कोरोनाविरुद्धको खोप : धनी देशलाई ओखाइपोखाइ, गरिब देशलाई के ?

निम्न आय भएको देशका १० जनामध्ये १ ले मात्र खोप पाउने

काठमाडौं – अहिलेसम्म (यो सामाग्री तयार पार्दा) ‘कोभिड – १९’ बाट विश्वका ७ करोड २७ लाख २२ हजार ८ सय ७० जना संक्रमित भइसकेका छन् भने १६ लाख २० हजार ६ सय २ जनाले ज्यान गुमाइसकेका छन् ।

संसारभरि महामारीका रुपमा फैलिएको यस रोगबाट बच्नलाई सबैको आश अहिले एउटै कुरामा अडिएको छ । त्यो हो, कोरोनाविरुद्धको खोप । केही खोप परीक्षणबाट पास भइसकेका छन् भने केही अन्तिम चरणको ट्रायल पूरा गर्ने क्रममा छन् । जे होस् अब चाँडै नै विश्वले कोरोनाविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्नेछ भनेर मानिसहरु आशावादी भइसकेको अवस्था छ । यद्यपि, ती खोपहरुमा विकासशील वा आर्थिक रुपमा कमजोर राष्ट्रहरुको पहुँचका बारेमा भने विश्वव्यापी बहस हुँदै आएको छ ।

द पिपल्स भ्याक्सिन अलायन्सका अनुसार करिब ७० वटा निम्न आय भएका राष्ट्रहरुले आफ्नो देशको हरेक १० जनामा १ जनालाई मात्र कोरोनाको खोप प्रदान गर्नसक्छन् ।

तस्वीरः बीबीसीबाट

अक्सफर्ड एस्ट्राजेनेकाले आफूले बनाएको खोपको ६४ प्रतिशत विकसशील मुलुकलाई प्रदान गर्ने प्रतिवद्धताका बावजुत पनि त्यस्ता राष्ट्रहरुमा सबैले खोप पाउने सम्भावना अति नै न्यून छ । गरिब देशहरुको पनि खोपमा समान पहुँच पुग्नुपर्छ भनेर विश्वभरि बहस भइरहेको छ ।

कोभ्याक्स नामक खोप प्रतिबद्धताले ९२ वटा निम्न आय भएका राष्ट्रहरुमा वितरण गर्नका निमित्त ७ सय मिलियन खोपको बन्दोबस्त गरेको छ । यसका बावजुत पनि एम्नेस्टी इन्टरनेसनल, अक्सफ्याम र ग्लोबल जस्टिस नामक संस्थाहरुको सञ्जाल, द पिपल्स भ्याक्सिन अलायन्स भन्छ, ‘खोप पर्याप्त हुँदैन । औषधि उत्पादक कम्पनीहरुले समन्वय गरेर बढी भन्दा बढी खोप उत्पादन गर्नुपर्छ ।’

अलायन्सका अनुसार यदि सबै खोप स्वीकृत हुने हो भने विकसित तथा धनी राष्ट्रहरुले आफ्नो सम्पूर्ण जनसङ्ख्यालाई ३ पटकसम्म लगाउन पुग्ने गरी खोपको व्यवस्था गरिसकेका छन् । उदाहरणका लागि क्यानडाले आफ्ना प्रत्येक नागरिकलाई ५ पटकसम्म लगाउन पुग्ने गरी खोप किनिसकेको छ ।

तेस्रो चरणको परीक्षणमा रहेका ८ वटा खोप उत्पादकहरुबाट संकलन गरिएको तथ्याङ्क अनुसार विश्वको कूल जनसङ्ख्याको १४ प्रतिशत मात्रै प्रतिनिधित्व गर्ने धनी राष्ट्रहरुले ५३ प्रतिशत खोप किनिसकेका छन् ।

अक्सफ्यामकी स्वास्थ्य नीति व्यवस्थापक एना मेरियट भन्छिन्, ‘कुनै व्यक्तिको गोजीमा भएको दाम वा ऊ जन्मिएको देशको आर्थिक स्थितिको आधारमा उसलाई खोप प्रयोग गर्नबाट वञ्चित गर्नु अत्यन्तै गलत हो । ‘तर, अकास्मात् यदि केही चमत्कार नहुने हो भने, अझै केही वर्षसम्म संसारभरिका खर्बौं मानिसलाई पुग्ने गरी खोप चाहिँ उपलब्ध भइसकेको हुँदैन ।’

द पिपल्स भ्याक्सिन अलायन्सले कोभिड १९ को खोपका क्षेत्रमा काम गरिरहेका सम्पूर्ण फार्मासिउटिकल कर्पोरेशनहरुलाई आफ्ना प्रविधि र बौद्धिकता साझा रुपमा प्रयोग गरेर जतिसक्दो धेरै खोप उत्पादन गर्न आग्रह गरेको छ । यो काम विश्व स्वास्थ्य संगठनको सहयोग मार्फत् गर्न सकिन्छ ।

तस्वीरः बीबीसीबाट

द फाइजर–बायोटेक भ्याक्सिनले बेलायतमा स्वीकृति पाइसकेको छ । र, जोखिमपूर्ण अवस्थामा रहेकाहरुलाई त खोप लगाउन शुरु पनि भइसक्यो । यूरोप र अमेरिकामा पनि चाँडै नै यो खोप स्वीकृत हुने सम्भावना छ ।
त्यस्तै, मोडेर्ना र अक्सफर्ड एस्ट्राजेनेका नामक दुई खोप पनि केही राष्ट्रहरुमा नियामक स्वीकृतिका लागि प्रतीक्षारत अवस्थामा रहेका छन् ।

यता अलायन्सका अनुसार मोडेर्नाको लगभग सबै खोप र फाइजर बायोटेकको ९० प्रतिशत डोज विकसित राष्ट्रहरुले ओगटिसकेका छन् ।
एस्ट्राजेनेका, अक्सफर्ड विश्वविद्यालयले विकास गरेको कोभिड १९ विरुद्धको खोप उत्पादन गरिरहेको कम्पनीले विकसशील मुलुकहरुमा नाफा नकमाउने हिसाबले सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।

यो खोप तुलनात्मक रुपमा सस्तो छ र फ्रिजको तापक्रममा भण्डारन गर्न मिल्ने भएकाले विश्वभर जहाँ पनि वितरण गर्न सहज हुनेछ ।
यसका बावजुत एस्ट्राजेनेकाले आउँदो वर्षसम्ममा विश्वको कूल जनसङ्ख्याको १८ प्रतिशतलाई मात्र पुग्ने खोप उत्पादन गर्नसक्छ । यसले पनि प्रष्ट्याउँछ कि एउटा मात्र कम्पनीको प्रयासमा संसारलाई धान्ने खोप उत्पादन हुनै सक्दैन ।

रसियाको स्पटनिक खोपले पनि परीक्षणमा सकारात्मक नतिजा देखाइरहेको छ र बाँकी ४ खोपहरु अन्तिम चरणको परीक्षणमा रहेका छन् ।

तस्वीरः बीबीसीबाट

यसैबीच, बेइजिङमा आधारित बायोफार्मासिउटिकल कम्पनी सिनोवाकको कोभिड १९ विरुद्धको खोप ‘कोरोनाभाक’ सामूहिक खोप अभियानका लागि इन्डोनेसिया आइपुगेको छ । यद्यपि यसको अन्तिम चरणको परीक्षण भने अझै पूरा भइसकेको छैन । कम्पनीले टर्की, ब्राजिल र चिलीसँग पनि सम्झौता गरिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो पढ्नुभएको थियो ?

कोरोना संक्रमणमुक्त भएपनि खोप लगाउनु पर्छ ? अनुसन्धानपछि विज्ञको निष्कर्ष यस्तो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?