेर रातो फूल फुल्ने बोटबिरुवाको फेदमा पानीले सिञ्चन गर्नु पर्दछ । भरसक यो कार्य आईतवारबाट शुरु गर्दा राम्रो हुन्छ ।
२ – सुत्ने वेलामा तामाको पात्रमा शुद्ध जल राखि बिहान उठ्ने बितिक्कै उक्त पानी सेवन गर्नाले सूर्यको शुभप्रभाव प्राप्त हुन्छ ।
३ – तामाको बाला वा चुरा बनाएर दाहिने नाडीमा आइतवारको दिन पारेर धारण गरेमा पनि सूर्यको शुभ फल पाउन सकिन्छ ।
४ – आइतवारका दिन मध्याह्नकालमा कुनै पात्रमा गहुँ राखी रातो गाईलाई खान दिएमा पनि सूर्यको अशुभ प्रभावको नाश हुन्छ । गाईलाई खान दिएको कुनै पनि चिज खाली भुइँमा दिनु हुँदैन ।
५ – महत्वपूर्ण कामका लागि बाहिरिंदा गुड वा कुनै गुलियो वस्तु आफूभन्दा ठूलाबडा वा मान्यजनको हातबाट सेवन गर्दै निस्कने हो भने शुभ फल प्राप्त हुन्छ ।
६ –यज्ञ वा चाडपर्वमा रक्षासूत्र (रक्षाविधान, मोली आदि) दाहिने हातमा छ फन्का बाँधेमा सूर्यबाट शुभत्व प्राप्त हुन्छ ।
७ – नित्य प्रातःस्नान गर्दा रातो चन्दन मिसाएको पानीले नुहाएमा सूर्यको प्रभाव राम्रो हुन्छ ।
८ – चिनामा सूर्यको महादशा चलिरहेको छ भने सूर्य ग्रहको थप शुभ उर्जा प्राप्त गर्न दैनिक रुपमा पिताको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा उदाउँदो सूर्यको दर्शन गर्ने बानि विकसित गर्नु पर्दछ । किनकी सूर्यलाई पिताको कारक ग्रह मानिन्छ ।
९ – बिहानीपख सूर्य उदाएको १ घडी अर्थात २४ मिनेट भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखि सूर्यलाई अघ्र्य दिँदा लाभ हुन्छ ।
१० – सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गदाए र भगवान शिवको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट भई शुभफल प्राप्त हुन्छ ।
११ – आइतवारका दिन अन्धाश्रम, वृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नाले सूर्य भगवान प्रसन्न हुनुहुन्छ ।
यी व्यवहारिक उपाय इच्छानुसार प्रयोग गर्न सकिन्छ र सूर्यलाई बलवान बनाउन आइतवारको दिन, कृतिका, उत्तराफाल्गुणी वा उत्तरषाढा नक्षत्रमा सूर्यको होरामा अवलम्बन गर्न थालेमा अत्याधिक शुभ फल प्राप्त हुन्छ ।
सूर्य ग्रहको वैदिक र तान्त्रिक शान्तिविधिः
सूर्यको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङख्यामा जाप र दानसामाग्री दान गर्नुपर्दछ ।
वेदोक्त मन्त्र – ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यञ्च । हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन्न ।
पुराणोक्त मन्त्र – जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम् । तमोऽरिं सर्व पापघ्नं प्रणतोऽस्मि दिवाकरम् ।
सूर्य गायत्री मन्त्र – ॐ आदित्याय विद्महे भास्कराय धीमहि तन्नो भानुः प्रचोदयात् ।
तन्त्रोक्त बीज मन्त्र – ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः
लघु बीज मन्त्र – ॐ घृणि सूर्याय नमः
सूर्यार्घ्य मन्त्र – एहि सूर्य सहस्रांशो तेजो राशि जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकरः ।।
सूर्यको जाप संख्या – ७०००
दान सामाग्रीहरूः गहुँ, सक्खर, रातो कपडा, घिउ, सुन, माणिक्य रत्न,तामाको भाँडो, नरिवल, रक्तचन्दन, रातो फूल, मुसुरोको दाल र दक्षिणा ।
सूर्यरत्न – सूर्य ग्रहलाई बलशाली बनाउन माणिक्य रत्न ५ क्यारेटभन्दा माथि, तामा वा सुनको औँठी बनाई आइतवार सूर्यदयको समयमा भगवान सूर्यको पूजा गरी दाहिने हातको काहिंली औँलामा धारण गर्नुपर्छ ।
सूर्य यन्त्र – सूर्यको यन्त्रलाई तामाको पत्र खोप्न लगाएर वा भोजपत्रमा अष्टगन्धले लेख्न लगाएर विधिपूर्वक प्राणप्रतिष्ठा गरी दाहिने हातको पाखुरामा शुभ समयमा धारण गरेमा शुभ फल प्राप्त हुन्छ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया