काठमाडौं । बिहान नबोली स्नान गरी मनाइने सोमवारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।
आज परेको सोमवारे औँसी यस वर्षको दोस्रो सोमवारे औँसी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमवारे औँसी पर्ने गरेको बताउँछन् । वि.सं २०७७ मा पनि गत साउन ५ गते सोमवारे औँसी परेको थियो । आगामी चैत ३० गते पनि सोमवारे औँसी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए ।
सोमवारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए। औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमवार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरूपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रहिआएको छ ।
माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमवार परेको औँसी विशेषरूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया