काठमाडौँ, १४ असोज (रासस) । बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिइन । राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि आज टीका लगाइदिएकी छिन । राष्ट्रपति भण्डारीले आज सर्वसाधारणलाई पनि टीका लगाइदिएकी छिन । राष्ट्रपतिले आज दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरूप सर्वसाधारणलाई टीका लगाएकी हुन । टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म नै कार्यक्रम जारी रहने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि बिहान ११ः५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेकी थिइन । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिएकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया