काठमाडौं । आज शनिवारको दिन प्राय सबै फुर्सदिला हुन्छन् । पढाइ, काम, व्यवसायको बोझबाट केही राहत महशुस गर्ने समय हो यो । हप्ताभरिको तनावलाई बिसाएर अर्को हप्ता थप सक्रियताका साथ काम गर्नलाई उर्जा बटुल्ने वेला हो यो । त्यसैले, मनन गर्नुहोस् तपाईले काम गर्ने ठाउँमा कतै असभ्य व्यवहार त भइरहेको छैन ?
आजभोलि असभ्य व्यवहार देख्नलाई धेरै कष्ट गर्नैपर्दैन त्यो चाहे राजनीतिक बहसमा होस्, कलेजको कक्षाकोठामा होस् या सार्वजनिक स्थलमा । एउटा अनुसन्धानले यो पनि देखाउँछ कि ‘असभ्य’ व्यवहार रुघाभन्दा बढी संक्रामक छ ।
असभ्यताको महामारीबाट ‘कार्यक्षेत्र’ पनि संक्रमित छ । यस अघिका सर्वेक्षणले यो देखाएको छ कि लगभग सबै कर्मचारीले आफ्नो कार्यक्षेत्रमा असभ्य व्यवहारको सामना गरेका छन् भने आधाले हप्तामा कम्तीमा १ पटक आफू नराम्रो व्यवहारको शिकार हुनुपरेको गुनासो गरेका छन् । केही अनुसन्धानकर्ताहरुले यो पनि दाबी गरेका छन् कि यो समस्या झन्झन् व्यापक र जटिल बन्दै गएको छ ।
के यो साँचो हो त ? पछिल्लो १ दशक समय कार्यक्षेत्रमा हुने असभ्य व्यवहार तथा अन्य दुव्र्यवहारको अध्ययनमा बिताएकी शेननले गरेको अध्ययनले यसो भन्छः
असभ्य व्यवहारको तथ्याङ्क उकालो लाग्दै ?
मानौं, कार्यक्षेत्रमा असभ्य व्यवहारको उदय भइरहेको छ । यसको अर्थ के कर्मचारीहरुलाई वास्तवमै अभद्र व्यवहार गरिने, हेपिने, खिस्सी गरिने, अपमानित गरिने हो ? यस प्रश्नको जवाफ दिन मैले साधारण सामाजिक सर्वेक्षणको तथ्याङ्क परिक्षण गरें, जसले सन् १९७२ देखि अमेरिकन मनोवृत्ति, व्यवहार र विशेषताहरुसँग सम्बन्धित सयौं किसिमका ट्रेन्डका बारेमा तथ्याङ्क संकलन गरिरहेको छ ।
त्यसमा एउटा प्रश्न यो पनि थियो जसमा ‘मेरो कार्यक्षेत्रमा मलाई सम्मानसाथ व्यवहार गरिन्छ’ भन्ने विषयमा १ देखि ४ सम्म अंक दिइएको हुन्छ । १ अर्थात् वाक्यसँग पूरै सहमत र ४ अर्थात् पूरै असहमत । सन् २००२ मा यसको औसत उत्तर १.६९ थियो अर्थात् सर्वेक्षणमा संलग्न प्रायले आफूलाई राम्रो व्यवहार गरिने बताए । तर, सन् २०१८ मा अंक बढेर १.७६ पुग्यो । जसको अर्थ हो कार्यक्षेत्रमा दुव्र्यवहारको सङ्ख्या बढ्ने क्रममा छ ।
केही भ्रम र यथार्थ…
अब यसको व्यापकताको कुरा गरौं ।
एकदमै धेरै प्रयोग भएको तथ्याङ्क के छ भने ९८ प्रतिशत कर्मचारीहरुले कार्यक्षेत्रमा असभ्य व्यवहारको सामना गर्नुपर्दछ । यस प्रकारको तथ्याङ्कले हामीलाई यो विश्वास गर्न बाध्य बनाइरहेको हुन्छ कि हरेक व्यक्ति एकअर्कासँग असभ्य तरिकाले नै व्यवहार गर्छन् ।
वस्तविकता के हो भने जब एउटा कर्मचारीले आफू कार्यक्षेत्रमा सधैं अपमानित हुनुपर्ने बताउँछन् तब उसले कार्यालयका हरेक कर्मचारीले दुव्र्यवहार गरेको बताएको होइन ।
यस किसिमका अनुसन्धानहरुको मुख्य कमजोरी के हो भने यसमा कर्मचारीको हरेक सहकर्मीसँगको अन्तरक्रियालाई स्थान दिइएको हुँदैन । त्यसैले कार्यक्षेत्रमा भएको दुव्र्यवहार वा असभ्य व्यवहारको कुरा गर्दा उनीहरु कुनै एउटा व्यक्तिले बारम्बार दुव्र्यवहार गरेको बताइरहेका हुन सक्छन् ।
त्यसैले यस अनुसन्धानबाट सही परिणाम पाउनका लागि अनुसन्धानकर्ताले कर्मचारीको आफ्ना सबै सहकर्मीसँग कस्तो सम्बन्ध छ भन्ने कुरामा पनि प्रष्ट हुन जरुरी छ ।
सन् २०१८ मा शेनन र उनका ३ सहकर्मी मिलेर एउटा अध्ययन गरे । कर्मचारीबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा कार्यक्षेत्रमा हुने असभ्य व्यवहारको व्यापकता कति छ भन्ने विषयमा ।
उनीहरुले दक्षिणपूर्वी अमेरिकाको एउटा रेस्टुरेन्टमा त्यहाँका कर्मचारीले पछिल्लो १२ महिनामा आफ्नो कार्यक्षेत्रमा कतिको नराम्रो व्यवहारको सामना गर्नुप¥यो भन्ने सर्वेक्षण गरे ।
६९ प्रतिशतले यसको सामना गर्नुपरेको खुलाए तर, आफ्ना १६ प्रतिशत सहकर्मीसँगको सम्बन्धमा मात्र यस्तो भएको उनीहरुले बताए । सरल भाषामा भन्नुपर्दा, बहुमतले कार्यक्षेत्रमा दुव्र्यवहार झेल्नुपरेको बताए पनि उनीहरुमध्ये प्रायले यस्तो गर्ने सहकर्मीको सङ्ख्या कम भएको बताए ।
यसले के प्रमाणित गरेको छ भने भलै आजका कर्मचारीहरुले आफ्नो कार्यस्थलमा अपमान झेल्नुपर्ने हुन्छ, दुव्र्यवहारको शिकार हुनुपर्ने हुन्छ तर, उनीहरुका धेरैजसो सम्बन्ध असभ्य वा अपमानजनक व्यवहारबाट चित्रित हुँदैनन् ।
यसर्थ, असभ्य व्यवहार रुघाजस्तै फैलिन सक्छ तर, महामारी चाहिँ होइन ।
कार्यक्षेत्रमा हुने असभ्य व्यवहारका ६ उदाहरणः
डिस्टर्ब गर्ने
कार्यक्षेत्रको शान्ति भंग गर्ने वा काम गरिरहेकाहरुलाई कामबाट ध्यान भड्काइदिने किसिमका जुनसुकै गतिविधि पनि असभ्य व्यवहार हो । आफ्नो सहकर्मी काम गरिरहेका वेला आवश्यकता भन्दा बढी कुरा गरेर अल्झाउने वा ठूलो आवाजमा फोनमा कुरा गर्ने अथवा अनावश्यक मेसेज वा सामाग्रीहरु फर्वाड गर्ने ।
अशिष्ट व्यवहार
सामान्य शिष्टाचारको आदानप्रदान समेत नगर्नु, सहकर्मीलाई सहयोग गरेवापत धन्यवाद नभन्नु, गल्ती गर्दा माफी नमाग्नु, सहयोग माग्दा ‘प्लिज’ अथवा सभ्य तथा संयम तरिकाले नभन्नु आदिजस्ता कुराहरु अशिष्ट व्यवहारमा पर्दछन् ।
अभिवादन नगर्नु, भए-नभएको हेक्का नराख्नु
वर्षौंदेखि विछडिएको साथी जस्तो नगरेपनि कम्तीमा एउटै ठाउँमा काम गर्ने भएकाले सहकर्मीलाई नमस्कार, गुड मर्निङ, हाइ, हेल्लो भन्दै अभिवादन गर्नुपर्छ । ऊ भए÷नभएको वास्तै नगर्ने गर्नुहुन्न ।
असभ्य भाषा
धेरैजसो कार्यक्षेत्रमा अश्लील चुट्किला भन्नु, अभद्र शब्दहरुको प्रयोग गर्नुलाई असभ्य मानिन्छ । मजाक मजाकमा भनिने कुराहरु कहिलेकाहीँ अपाच्य पनि हुनसक्छन् । त्यसैले, त्यस्ता मजाक नगर्नु नै बुद्धिमानी हुन्छ ।
सीमा नाघ्ने
कहिलेकाहीँ जे कुरा पनि अतिशय भएर असभ्यताको हद पार गर्दछ । उदाहरणका लागिः गालीगलौज, झर्किने, शारीरिक दुव्र्यवहार, अनैतिक व्यवहार आदिले सीमा नाघ्न सक्छ ।
अपमानजनक प्रतिक्रिया
अपमानजनक व्यवहार भन्नाले यौनसँग सम्बन्धित कुरा मात्र होइन कहिलेकाहीँ गरेको काममा अनावश्यक टिकाटिप्पणी गर्ने, अरुका अगाडि आलोचना गर्ने, एउटाको बारेमा अरुसाग कुरा काट्ने वा सो व्यक्तिका बारेमा हल्ला फैलाउने आदि पर्दछन् ।
लाभका लागि दुरुपयोग
यदि कोही सहकर्मी सधै ढिलो आउँछ र छिटो निस्किन्छ, अनेक बहाना बनाएर आफ्नो काम टार्छ, आफ्नो जिम्मेवारी अरुलाई थुपार्छ, अन्य सहकर्मीलाई आफ्नो लाभका लागि प्रयोग गर्छ भने बाँकी सहकर्मीलाई त्यो मान्छे मन नपर्न सक्छ र उनीहरुले उसको बारेमा कुरा काट्न, आलोचना गर्न थाल्छन् ।
अब यस्ता असभ्य व्यवहारसँग कसरी सामना गर्ने त भन्ने विषयमा यी ५ तरिका उपयोगी हुनसक्छन्ः
रोल माडल बन्ने प्रयास गर्नेः कुनै पनि कार्यालयका प्रमुख अथवा नेतृत्वको बागडोर सम्हाल्ने व्यक्तिहरुले सभ्यताको ‘रोल मोडल’ बन्ने प्रयास गर्नुपर्छ । अर्थात्, नेतृत्वकर्ताले नै असभ्य व्यवहार गरेको देख्दा कर्मचारीहरुले पनि त्यही सिक्ने सम्भावना हुन्छ । त्यसैले आफ्नो कार्यालयमा सभ्य वातावरण होस् भन्ने इच्छा छ भने आफैले सभ्य व्यवहार गर्नुपर्छ ।
बेवास्ता नगर्नेः यदि कसैले आफूसँग अभद्र व्यवहार गर्दैछ भने बेवास्ता गर्नु हुँदैन । यसो गर्नाले सो मान्छेले आफूले त्यस कुरालाई सामान्य रुपमा लिएको भन्ने सोच्छ र व्यवहारमा सुधार ल्याउँदैन बरु झन् असभ्य बन्दै जानसक्छ । यदि कोही अरु व्यक्ति पनि असभ्य व्यवहारको शिकार भएको देखियो भने आवाज उठाउनुपर्छ ।
प्रत्यक्ष सामना गर्नेः कार्यक्षेत्रमा असभ्य व्यवहार भोग्नुपरेको छ भने सोझै त्यस्तो व्यवहार गर्ने व्यक्तिसँग कुरा गर्नुपर्छ । एकान्त, शान्त वातावरणमा बसेर दोहोरो छलफल गर्ने प्रयास गर्नुपर्छ ।
सुन्ने बानी बसाल्नुपर्छः यो बानी कार्यक्षेत्रमा मात्र नभएर हरेक ठाउँमा उपयोगी हुन्छ । हामीले जसलाई असभ्य व्यवहार गरेको आरोप लगाइरहेका हुन्छौं उसले पनि कहिलेकाहीँ नजानी त्यस्तो व्यवहार गर्न पुगेको हुन्छ । त्यसैले उसका कुरा पनि सुनिदिनु पर्छ ।
असभ्य व्यक्तिको ‘फलो अप’गर्नेः असभ्य व्यवहार गर्ने व्यक्तिसँग सामना गरिसकेको र उसले आफ्नो गल्ती स्वीकारेर सुधार्ने प्रतिबद्धता गरिसेकेको अवस्थामा पनि ढुक्क भएर बस्नु चाहिँ हुँदैन । बरु त्यस व्यक्तिको क्रियाकलाप, चालढाल, बोलीचालीमा नजर राखेर उसले त्यस्तो व्यवहार दोहो-याएको-नदोहो-याएको ख्याल राख्नुपर्छ ।
(यूनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाकि सहप्राध्यापक शेनन जी टेलरले गरेको अनुसन्धानमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया