कोरोना संक्रमणमुक्त भएपनि खोप लगाउनु पर्छ ? अनुसन्धानपछि विज्ञको निष्कर्ष यस्तो

गत महिनाको अन्त्यतिर फाइजर र मोडेर्नाले प्रयोगात्मक खोपको परिणाम सार्वजनिक गर्दै गर्दा सिनेटर  र्‍यान्ड पलले एक विचारोत्तेजक ट्वीट लेखे ।

रिपब्लिकन अफ केन्टुकी तथा प्रशिक्षित नेत्र रोग विशेषज्ञ पलले फाइजर र मोडेर्नाका नयाँ खोप क्रमशः ९० प्रतिशत र ९४.५ प्रतिशत प्रभावकारी रहेको र एकपटक कोभिड १९ लागिसकेपछि त्यसबाट ‘प्राकृतिक रूपमा प्राप्त’ इम्युन रेस्पोन्स भने ९९.९९८२ प्रतिशत प्रभावकारी हुने दाबी गरे ।

‘उनको यस्तो अभिव्यक्तिले कोरोना संक्रमणलाई सबैले सामना गर्न सक्छन् त भन्ने प्रश्न उब्जाएको छ,’ युनिभर्सिटी अफ टोरोन्टोकी इम्युनोलोजिस्ट जेनिफर गोमरम्यानले भनिन्, ‘अरू सबै कुरालाई थाँती राखेर भन्ने हो भने खोपको सट्टा संक्रमणलाई रोज्नु भनेको एकदमै नराम्रो निर्णय हो ।’

‘खोपको मूख्य फाइदा भनेकै यसको प्रभावकारिता र सुरक्षा हो,’ उनले भनिन्, ‘यस्ता खोपहरुलाई शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न अनुकुल बनाइएको हुन्छ ।’

तर हामीलाई कोभिडबाट प्राकृतिक रूपमा प्राप्त इम्युन रेस्पोन्स र मानवनिर्मित खोपले प्रदान गर्ने प्रतिरोधात्मक क्षमताको तुलनात्मक नतिजाका बारेमा थाहा छ त ? यदि कुनै व्यक्तिलाई एकपटक कोभिड भइसकेको छ भने फेरि खोप लगाउनुपर्छ कि पर्दैन ? यस विषयमा विभिन्न विज्ञसँगको छलफलमा सोधिएका प्रश्न र प्राप्त उत्तरहरुः

कुनले प्रभावकारी प्रतिरोध प्रतिक्रिया उत्पादन गर्छः खोप कि संक्रमण ?

यसको उत्तर यकिनसाथ भन्न नसकेपनि अनुसन्धानकर्ताहरुका अनुसार कोभिड १९ विरूद्धका खोपहरु सुरक्षित हुन्छन् र रोगबाट पनि बचाउँछन् ।

कुनै रोगजन्य भाइरस वा कीटाणुविरूद्ध लगाइने खोपले शरीरले प्राकृतिक रूपमा प्रदान गर्ने इम्युन रेस्पोन्स (प्रतिरोध प्रतिक्रिया) भन्दा राम्रो इम्युनिटी बढाइरहेको हुन्छ । हालसालै प्राप्त तथ्यहरूका अनुसार मोडेर्नाको भ्याक्सिन लगाएका स्वयंसेवकको शरीरमा एकपटक कोभिड भइसकेका व्यक्तिभन्दा बढी प्रतिरोधात्मक क्षमता भएको पाइएको थियो ।

यद्यपि, केही अवस्थामा भने प्राकृतिक संक्रमणबाट खोपभन्दा बढी प्रतिरोधात्मक क्षमता प्राप्त हुने गरेको छ । उदाहरणका लागि हाडे रोगलाई पनि लिन सकिन्छ । पुरूषहरुमा बाँझोपन समेत निम्त्याउन सक्ने यस रोगले प्राकृतिक रुपमा जीवनभरिका लागि प्रतिरोधात्मक क्षमता विकास गर्न सक्छ । तर, यसविरूद्धको खोपको प्रयोग गरेपछि भने पुनःसंक्रमण भएका घटनाहरू प्रशस्तै छन् ।

पलका अनुसार कोरोना भाइरसबाट प्राप्त हुने प्राकृतिक प्रतिरोधात्मक क्षमता धेरै नै शक्तिशाली छ । प्राय संक्रमितहरुले यो एन्टीबडीको विकास गर्दछन् र पुनः कोरोना संक्रमण हुनबाट बच्दछन् । अहिलेसम्म प्राप्त भएका तथ्यहरूले यस्तो इम्युनिटी वर्षौंसम्म पनि रहने र गम्भीर संक्रमणहरुबाट बचाउने पुष्टि गरेका छन् ।

‘जसलाई सामान्य प्रकारको संक्रमण भएको हुन्छ त्यस्ता व्यक्तिको शरीरमा रहेको एन्टिबडीले पुनः संक्रमण हुनबाट केही महिनामात्र बचाउन सक्छन् । यस्तो अवस्थामा भने खोप अझै प्रभावकारी हुन्छ,’ हार्वार्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थका इपिडेमियोलोजिस्ट बिल ह्यानेज भन्छन् ।

हाम्रो शरीरमा कस्तो किसिमको रोग प्रतिरोधात्मक क्षमता छ भन्ने कुरा हाम्रो शरीरभित्र रहेका भाइरसका प्रकारले पनि निर्धारण गरिरहेको हुन्छ । ‘सबैलाई एकै मात्रामा खोप लगाइन्छ भन्ने हामीलाई थाहा छ र त्यो मात्रा प्रतिरोधक क्षमता तयार पार्न पर्याप्त हुन्छ,’ डा. गोमरम्यान भन्छन्, ‘त्यसैले खोपको प्रयोग गरिसकेपछि संक्रमण रहँदैन ।’

म जवान छु, स्वस्थ छु र कोरोनाबाट हुनसक्ने जोखिम पनि कम छ भने संक्रमण भएर प्राकृतिक प्रतिरोधक क्षमता विकास हुनु उपयुक्त होला । किन हतारमा खोप लगाउने ?

सबै विज्ञहरुले यो प्रश्नको उत्तर एउटै दिए– कोरोना संक्रमण भएर प्रतिरोधक क्षमता विकास हुनु भनेको असाध्यै खतरनाक विकल्प हो । सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनकी रोग प्रतिरोधी विज्ञ मारियन पेपर भन्छिन्, ‘प्राकृतिक प्रतिरोधक क्षमता विकासका लागि संक्रमण भएर निको हुनु भन्दा अर्को विकल्प नै कम जोखिमपूर्ण छ ।’

धेरै मोटाघाटा वा मधुमेहजस्ता रोग लागेकाहरुको हकमा कोरोना असाध्यै जोखिमपूर्ण बन्न सक्छ । तर, उमेरदारी, जवान व्यक्तिहरुको हकमा भने यो भाइरस कम जोखिमपूर्ण देखिन्छ । त्यसैगरी कोरोनाबाट महिला भन्दा पुरुष बढी जोखिममा रहेको पाइएको छ । यद्यपि, कसैलाई रोगको लक्षणसमेत नदेखिने अनि कसैलाई चाहिँ मृत्युको मुखसम्म पु¥याउने किन भएको भनेर चिकित्सक तथा अनुसन्धानकर्ताहरु आफै पनि अनविज्ञ छन् ।

तुलनात्मक रूपमा कम उमेर भएका र महिलाहरूमा संक्रमणको जोखिम कम देखिएको छ तर मधुमेहजस्तो रोग लागेका व्यक्तिका लगि यो निकै नै घातक हो । १८-३४ वर्षका करिब ३ हजारभन्दा बढी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमा गरिएको एक अध्ययनका अनुसार २० प्रतिशत संक्रमितलाई आइसियूमा भर्ना गर्नुपरेको थियो भने तीमध्ये जम्मा ३ प्रतिशत संक्रमितको ज्यान गएको थियो । तर, आफू कोभिड १९ को जोखिममा नभएतापनि हाम्रो परिवार, साथीभाइ वा हाम्रो नजिक रहने सबैलाई यसको जोखिम हुन्छ ।

कोरोनाबाट निको भएकाहरुले पछिसम्म पनि शारीरमा स्वास्थ्य समस्या देखापर्ने गुनासो गर्ने गरेका छन् । थकान महशुस हुने, मुटुको धड्कन तेज हुने जस्ता लक्षण पछि सम्म देखिने गुनासो हरेक ३ जनामा १ जना कोरोनाबाट मुक्त भएकाहरुले गर्ने गरेका छन् ।
‘तर, कोभिडविरूद्धका भ्याक्सिनहरूको प्रयोगबाट धेरै नै कम जोखिम हुने गर्छ । त्यस्ता भ्याक्सिनहरू दशौं हजार मानिसमा परीक्षण गरेर उनीहरूमा कुनै प्रकारको नकारात्मक असर नदेखिएपछि मात्र संक्रमितलाई लगाइने गरिन्छ,’ डा ह्यानेज भन्छन्, ‘लाखौंमा लगाइएको भ्याक्सिनका साइड इफेक्ट ज्यादै कममा मात्र देखा पर्ने गर्छ । तर प्राकृतिक संक्रमणबाट देखापर्ने जोखिमभन्दा भ्याक्सिनको प्रयोगबाट धेरै नै कम जोखिम देखापर्ने हुन्छ ।’

मलाई कोरोना संक्रमित भइसकेको छ । के अब मैले खोप लगाउनु उचित हुन्छ ? यदि हुन्छ भने, कहिले लगाउनु उपयुक्त हुन्छ ?

विज्ञ भन्छन्, ‘यो एकदमै सुरक्षित हुन्छ र, सम्भवत फाइदाजनक पनि ।’

‘एकपटक संक्रमण भइसकेको व्यक्तिले त्यसविरुद्धको खोप लगाउनमा कुनै हानी छैन,’ डा.पेपर भन्छिन्, ‘यसो गर्नाले पहिला भइरहेको प्रतिरोधात्मक क्षमता झन् अभिवृद्धि हुन्छ ।’

डा. पेप्परको समूहले गरेको अध्ययनअनुसार संक्रमणपछिका केही महिनाभित्रै शरीरले इम्युन रेस्पोन्स विकसित गर्न थाल्छ । त्यसैले, एकपटक कोरोना संक्रमण भइसकेका व्यक्तिलाई भने त्यो समयलगत्तै पुनःसंक्रमण हुने जोखिम निकै कम हुन्छ ।

‘हामीले कोरोनाबाट निको भएका व्यक्तिहरुमा इम्युन रेस्पोन्स विकास नभएको कोही देखेनौं,’ उनले भनिन्, ‘त्यसैले त्यस्ता व्यक्तिहरूले संक्रमण नभएकाहरुको तुलनामा धेरै हतार गरेर भ्याक्सिन लगाउनु पर्दैन ।’

गत बुधबार भएको एक बैठकमा खोपको वितरणका बारेमा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनलाई सुझाव दिने एडभाइजरी कमिटी अन इम्युनिजेसन प्राक्टिसेस (एसिआइपी)ले कोरोना निको भएर ९० दिन नकटेका व्यक्तिलाई भन्दा कोरोना संक्रमण नै नभएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोभिड विरूद्धको खोप लगाउनुपर्ने सुझाव दिएको छ ।

‘निकट भविष्यमा हामीले कोरोना निको भएका व्यक्तिलाई निको भएको ९० दिनभित्र पुनः संक्रमण हुन्छ कि हुँदैन भन्ने बारे पत्ता लगाउनुपर्ने छ,’ डा.मलडोनाडोले भने, ‘अहिले थोरै मात्र खोप बनेकाले कोरोना नलागेकालाई भन्दा अघि निको भएका व्यक्तिलाई खोप लगइहाल्नुपर्ने खासै आवश्यकता छैन ।’

(न्यूयोर्क टाइम्सबाट अनुवादित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?