काठमाडौं । सुनका अनेक फाइदा छन् । पहिलो त, यसलाई सुरक्षित लगानीका रुपमा राख्न सकिन्छ । अर्को, यसलाई सामाजिक प्रतिष्ठाको प्रतीकका रुपमा लिइन्छ । अझ, विभिन्न विद्युतीय उपकरणहरु निर्माण गर्दा पनि सुन अनिवार्य रुपमा प्रयोगमा आउँछ । तर, यो निश्चित र सीमित स्रोतबाट आउने भएकाले कुनै न कुनै दिन पृथ्वीमा यसको मात्रा अवश्य पनि सकिनेछ ।
पिक गोल्ड
पिक गोल्ड अर्थात् त्यो विन्दू जब मानिसले पृथ्वीबाट निकाल्नसक्ने जति सुन निकालिसकेको हुन्छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा कूल ३ हजार ५ सय ३१ टन सुन उत्पादन गरियो जुन सन् २०१८ भन्दा १ प्रतिशत कम हो ।
वल्र्ड गोल्ड काउन्सिलका प्रवक्ता हेना ब्रान्डस्टेटर भन्छिन्, ‘सुन खानीबाट प्राप्त हुने सुनको मात्रा झन्झन् घट्दै गइरहेको छ र नयाँ खानीहरु आविष्कार पनि हुन सकेको छैन । यति हुँदाहुँदै पनि हामी ‘पिक गोल्ड’मा पुगिसक्यौं भन्नु चाहिँ अलि हतार हुन्छ ।’
विज्ञहरुका अनुसार ‘पिक गोल्ड’मा पुगिसकेपश्चात्का केही वर्षसम्म पनि सुन उत्पादनमा नाटकीय ढङ्गले कमी भने हुने छैन । यसको असर केही दशकपछि मात्र अनुभव गरिनेछ ।
मेटल्सडेली डट कमका रस नोर्मन भन्छन्, ‘खानीको उत्पादन स्थिर छ वा भनौं उँधो गइरहेको छ तर, तीव्र गतिमा होइन ।’
कति सून बाँकी छ ?
माइनिङ कम्पनीहरुले जमिनमुनि रहेको सुनको मात्रा दुई तरिकाले अनुमान लगाउँछन्ः
रिजर्भः तत्कालीन सुनको मूल्य अनुसार फाइदा हुने सुन
रिसोर्सः भविष्यमा फाइदा लिन सकिने सुन
रिसोर्स गोल्डको भन्दा रिजर्भ गोल्डको मात्रा अझै वास्तविक निस्किन्छ भलै त्यो मापन गर्नु पनि सजिलो काम चाहिँ होइन ।
अमेरिकी भूविज्ञान सर्वेक्षणका अनुसार अहिले जमिनमुनि भण्डारन गरिएको रिजर्भ गोल्ड अनुमानित ५० हजार टन बराबर रहेको छ ।
अहिलेसम्ममा १ लाख ९० हजार टन बराबरको सुन उत्खनन भइसकेको कुराले यो मात्रा कति हो भन्ने कुराको अनुमान लगाउन सहज बनाउँछ । यो तथ्याङ्क अनुसार अब २० प्रतिशत सुनको उत्खनन हुन बाँकी छ । तर, यो सङ्ख्या घटीबढी भइरहन्छ ।
नयाँ प्रविधिको सहायताले केही सुन खानीबाट उत्खनन गर्न सकिएला तर, अहिलेको अवस्थामा भने यो हाम्रो आर्थिक पहुँच भन्दा बाहिरको कुरा हो ।
आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा तथा स्मार्ट माइनिङ नामक नयाँ प्रविधिले उत्खनन प्रक्रियालाई छोट्याएर लागतलाई कम गर्न सक्छन् । उत्खनन कार्यमा विश्वका विभिन्न राष्ट्रहरुले रोबोट पनि प्रयोग गर्दै आएका छन् । विस्तारै रोबोटहरुको प्रयोग खानी अन्वेषणका लागि स्तरीय प्रविधिका रुपमा स्थापित हुनसक्ने सम्भावना देखिन्छ ।
सबैभन्दा ठूलो स्रोत
दक्षिण अफ्रिकाको विटवाटर्सरान्डलाई इतिहासकै सबैभन्दा ठूलो सुन खानीका रुपमा लिइन्छ । अहिलेसम्म उत्पादन भएको कूल सुनको ३० प्रतिशत यहीँबाट उत्खनन गरिएको बताइन्छ । त्यस्तै, दक्षिण अफ्रिकाकै पोनेंग खानी, अस्ट्रेलियाको द सुपर पिट र न्यूमन्ट बोडिंगटन खानी, इन्डोनेसियाको ग्रासवर्ग खानी र अमेरिकाको नेभाडामा अवस्थित खानीहरुलाई सुन उत्पादनको मूख्य स्रोतका रुपमा लिइन्छ ।
चीन विश्वमै सबैभन्दा धेरै सुन उत्खनन गर्ने देश हो । क्यानाडा, रुस, पेरु पनि सुन उत्पादनमा अघि नै छन् ।
कम्पनीको सन्दर्भमा भन्ने हो भने नेभाडाका अधिकांश सुनखानीको मालिक ब्यारिक गोल्ड विश्वमै सबैभन्दा ठूलो सुन उत्पादक कम्पनी हो ।
नयाँ सुनखानी भेटिइरहेको भएतापनि ठूलो सङ्ख्यामा सुन भने भेटिन सकेको छैन । जसको परिणामस्वरुप उत्पादकहरुले दशकौं पुरानो खानीमा निर्भर हुनुपरेको छ ।
उत्खनन गर्नै गाह्रो हो ?
ठूलो मात्रामा उत्खनन गर्ने कार्य अत्यन्तै खर्चिलो हुन्छ । आधुनिक उपकरण तथा विज्ञहरुको आवश्यकता हुने भएकाले पनि सानोतिनो पूँजीमा यो कार्य सम्पन्न हुन सम्भव नै छैन ।
‘उत्खनन प्रक्रिया झन् जटिल बन्दै जानुको एउटा कारण के पनि हो भने दक्षिण अफ्रिकाका जस्ता आकारले ठूला, कम लागत लाग्ने र पुराना सुनखानीहरुमा सुन नै सकिने अवस्थामा छ,’ नोर्मन भन्छन् । ‘यता चीनका खानीहरु साना छन् जसले गर्दा त्यहाँ उत्खनन गर्दा बढी लागत लाग्छ ।’
उत्खननका लागि अब केही स्थानमा मात्रै अन्वेषण हुन बाँकी छ । जहाँ सुनखानी हुने व्यापक सम्भावना छ त्यस्ता ठाउँहरु अत्यन्तै अनिश्चित भूगोलमा पर्दछन् जस्तैः पश्चिम अफ्रिका ।
सुनको उत्पादन कम हुनुले पार्छ सुनको मूल्यमा प्रभाव ?
यस वर्षको अगस्टमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएतापनि यसले सुन उत्पादनमा तीव्रता थप्न सकेन । सुनको मूल्य र यसको उत्पादनले एक अर्कालाई खासै प्रभाव पार्दैन ।
ब्रान्डस्टेटर भन्छिन्, ‘सुन उत्पादन गर्दा यति लामो र जटिल प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ कि बजारमा भएको मूल्य उतारचढावले केही फरक पार्नै पाउँदैन ।’
कोरोना महामारीका कारण प्राय सुन उत्पादक कम्पनीहरु बन्द थिए । जसकारण यस दौरान उत्खनन कार्य नै भएनन् । फेरि यही वेला सुनको मूल्य पनि एकाएक अकाशियो । तर, यो मूल्यवृद्धिमा सुन उत्पादनमा आएको कमीको प्रभाव भन्दा पनि कोरोना महामारीका कारण लगानीकर्ताहरुले सुनलाई सुरक्षित लगानी मानेर धेरै भन्दा धेरै खरिद गरी भण्डारन गर्नु हो ।
जूनमा पनि सुन ?
जमिनमुनि भएको सुन निकाल्न त यति कष्ट भइरहेका वेला चन्द्रमामा पनि सुन छ भन्ने कुराले केही अचम्मित बनाउन सक्छ ।
यद्यपि, त्यहाँ भएको सुन उत्खनन गरेर यहाँसम्म ल्याइपु-याउने लागत त्यसबाट आउने फाइदा भन्दा बढी हुन जान्छ ।
जूनमा सुन भएतापनि त्यहाँबाट पृथ्वीमा सुन ल्याउन महंगो पर्ने बताउँछन् अन्तरिक्ष विशेषज्ञ सिनेड ओ सुलीवन । उनी भन्छन्, ‘तुलनात्मक रुपमा जूनबाट ल्याइएको सुन बेचेर आउने पैसा भन्दा धेरै गुणा बढी रकम त्यसको उत्पादनमा खर्च हुन्छ ।’
त्यसैगरी, एन्टार्टिकाका केही भूभागमा पनि सुन छ तर त्यहाँको तापक्रमले गर्दा सुन उत्खनन गर्न अत्यन्तै गाह्रो हुन्छ । फेरि महासागरको तल्लो भागमा छरिएर रहेकाले पनि सुन निकाल्न अत्यन्तै महंगो पर्न जान्छ ।
पृथ्वीमा सीमित मात्रामा भएका स्रोत जस्तैः पेट्रोल, कोइला, धातु आदि मध्ये सुनको एउटा फाइदा के छ भने यसलाई पुनःप्रयोग(रिसाइकल) गर्न सकिन्छ । त्यसैले यदि कुनै दिन सुनखानीमा सुन सक्यो र उत्खनन गर्नै सकिएन भनेपनि हामीलाई सुनको अभाव चाहिँ हुँदैन ।
विद्युतीय उपकरण जस्तैः मोबाइल फोनहरुमा पनि सुन प्रयोग गरिएको हुन्छ जसलाई पछि रिसाइकल गर्न सकिन्छ । यो प्रयास भइराखेको छ ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया