लकडाउनकोबीच ‘जुम’का सिईओको सफलताः प्रेमिकासँगको दूरी छोट्याउन चाहँदा फुरेको थियो विश्वले चिन्ने आइडिया

अमेरिकाले ८ पटक भिसा ‘रिजेक्ट’ गरेको थियो

कोरोना महामारीका कारण अहिले विश्व आक्रान्त बनेको छ । स्वास्थ्य मात्र होइन आर्थिक, सामाजिक, शैक्षिक, पर्यटन, विकास लगायत हरेक क्षेत्रलाई कोभिड १९ भाइरसले थिलथिलो बनाइदिएको छ । संसारभरका धेरैजनाले ज्यान गुमाएका छन् । बाँचेका धेरैजनाले जागिर गुमाएका छन् । कतिपयको जीवन नै अन्यौलतामा अल्झिएको छ ।

यही अस्तव्यस्तताका बीच एरिक युआनले भने नयाँ पहिचान पाएका छन् । एरिक सुब्रहा युआन अर्थात् विश्वप्रसिद्ध भिडियो कम्युनिकेसन एप ‘जुम’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत । उनी यस वर्ष पहिलो पटक फब्र्स म्यागजिनको अर्बपतीको सूचीमा पर्न सफल भएका छन् । सन् १९७० मा चीनको शानडोंगमा जन्मिएका एरिकको नाम अहिले विश्वका धनाढ्य व्यक्तिहरुसँगै लिन थालिएको छ ।

फब्र्सले सावर्जनिक गरेको अमेरिकाका ४०० धनाढ्य व्यक्तिहरुको सूचीमा एरिक ४३ औं स्थानमा परेका छन् । फब्र्सका अनुसार उनी १७.४ बिलियन डलर्सका मालिक हुन् ।

तस्वीरः गुगल

प्रेमिकासँगको दूरी छोट्याउन चाहँदा फुरेको त्यो आइडिया

चीनको शानडोंग प्रान्तको ताइआन शहरमा जन्मिएका एरिकले सानै छँदादेखि नै व्यापारी बन्ने लक्षण देखाइसकेका थिए । उनी निर्माणकार्य भइरहेका ठाउँहरुबाट फलाम, तामा आदिका नचाहिने टुक्रा भेला पारेर बेच्थे ।

एरिकका अभिभावक भूविज्ञान इन्जिनियर थिए । त्यसैले गर्दा उनमा सानैबाट विज्ञान तथा प्रविधिको गहिरो छाप परिसकेको थियो ।

स्नातक तहको पहिलो वर्षमा अध्ययन गर्दैगर्दा आफ्नी ‘लङ्ग डिस्टेन्स गर्लफ्रेन्ड’ अर्थात् टाढा बस्ने प्रेमिकालाई भेट्न १० घण्टाको रेलयात्रा गर्नुपरेकाले उनले त्यहीवेला ‘भिडियो टेलिफोनी’ सफ्टवेयरको विकास गर्ने योजना बनाएका थिए । फब्र्ससँगको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘म त्यसवेला त्यस्तै १८,१९ वर्षको थिएँ । मेरी प्रेमिकासँग वर्षमा जम्मा २ पटक मात्र भेट्न पाउँथे त्यसमाथि १० घण्टा लामो रेलयात्रा गरेर । त्यहीवेला म कल्पना गर्थें यदि एक क्लिकमै उसलाई देख्ने, कुरा गर्न पाउने किसिमको कुनै यन्त्र भए कति जाति हुन्थ्यो ।’
तिनै प्रेमिकासँग विवाह भएर अहिले उनका तीन छोराछोरी छन् ।

अप्लाइड म्याथमा स्नातक गरेका एरिकले कम्प्युटर एप्लिकेसनको अध्ययन पनि गरेका छन् । स्नातकोत्तर भने उनले भूविज्ञान इन्जिनिरयरिङ विषयमा पूरा गरे ।

तस्वीरः गुगल

आठ पटक भिसा ‘रिजेक्ट’ भएपछि बल्ल पुगे सपनाको देश अमेरिका

स्नातकोत्तर पूरा गरेपछि उनी चीनको राजधानी बेइजिङमा बस्न थाले ।

बिल गेट्सबाट अत्यन्तै प्रभावित एरिकलाई सपनाको देश अमेरिका जानु थियो । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा अवस्थित विश्वको ‘टेक हब’ सिलिकन भ्यालीमा प्रवेश गर्नु थियो । यही सपनालाई साकार पार्न उनले ८ पटकसम्म अमेरिकाको भिसाको लागि रिजेक्ट हुनुप-यो । ९ औं पटकमा बल्ल भिसा पाएका उनी सन् १९९७ मा सिलिकन भ्याली प्रवेश गरे ।

अमेरिका पुगेपछि उनले ‘वेबएक्स’ नामक वेब कन्फेरेनिसङ कम्पनीमा काम गर्न शुरु गरे । सो कम्पनीलाई सन् २००७ मा सिस्को सिस्टम्सले खरिद ग-यो । सिस्को सिस्टम्सकै नेतृत्व रहिरहँदा उनले मोबाइल फोनमैत्री भिडियो कन्फेरेनस सफ्टवेयरको आइडिया प्रस्तुत गरे जसलाई कम्पनीले ठाडै अस्वीकार गरिदियो ।

यस घटनापछि उनले जागिर छोडेर आफ्नै कम्पनी स्थापना गर्ने अठोट लिए र स्थापना गरे, जुम भिडियो कम्युनिकेसन्स । उनले परिवार, आफन्त, साथीभाइबाट ऋण लिएर कम्पनी स्थापना गरेको द फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा बताएका छन् ।

‘प्रतीक्षाको फल मीठो हुन्छ’

एरिक युआनको जीवनले एउटा कुरा के सिकाउँछ भने, ‘समय भन्दा अघि केही कुरा प्राप्त हुँदैन’ अर्थात् कर्म गर्दै जानुपर्छ फल समय आएपछि अवश्य प्राप्त हुन्छ ।

एरिकले यतिसम्म ‘रिजेक्सन’ झेल्नुपरेको थियो कि उनले आफ्नो फोनको स्क्रिनसेभर नै ‘इट कान्ट बि डन’ अर्थात् ‘यो गर्नै सकिँदैन’ भनेर राखेका थिए । र, त्यसैलाई हेर्दै उनी घण्टौंसम्म काम गर्थे । कम्पनीको शुरुवाती चरणमा उनी सबै विभागमा काम गर्न भ्याउँथे । यहाँसम्म कि उनी आफ्ना सेवाग्रहीलाई समेत आफै इमेल गर्थे ।

यतिको मिहिनेत र समर्पणपश्चात् उनले विद्यार्थी छँदा देखेको सपनाले बल्ल मूर्तरुप पाएको छ ।

तस्वीरः गुगल

सन् २०१९ मा जुम एक सार्वजनिक कम्पनी बन्यो । कम्पनीको नाम र मार्केट भ्यालु(दाम) भने कोरोना महामारीका कारण विश्वमा लकडाउन शुरु भएपछि एकाएक चुलियो । कार्यालयको बैठक होस् या विद्यालयको अनलाइन कक्षा सञ्चालन केही महिना यता जुम एपको प्रयोग पहिले भन्दा सयौं गुणा बढी हुन थालेको छ । सामसुङ, उबर, वालमार्ट लगायत जुमका ३० हजार भन्दा बढी कर्पोरेट ग्राहकहरु छन् । बिज्नेस इनसाइडरका अनुसार यही डिसेम्बर देखि जुमको प्रयोग दर १९०० प्रतिशतले बढेको छ । त्यस्तै, यसको शेयर मूल्य ३५५ प्रतिशतले बढेको छ ।

ब्लुमवर्गले सार्वजनिक गरेको विश्वका ५०० सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा उनी ८५ औं स्थानमा पर्दछन् जबकि सन् २०२० अघि उनी त्यस सूचीको आसपास समेत कहिल्यै परेका थिएनन् ।

***

एरिकको सफलताले मानिसलाई एउटा गहिरो पाठ के सिकाउँछ भने जतिसुकै कठिन समयमा पनि केही न केही अवसर लुकेको हुन्छ । संसारका धेरै मानिस अहिले बेरोजगार छन्, कतिले हुँदाखाँदाको जागिर समेत गुमाएका छन् । तर, एउटा बाटो बन्द भयो भन्दैमा हिँड्नै बन्द गर्नु भएन ।

कोरोना महामारीले धेरै अवसरहरुमा पूर्णविराम लगाइदिएको छ । तर, यसले केही अवसरहरु जन्माएको पनि छ । यस महामारीले मास्क, स्यानिटाइजर, पञ्जा लगायत स्वास्थ्य सामाग्रीहरुको आवश्यकता बुझाएको छ । स्वास्थ्यको महत्व बुझाएको छ । अनि इन्टरनेटमार्फत् नौला कामहरु गर्न सकिने कुरा पनि प्रष्ट्याएको छ । त्यसैले, आगामी दिनमा उद्योग तथा उत्पादनको क्षेत्र, इन्टरनेटमार्फत् गर्न सकिने व्यवसाय वा कामहरुको अत्यन्तै बढी माग हुनेछ । एरिकको यो लोभलाग्दो सफलताबाट किन केही नसिक्ने ?

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?