बढ्यो जाडो, यसरी अपनाऔँ सावधानी

खोइ सरकारको पूर्वतयारी ?

काठमाडौं । केही दिन यता चिसो निकै बढेको छ ।

तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखा बताउँछ ।

पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसम पूर्वानुमान अनुसार बुधबार(आज) दिउँसो प्रदेश नं १, प्रदेश २ तथा गण्डकी प्रदेशका स्थानहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राति भने देशभरिको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

बढेको चिसोका कारण निम्न आय भएकाहरुको जीवन सकसपूर्ण बनेको छ । विशेषगरी तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्नाले त्यहाँको जनजीवन कष्टकर बनाएको छ । शीतलहरले गरिब तथा दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । त्यस वर्गमा पनि वृद्धवृद्धा, बालबालिका तथा महिलालाई झनै बढी समस्या भएको छ । न्यानो कपडा, ओढ्ने, ओछ्याउनेको अभावमा कतिले कठांग्रिएर अकालमै ज्यान गुमाएको घटना हरेक वर्ष दोहोरिरहन्छ । तर, खै सरकारको पूर्वतयारी ? समृद्धिको सपना बाँड्ने सरकारले न्यानो नाना, खाना र छाना चाहिा जनतासम्म पु-याउन सकेको छैन ।

जनता भन्छन्, ‘दुई छाक खान धौधौ परेको वेला कहाँबाट पाउनु न्यानो लुगा ?’

फेरि जाडो महिना भन्नासाथ सामान्य मानिसको स्वास्थ्यलाई पनि अलि जोखिम नै हुन्छ । टाइफाइड, निमोनिया, मुटुको रोग, नसाको रोग आदिजस्ता रोगहरु झन् बल्झिन्छन् यस मौसममा ।

यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने ?

जाडो याममा छिट्टै श्वासप्रश्वासको समस्या र छातीमा संक्रमण हुने भएकाले निमोनिया, दम आदिजस्ता रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सहप्राध्यापक डा. निरज बमका अनुसार शिक्षण अस्पताल नेपालमै सबैभन्दा बढी शैया भएको अस्पताल हो र यहाँ भर्ना हुने बिरामीमध्ये सबैभन्दा बढी बिरामीहरु दम या फोक्सोका रोगी छन् । यसै त प्रदूषणले दपेटेको काठमाडौंमा झन् चिसो बढ्दै गएको हुनाले निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोगका बारेमा सबैजना सतर्क हुनु आवश्यक भएको उनी बताउँछन् ।

रसिलो फलफूलले चिसो लागेर फोक्सोमा असर गर्छ ?

डा.बम भन्छन्, ‘गर्दैन । यो मौसममा सन्तला, ज्युनार, भोगटे आदिजस्ता रसिला फलहरु फल्छन् । तिनको सेवनले चिसो लाग्ने, फोक्सोमै असर गर्ने भन्ने हुँदैन । हामी त झन् ताजा फलफूल र सागसब्जीको अत्याधिक सेवन गर्नुपर्छ भन्ने सल्लाह दिन्छौं । फ्रिजमा राखेको फलफूलहरु चाहिँ नखाएकै राम्रो । फलफूल मात्र होइन जाडो महिनामा सकेसम्म फ्रिजमा राखिएको केही पनि नखाएकै राम्रो ।

कसरी बच्ने फोक्सोसम्बन्धि रोगबाट ?

त्रि.वि शिक्षण अस्पतालको पल्मोनोलोजी एवम् क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा.निरज बमका अनुसार निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोग लाग्न नदिने उपायहरु यसप्रकार छन् :

न्यानो कपडा लगाउने, मनतातो पानी मात्र पिउने

अनिवार्य मास्कको प्रयोग गर्ने

मध्यपान, धुम्रपान त्याग्ने

धुवाँधुलोबाट सकेसम्म टाढा रहने

शारीरिक सरसफाइमा ध्यान दिने

खाना खानु अघि साबुनपानीले राम्रोसँग हात धुने

हाइ प्रोटिन डाइट सेवन गर्ने

फोक्सोका लागि छुट्टै व्यायामहरु छन् त्यसको अभ्यास गर्ने

बालबालिकाका निम्ति सरकारले सुझाएको सबै खोपहरु समयमै दिने

जाडो महिनामा रुघाखोकी, निमोनिया, टाइफाइड, फोक्सोसम्बन्धि रोग मात्र नभएर मुटु रोगको जोखिम पनि उत्तिकै हुन्छ । विज्ञहरुका अनुसार गर्मीमा भन्दा जाडो याममा हृदयघात हुने सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । चिसोका कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने भएकाले हृदयघात हुने सम्भावना बढ्ने चिकित्सक बताउँछन् ।

हृदयघातबाट बच्ने उपाय के छ ?

स्वस्थ भोजन : प्रशस्त फलफूल, हरियो सागसब्जी खाने र चिनी, नून र चिल्लो एकदम कम सेवन गर्ने

नियमित शारीरिक व्यायाम गर्ने : दैनिक ३० मिनेट मात्रै भएपनि व्यायाम गर्ने

धूम्रपान साथै सूर्तीजन्य पदार्थको सेवन नगर्ने : सूर्ती, तमाखु, चुरोट, सिगार अथवा खैनीको सेवन नगर्ने र सेवन गर्नेको छेउछाउ पनि नजाने

नियमित स्वास्थय परीक्षण गर्ने

सकारात्मक सोच राख्ने र दैनिक जीवनमा त्यही अनुसारको अभ्यास गर्ने

कोठा न्यानो बनाउन हिटर प्रयोग गर्दा जान सक्छ ज्यान

जाडोबाट बच्नको लागि धेरैले कोठा न्यानो बनाउन विभिन्न विद्युतीय उपकरण किन्ने चलन बढेको छ । कोही भने ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यस्ता तरिका अपनाउँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ गुम्सिएर, निस्सासिएर, अक्सिजनको मात्रा नपुगेर सुतेकै अवस्थामा मृत्यु भएको खबरले पनि हामीलाई एकपटक सोच्न बाध्य बनाउँछ ।

जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा रातभर हिटर, कोईला, आगो, वा अन्य विद्युतीय उपकरण चलाएर सुत्नुहुँदैन । यस्ता उपकरणबाट निस्कने तापमा हुने कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसको कारण शरीरको कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुको चालमा पनि समस्या आउनसक्छ ।

कसैले सुत्ने कोठाको छेउमा अँगेनामा वा कुनै बट्टामा आगो बालेर कोठा बन्द गरी छोडिदिन्छन् । यसो गर्दा कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै गइ मान्छेको निस्सासिएर मृत्युसम्म हुन सक्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?