प्रधानमन्त्रीको सक्रियता: केन्द्रीय सदस्य थपेर सपथ ग्रहणदेखि महाधिवेशन घोषणासम्म (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

मंगलबार बालुवाटारमा आफु पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा ५ सय ४७ सदस्य थप गरेका छन् भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था समेत बैठकले गरेको छ । ओली पक्षले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरुलाई अध्यक्ष ओलीले मंगलबार नै सपथ ग्रहणसमेत गराएका छन् । पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन प्रस्ताव राष्ट्रपति समक्ष लगेसँगै अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय गरेको थियो ।

उक्त समुहको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गरेका हुन्  । महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशिल, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको बताए ।

अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितीले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको पनि बताए । उनले भने ‘पुरानो केन्द्रीय कमिटीले राष्ट्रिय राजनीति र पार्टी भित्र समेत बाह्य घुसपैठ र हस्तक्षेप रोक्न समेत असफल भए । राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता। भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न सकेन । यसर्थ त्यो अभिभारा पुरा गर्न थप गर्नुपरेको हो ।’

अध्यक्ष ओलीले प्रचण्ड­–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकोले पार्टीले गति लिन नसकेको बताए । उनले भने, ‘अब त उहाँहरु महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरु नेताहरु निकाल्ने यो बाटोतिर पो खेति गरिाख्नु भएको छ । पार्टी एकीकरण टुङ्ग्याउने एकीकरणको बाटोबाट अगाडी बढाउने होइन् । एकीकरणको बाटोबाट पार्टी अगाडि बढ्ने होइन् । बरु उहाँहरु भत्काउने कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यहि प्रकारको खेति गर्नुभएको छ । त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिना भित्र महाधिवेसन गरिसक्ने छौं । हामीले चुनावमा पनि जानुछ अब हामी चुनावको तयारीमा जुटछौं चुनावमा जान्छौं । अर्को चुनाव पछि अरु कामहरु बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरुलाई पुनरगठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कम गरेर हामी चुनावका लागि तयारी गर्छौं । चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउनु पर्नेछ ।’

प्रस्तुत छ, प्रधानमन्त्री ओलीको सम्बोधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?