एशियाकै ठूलो ढुंगा नेपालमा ! के छ विशेषता ? (भिडियो)

पर्वत– ‘नेपालमा एशियाकै ठूलो ढुंगा छ’ भन्दा कसलाई गर्व नलाग्ला र ! हो, आज हामी तपाईलाई यही गर्विलो रिपोर्ट प्रस्तुत गर्दै छौं ।

प्रसंग पर्वत जिल्लाको हो । पर्वतको महाशिला गाउँपालिकामा खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । स्थानीयहरु यसलाई एसियाकै ठूलो ढुंगा भएका दावी गर्छन् ।

अहिले यो क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु धमाधम निर्माण भईरहेका छन् । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । विगतमा प्रचार प्रसारको अभावका कारण यो ढुंगाको खासै चर्चा हुने गरेको थिएन् । पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ ।

मोटरबाटोको सुविधा पुगे पनि पर्यटकहरु भने खासै पुगेको पाइँदैन । तर, अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ । यस्तै महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ समेत गठन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणको लागि ८२ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । यसबाहेक पानी धारा निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजनाअनुरुप १ सय ८ धारा निर्माण सम्पन्न भइसकेको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसलाई उचित व्यवस्थापन गर्नका लागि गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले १ सय ८ फिट भगवान शिवको मुर्ति निर्माणको कामलाई पनि अगाडि बढाउने योजना गाउँपालिकाको छ ।

दीर्घकालिन योजना अनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने लगायतका योजनाहरु पनि गाउँपालिकाले बनाएको छ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?