काठमाडौं । संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्ल्युुएफपी)का प्रमुख डेभिड बिस्लीले सन् २०२१ मा सबैभन्दा ठूलो ‘विध्वंशकारी मानवीय संकट देखिनसक्ने’ चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्र संघले कोरोनाका बारेमा आयोजना गरेको बैठकमा सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसंघ स्थापनापश्चात्को ७५ वर्षयताकै ठूलो मानवीय संकट आउनसक्ने बताएका छन् । यतिवेला संसारको ध्यान कोभिड १९ र त्यसले निम्त्याएको आर्थिक संकटबाट मुक्त हुनमा मात्र केन्द्रित भइरहेका वेला विश्वलाई भोकमरीको संकटले गाँज्ने सम्भावना चुलिएको उनको भनाइ छ ।
सन् २०२० मा भएका घटना परिघटनाको प्रत्यक्ष असर सन् २०२१ मा पर्ने र आउँदा दिनहरु झनै विकराल बन्नसक्ने प्रक्षेपण गरेका छन् बिस्लीले । त्यसैले, कोभिड सँगसँगै अब विश्वले भोकमरीको समस्यासँग जुध्न पनि तयार रहनुपर्ने बिस्लीले बताएका छन् ।
‘एड्स, मलेरिया र क्षयरोगको संयुक्तरुप भन्दा खतरनाक छ भोकमरी’
संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार सन् २०१८ मा संसारका ८२.१ करोड मानिस भोकमरीको शिकार हुनुपरेको थियो । जसअनुसार विश्वका हरेक ९ जनामा १ जनाले स्वस्थ रहन, सक्रिय जीवन बाँच्नलाई पर्याप्त खाना नै पाउँदैनन् । फेरि यो तथ्याङ्क बढ्ने क्रममा छ त्यसैले, एड्स, मलेरिया र क्षयरोग संयुक्तरुपमा भन्दा खतरनाक समस्या बनेको छ–भोकमरी ।
संयुक्त राष्ट्रसंघका अनुसार अफ्रिका सबैभन्दा बढी कूपोषण हुने देश हो । जसका करिब २० प्रतिशत जनता कूपोषित छन् त्यस्तै ल्याटिन अमेरिकामा भोकमरीको सङ्ख्या बढ्दै गएको छ । त्यहाँका ७ प्रतिशत जनताले राम्रोसँग खानै पाउँदैनन् । यता पश्चिम एसियाली क्षेत्रमा खानाबाट वञ्चित व्यक्तिहरुको सङ्ख्या सन् २०१० देखि निरन्तर वृद्धि हुने क्रममा छ । यस क्षेत्रका १२ प्रतिशत भन्दा बढी जनता कूपोषित छन् ।
सन् २०१२ मा संयुक्त राष्ट्र संघले ‘जिरो हंगर च्यालेन्ज’ शुरु गरेको थियो । सन् २०३० सम्ममा विश्वका कोही पनि व्यक्तिलाई भोकै हुन नदिने, खाद्य सुरक्षा र पौष्टिक तत्व स्थापित गर्ने, दिगो कृषिलाई उजागर गर्ने उद्देश्यले शुरुवात गरिएको यो अभियान निकट भविष्यमा सफल हुने छाँटकाँट देखिँदैन ।
‘एक्सन अगेन्स्ट हंगर’का अनुसार संसारमा यहाँ भएका सबै मानिसलाई पर्याप्त हुनेगरी खाना उत्पादन हुन्छ तर, ६९ करोड मानिस भोकै बस्नुपर्ने अवस्था छ । विश्वको ८.९ प्रतिशत जनसङ्ख्यालाई प्रभाव पारिरहेको छ भोकमरीले । सन् २०१८ देखि २०१९ सम्ममा कूपोषित हुनेको सङ्ख्या १ करोड वृद्धि भएको थियो ।
यूनिसेफको तथ्याङ्कले देखाउँछ कि ५ वर्षमुनिका बालबालिकाहरुको मृत्यु हुने मूख्य कारण भनेकै कूपोषण हो । अर्थात् कुपोषणका कारण वर्षमा ३० लाख भन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ । अर्थात् हरेक दिन साढे ८ हजार बालबालिकाको मृत्यु हुन्छ ।
कति खाना खेर फाल्छ मान्छे ?
भोकमरी तथा कूपोषणको तथ्याङ्क हेर्दा लाग्न सक्छ ‘ओहो, हामीलाई पर्याप्त हुने खानासमेत उत्पादन नहुने रहेछ संसारमा’ तर, त्यस्तो होइन । ‘एक्सन अगेन्स्ट हंगर’ भन्छ, ‘संसारमा भएका सबै मानिसलाई आवश्यक भएको भन्दा बढी खाना उत्पादन हुँदै आएको छ विश्वमा ।’
त्यसो भए किन करोडौं मान्छे खानै नपाएर स्वास्थ्य संकटमा पर्ने अवस्था सिर्जना हुन्छ ? बाँच्नका लागि चाहिने आधारभूत आवश्यकता
‘खाना’ नपाएर मान्छेले ज्यान गुमाउनुपर्ने किन ?
यसको उत्तरका रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन भन्छ, ‘खानाको अनियमित वितरण ।’
कसैले खेर फाल्ने गरी खाना पाउँछन् कसैले बाँच्नलाई चाहिने खाना समेत पाउँदैनन् । विश्वमा हरेक वर्ष १ सय ३० करोड टन बराबरको खाना खेर फालिनुले यही कुराको पुष्टि गर्छ । यो भनेको उत्पादन हुने समग्र खाद्य समाग्रीको एक तिहाई भाग हो ।
यसरी खेर फालिने खाना उत्पादन गर्नमा विश्वमा भएको कृषिजन्य उर्वर जमिनको २८ प्रतिशत अर्थात् १ सय ४० करोड हेक्टर जमिन प्रयोग भएको हुन्छ ।
खाना खेर फाल्ने प्रवृत्ति विकासोन्मुख राष्ट्रहरु भन्दा पनि विकसित राष्ट्रहरुमा बढी भएको तथ्याङ्कले देखाउँछ ।
अहिले नाश भइरहेको खानाको १ चौथाइ भाग मात्रै बचाउन सक्ने हो भने पनि संसारका ८७ करोड भोका मानिसले खाली पेट सुत्नुपर्ने थिएन ।
राष्ट्रले के गर्नसक्छ ?
आफ्नो देशका जनताको गाँस, बास र कपास सुनिश्चित गर्ने जिम्मेवारी राष्ट्रको हो । त्यसैले, हरेक राष्ट्रले आफ्नो देशमा भोकमरीको समस्या समाधान गरेर खाद्य सुरक्षा स्थापित गर्न कम्तीमा यी कामहरु गर्न सक्छः
- देशमा रोजगारी सिर्जना गर्ने
- खाद्य अधिकार सुनिश्चित गर्ने
- कृषिलाई प्रोत्साहन गर्ने र उचित बजार सिर्जना गरिदिने
- राष्ट्रिय स्तरबाटै खाना खेर नफाल्ने सचेतना फैलाउने अभियान सञ्चालन गर्ने
- बालबालिकाहरुको गाँस, बास, कपास र शिक्षा, स्वास्थ्य, सुरक्षाको जिम्मेवारी उठाउने
- स्थानीय उत्पादन र साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने
- संयुक्त राष्ट्र संघका कृषि, खाद्य, बालबालिका, स्वास्थ्य लगायतका क्षेत्रसँग सम्बन्धित संगठनहरुले प्रदान गरेको अनुदान, आर्थिक सहयोगको उचित परिचालन गर्ने
व्यक्तिगत स्तरबाट हामीले के गर्न सक्छौंः
करोडौं टन खाना नाश हुनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हरेक व्यक्ति जिम्मेवार हुनसक्छ ।
चाहिने भन्दा बढी खाद्यान्न खरिद गर्ने, पस्किएको खाना खेर फाल्ने जस्ता सामान्य दैनिक गतिविधिले समेत दिर्घकालीन असर (लङ टर्म इफेक्ट) पु-याइरहेको हुन्छ । त्यसैले हामीले आफ्नो तर्फबाट कम्तीमा यी कामहरु गर्नसक्छौँ :
- दैनिक खाने खानाको मात्रा निर्धारण गर्ने र त्यति नै खाने, खेर नफाल्ने
- खाएर बचेको खानालाई भण्डारन गरेर फेरि
- घरका सबैजनालाई खाना खेर फाल्ने बानी नगर्न सुझाउने/आग्रह गर्ने
- अनावश्यक खाद्य सामाग्री भण्डारन नगर्ने
- बजारमा कृत्रिम अभाव सिर्जना गरेर खाद्य सामाग्रीको मूल्य बढाउने काम नगर्ने
- सकिन्छ भने गरिब, निमुखालाई खाद्य सामाग्री दान गर्ने ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया