विज्ञान र टिकटक यस्ता दुई कुरा हुन् जो एकअर्कासँग पटक्कै मेल खाँदैनन् । तर, जहाँसम्म कोभिड १९ को खोपको कुरा छ, विज्ञान र टिकटकले एकअर्कासँग हातेमालो गरेका छन् ।
खोप निर्माणमा काम गरिरहेका वैज्ञानिक तथा चिकित्सकहरुले टिकटकमार्फत् खोपका बारेमा सूचना प्रवाह गरिरहेका छन् । ‘टिकटकप्रतिको मेरो दृष्टिकोण भनेको चाहिँ मनोरञ्जनका लागि आउनुहोस् तर, विज्ञान बुझेर जानुस् भन्ने हो,’ खोप अनुसन्धानमा कार्यरत एक चिकित्सक डा.एना ब्लाक्ने भन्छिन् ।
एन्ना अमेरिकी हुन् र अहिले लन्डनस्थित इम्पेरियल कलेजमा कोरोनाको खोप तयार गर्दै गरेको समूहकी सदस्य पनि हुन् ।
३० वर्षीय एना खोप सम्बन्धी व्याख्या गरिएका सिर्जनात्मक टिकटक भिडियोमार्फत् अहिले ‘इन्टरनेट स्टार’ भइसकेकी छिन् । उनका २ लाख भनदा बढी फलोअर्स छन् भने उनका भिडियोले २.८ मिलियन भन्दा बढी लाइक्स पाएका छन् ।
‘म कहिलेकाहीँ रोकिएर सोच्छु यो मेरो ल्याब र मभन्दा कैयौं गुना ठूलो कुरा हो,’ उनी थप्छिन् ।
विज्ञानको बढी भरोसा गरौं
टिकटकको विज्ञान दुनियामा खुब जमेका अर्का ‘मेडिकल स्टार’ हुन् डा.विल बड । डा. बड अनुसन्धानात्मक चिकित्सक हुन् जो लन्डनमा कोरोनाका विभिन्न खोपहरुमा काम गरिरहेका छन् । २६ वर्षीय विलका अनुसार उनको उद्देश्य भनेको सकेसम्म धेरैजनालाई खोपका बारेमा जानकारी दिने र खोपको विषयमा भएको हिच्किचाहट हटाउने हो ।
‘यसरी बनाएको भिडियो ५० देखि ६० सेकेन्डसम्मको हुन्छ जसबाट दर्शकहरुले खोपका बारेमा केही कुरा सिक्न पाउँछन् र विज्ञानलाई अझै बढी विश्वास गर्न सिक्छन्,’ उनी भन्छन् ।
पहिलो चरणको लकडाउनमा विल कार्यक्षेत्रमै आएनन् किनकी सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो र उनलाई कोरोनाको बढी जोखिम हुनसक्थ्यो । ‘त्यसैले मलाई थाहा छ कोरोनाको डर कतिसम्म हुनसक्छ मान्छेलाई भनेर,’ उनी भन्छन् ।
मानिसहरु केही नयाँ चीजदेखि डराउँछन्, कुनै कुराको बारेमा राम्रोसँग नबुझी हत्तपत्त प्रयोग गर्न रुचाउँदैनन् भन्ने थाहा भएर नै आफूले कोरोना खोपका बारेमा टिकटक मार्फत् जानकारी प्रवाह गर्न थालेको विल बताउँछन् ।
‘मलाई उनीहरुको सहयोग गर्नुछ ताकि उनीहरुले प्राप्त जानकारीका आधारमा खोप लिने÷नलिने कुरा स्वविवेकले निर्णय लिन सकुन् ।’
विज्ञसँग प्रत्यक्ष प्रश्नोत्तर
डा.विल र डा.एनाले दर्शकले खोप सम्बन्धी सोधेका विभिन्न प्रश्नहरुको उत्तर पनि दिने गरेका छन् । उनीहरुले राख्ने जिज्ञासा प्राय खोपको निर्माण गति र सुरक्षासँग सम्बन्धित हुने गरेका छन् ।
‘खोपले कसरी काम गर्छ, खोपले औषधि भन्दा छिटो काम कसरी गर्छ, एउटा खोपभन्दा अर्को खोपले भिन्न तरिकाले कसरी काम गर्छ आदि जस्ता प्रश्नहरु सोधिन्छन्,’ डा.विल भन्छन् ।
‘दर्शकसँग कति धेरै प्रश्न हुन्छन्, उनीहरु अत्यन्तै जिज्ञासु हुन्छन्, यो राम्रो कुरा हो,’ डा.एना भन्छिन् ।
‘सामान्य नागरिकसँग खोपका विषयमा वैज्ञानिक वा चिकित्सकसँग भएजति सूचना तथा ज्ञान अवश्य हुँदैन त्यसैले उनीहरु निचोडमा पुग्न कुनै अर्को व्यक्तिको दृष्टिकोणमा भर पर्छन् ।’
‘ट्रेन्ड’ पछ्याउनुपर्छ
जटिल वैज्ञानिक सूचनालाई केही सेकेन्डको भिडियोमा उतार्ने काम निकै कठिन जस्तो लाग्छ । विल र एनाले यो काम कसरी गर्छन् त ?
‘टिकटकको आधार भनेकै ट्रेन्डलाई कपी गर्ने हो त्यसैले मेरो तरिका भनेकै जे ट्रेन्डिङमा छ त्यसैमा विज्ञानका कुरा वा खोप सम्बन्धी सूचना हालेर भिडियो बनाउने हो,’ एना आफ्नो भिडियो बनाउने शैलीका बारेमा भन्छिन् ।
विलको सबैभन्दा धेरै हेरिएको भिडियो नै डान्स ‘ट्रेन्ड’ अपनाएको भिडियो हो ।
त्यस्तै, एनाले डली पार्टन नामक अमेरिकी गायिकाको गीतलाई ‘खोप’सँग जोडेर बनाएको भिडियो पनि खुब रुचाइयो टिकटकमा ।
प्रश्नोत्तर किसिमका भिडियोमा भने विलले ३ वटा चरण अपनाएर भिडियो बनाउँछन् ।
‘शुरुमा म भिडियोमा देखाउन मन लागेका २,३ वटा मूख्य शीर्षक ठीक पार्छु त्यसपछि पृष्ठभूमि कस्तो राख्ने भनेर सोच्छु अनि अन्तिममा भिडियोलाई सकेसम्म आकर्षक बनाउने प्रयास गर्छु,’ उनी भन्छन् ।
प्राय उनका भिडियोमा विभिन्न ग्राफ तथा चित्रहरु प्रयोग गरिएको पृष्ठभूमि हुन्छ अथवा समाचार जसरी जानकारी लेखिएको हुन्छ ।
अत्यन्तै व्यस्त समयतालिकाका बावजुत हरेक हप्ताको शुरुवातमा एनाले १ घण्टा लगाएर हप्ताभरिका लागि ४,५ वटा भिडियो तयार पार्छिन् । र, हरेक दिनको १ घण्टा चाहिँ कमेन्टमा सोधिएका प्रश्नहरुको उत्तर दिन छुट्याएकी छिन् उनले ।
विल पनि घर र कामलाई दिएर बचेको थोरै फुर्सदको समय मिलाएर भिडियो बनाउँछन् । उनलाई आफूले पहिलाको तुलनामा निकै राम्रो भिडियो बनाउन थालेको अनुभव हुने बताए । ‘आफू हरेक दिन राम्रो गर्दैछु भन्ने अनुभूति गर्न सकिएन भने कुनै पनि कामलाई निरन्तरता दिनै सकिँदैन नि,’ उनी भन्छन् ।
‘कन्स्पिरेसी थिअरी(षड्यन्त्रको सिद्धान्त)को सामना गर्नुपर्छ’
एना र विलले कहिलेकाहीँ षड्यन्त्रको सिद्धान्तको पनि सामना गर्नुपर्ने हुन्छ ।
‘त्यस्ता कुरा गर्नेहरुलाई सधै रिप्लाइ गरिरहन पनि सकिँदैन किनकी उनीहरुका प्रायजसो कुरा नै निराधार हुन्छन्,’ विल अगाडि थप्छन्, ‘त्यसैले कुरा मिलेन भन्दैमा दर्शकहरुसँग वादविवादमा उत्रिनु हुँदैन बरु उनीहरुको निराधार तर्कमा आफूले तथ्य प्रस्तुत गर्दै उत्तर दिनुपर्छ ।’
एना भने ‘सही सूचना प्रवाह गरेर ज्ञान बाँड्ने’ आफ्नो उद्देश्यमा अडिग रहने बताउँछिन् ।
कन्स्पिरेसी थिअरी अन्तर्गत भ्रामक सूचना फैलाउन खोज्ने, उट्पट्याङ कुरा गर्ने, बाङ्गा प्रश्नहरु गर्नेहरुलाई अरु भन्दा छुट्टै तरिकाले उत्तर दिएर झन् उक्साउन नहुने बताउँछिन् एना ।
‘उनीहरु जिज्ञासु छन् र उत्तर चाहान्छन् भन्ने समान सोच लिएर प्रश्नको सामना गर्नुपर्छ,’ एना भन्छिन् ।
टिकटक एउटा सशक्त माध्यम बनेको भन्दै एना अन्य वैज्ञानिकहरुलाई पनि यस मञ्चमा सामेल हुने सुझाव दिन्छिन् ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया