राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आफूखुशी सार्वजनिक गर्न मिल्दैन : पूर्व शिक्षा मन्त्री तुलाधर

काठमाडौं । पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताएका हुन् । आयोगका अधिकांश सदस्यहरुले आज (शुक्रबार) प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्य समेत रहेका तुलाधरले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वमन्त्री तुलाधरले सरकारले आफ्नो प्रयोजनको निम्ति आयोग बनाएको र आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि आयोगको प्रयोजन नै समाप्त भइसकेको बताए । आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको तस्तै लागू नगर्न पनि सक्ने उनको भनाई छ । आर्थिक व्ययभार बढाउने, जनशक्तिका प्रश्नहरु र अन्य किसिमका समस्यालाई हेरेर सरकारले सार्वजनिक गर्ने विषय भएको बताए ।

सरकारले ४ सय ९८ पृष्ठ लामो प्रतिवेदन बाहिर सार्वजनिक नगरेपनि गत वर्ष ८४ पेज लामो सारांश सार्वजनिक गरिसकेको र त्यसलाई राष्ट्रिय शिक्षा नीतिको मूल दस्तावेजको भावनामा समेटेर सार्वजनिक भएको मान्नुपर्ने बताए । त्यो कुरामा पनि सरकार इमान्दार नभएको भए विरोध गर्न पाइने तर आफुखुशी सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्ने कुरा उपयुक्त नभएको बताए । सरकारले प्रतिवेदन सार्वजनिक नगरेर गल्ती गरेको छ भन्दैमा सदस्यहरुले आफै सार्वजनिक गरेर अर्को गल्ती नगरेको भए राम्रो हुने तुलाधरको भनाइ छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् । २०७५ असार २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले २०७५ पुष २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?