आज बालाचर्तुदशी, पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै

काठमाडौं । मंसिर कृष्ण चर्तुदशी अर्थात आजकै दिन आफ्ना परिवार भित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शिवालय वरिपरि धान,जौ,तिल,गहुँ,चना,मकै, कागुनो र मिश्रित सतविज छर्ने चलन छ ।

शिवालय वरिपरि सतविज छर्नाले पितृहरु तृप्त हुने, अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । यसका साथै शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास पनि रहेकोछ । शतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने शास्त्रमा बताईएकोछ ।

आजकै दिन पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ । यसैक्रममा दिवङ्गत पीतृहरुको नाममा दीपदान गर्न लाखौं भक्तजनहरु पशुपति लगाएत देशभरका शिव मन्दिरहरुमा जम्मा हुन्छन् ।

दीपदान गरी बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ । अघिल्लो दिन दियो,कलश गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । त्रयोदशीको रात्रीमा शिवमन्दिर वा देवालयमा दियो बालेर पितृहरुको उद्दारका लागि जाग्राम बसिन्छ । मातापिताको मृत्यु भएको एक वर्ष भएको छैन भने पनि सेतो कपडामा पनि पितृको नाममा दियो बालेर जाग्राम बस्नु पर्दछ । मृतात्मालाई धूममार्ग वा अध्यारो मार्गबाट उज्यालो मार्गतर्फ गमन गराउनका लागि दियो बालिन्छ । बाला चतुर्दशीमा छरेको सतबीज पितृहरुले पाई आन्तरिक अन्धकार हटाएर नकारात्मक सोच,घृर्णा,ईष्र्या आदिबाट पितृहरुले मुक्र गर्दछन् भन्ने धार्मिक मान्यता रहेकोछ । आफ्नो भलाई,पितृहरुको उद्धार र आफ्ना सन्ततीहरुको कल्याणका लागि १०० प्रकारका बीउहरु छर्नुपर्दछ भन्ने मान्यता रहेकोछ ।

नकारात्मक कर्मबाट व्याक्तिलाई विस्तारै विनास तिर लैजानेछ । त्यसैले सकारात्मक सोच अनि कर्मबाट जीवनलाई प्रगति पथमा लैजान सकिन्छ र पितृहरुको आशिर्वाद सकारात्मक सोच्ने र शुभ कर्म गर्नेहरुलाई प्राप्त हुन्छ । त्यसैले शिव मन्दिर वा शिवालयमा १०० प्रकारका बीउहरुलाई पवित्र क्षेत्रमा छर्नु भनेको १०० वटा सत्कर्मले आफूलाई पवित्र पार्नु हो ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?