कामकै कारण मारिएका पत्रकारहरुको सङ्ख्या वर्ष २०२० मा ५० पुगेको छ । हतियारयुक्त द्वन्द्व र सामूहिक हिंसाका कारण मेक्सिको र अफगानिस्तान पत्रकारहरुका निमित्त विश्वमै सबैभन्दा असुरक्षित देश भएको एक अन्तर्राष्ट्रिय सञ्चार नियामक समूहको अनुसन्धानले देखाउँछ ।
रिपोर्टर्स विदआउट बोर्डर्सका अनुसार जनवरी १ देखि डिसेम्बर १५ सम्मको तथ्याङ्क अनुसार यस वर्ष ५० जना पत्रकारहरुको हत्या भएको छ । हत्या प्रत्यक्षरुपमा उनीहरुको कामबाट रुष्ट भइ प्रतिक्रियास्वरुप गरिएको देखिन्छ ।
‘पत्रकारहरुको हत्या सङ्ख्या गत वर्ष भन्दा दोब्बर हुनु अत्यन्तै दुखदायी खबर हो,’ पत्रकार संरक्षण समितिका कार्यकारी निर्देशक जोएल सिमोन भन्छन्, ‘यस वृद्धिले दण्डहीनताको सामना गर्न अन्तर्राष्ट्रिय समूदाय असफल भएको देखाउँछ ।’
सन् २०२० मा पत्रकार हत्याको सङ्ख्यामा पनि केही कमी आएको छ तर, कोरोना महामारीका कारण त्यसो हुन सकेको अनुमान गरिएको छ ।
द्वन्द्वका कारण भएको मृत्युमा भने सन् २००० यताकै सबैभन्दा न्यून सङ्ख्यामा झरेको पाइएको छ । पत्रकार संरक्षण समिति भने यसो हुनुमा मध्यपूर्वमा न्यूनीकरण हुँदै गएको द्वन्द्व र कोरोना भाइरस महामारीका कारण संवाददाताहरु एक ठाउँबाट अर्को ठाउँ जान प्रतिकूल अवस्था भएकाले हुनसक्ने बताउँछ ।
भलै द्वन्द्वमा परी मृत्यु हुने पत्रकारहरुको सङ्ख्या कम भएको छ तर अफगानिस्तान र सिरियामा उनीहरुले गरेको रिपोर्टिङका आधारमा नै ४ जना भन्दा बढीको हत्या गरिएको पत्रकार संरक्षण समिति जनाउँछ ।
अफगानिस्तानमा मारिएकामध्ये एक हुन् मलालाई मैवान्द । टेलिभिजन तथा रेडियो संवाददाता उनलाई काममा जाँदै गर्दा गोली हानी हत्या गरिएको थियो ।
इरानमा सन् २०१७को सरकारविरोधी आन्दोलनलाई प्रोत्साहन गरेको आरोपमा रुहोल्ला जाम नामका पत्रकारलाई मृत्युदण्ड दिइयो ।
फिलिपिन्समा यस वर्ष ३ जना पत्रकारको योजनावद्ध हत्या गरियो ।
पत्रकारका लागि उत्तरी अमेरिकाको दक्षिणपट्टीको सबैभन्दा असुरक्षित देश भने मेक्सिको रह्यो । त्यहाँ ४ जना पत्रकारहरुको हत्या गरियो भने अपराधस्थलमा रिपोर्टिङ गर्ने क्रममा एकजनालाई गोली हानी घाइते बनाइयो ।
पत्रकार संरक्षण समितिद्वारा ती ४ हत्याको अनुसन्धान अझै पनि जारी छ ।
पत्रकार संरक्षण समितिका मेक्सिको प्रतिनिधि जेन अलबर्ट हुट्सेन भन्छन्, ‘हाम्रोमा दण्डहीनता, हिंसा, अपराधी र सरोकारवालाहरुको साँगगाँठ अझैपनि विद्यमान छ जसले यहाँको स्थिति थप भयावह बनाएको छ ।’
लागू पदार्थ ओसारपसार गर्ने समूहहरुको एक आपसमा हुने द्वन्द्वका कारण मेक्सिकोको हरेक क्षेत्रमा हिंसा बढेको छ । जसको परिणामस्वरुप मेक्सिकोमा पछिल्लो ५ वर्षमा हत्याको तथ्याङ्क ठ्याक्कै दोब्बर भएको छ ।
मेक्सिकोका पत्रकारहरुले आफूलाई अपराधिक गिरोह तथा भ्रष्ट नेताहरुको ‘टार्गेट’मा पनि पाउने गरेका छन् जसले गर्दा हत्याराहरु प्राय सजायमुक्त हुन्छन् ।
पत्रकारको हत्याराहरु प्रायजसो सजायमुक्त भइ खुलेआम हिँड्ने मेक्सिकोमा यस वर्ष भने दुईवटा ‘हाइ प्रोफाइल केस’हरुमा पीडित पक्षले न्याय पाएका छन् ।
जसमध्ये मिरोस्लाभा ब्रिच भेल्डुसिया नामक मेक्सिकन खोज पत्रकारको हत्यारालाई सुनाइएको ५० वर्ष जेल सजाय पनि एक हो ।
यद्यपि, दुवै घटनामा गोली चलाउनेहरुलाई सजाय दिइयो जबकि गोली चलाउने प्रपञ्च रच्नेहरु भने स्वतन्त्र रहे ।
‘पत्रकारका निमित्त सुरक्षित वातावरण सिर्जना गर्न हामी रत्तिभर पनि सफल भएका छैनौं,’ मेक्सिकोका पत्रकार तथा लेखक तेमोरिस ग्रेको भन्छन्, ‘पत्रकारको हत्या गर्नु सजायबिनाको अपराध गर्नु जस्तै भएको छ यहाँ ।’
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो सरकारले अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै पनि खलल नपु¥याउने संकल्प गरेको भएतापनि आफ्नो प्रशासनका बारेमा कहिलेकाहीँ नकारात्मक समाचार छापिँदा अक्सर सञ्चार माध्यमको आलोचना गर्ने गरेका छन् ।
मेक्सिकोका सञ्चार माध्यमहरुमा प्रकाशित दृष्टिकोण/विचारहरुको विश्लेषणात्मक अध्ययन गरेर उनले दुई तिहाईं सञ्चार माध्यमहरुले सरकारलाई नकारात्मक ढंगले प्रस्तुत गरेको टिप्पणी गरेका थिए ।
शताब्दीमै सबैभन्दा धेरै खेदो खनिएको राष्ट्रप्रमुख आफू भएको गुनासो लोपेज ओब्राडोरको थियो ।
उनले द न्यूयोर्क टाइम्स लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा व्यवसायिकता र नैतिकता दुवै नभएको दाबी समेत गरे ।
स्वतन्त्र प्रेस अधिवक्ताहरुका अनुसार राष्ट्रका प्रमुखबाट भएको यस्तो कटाक्षले विद्यमान समस्यालाई सुल्झाउने भन्दा झन् जर्जर बनाउँछ ।
नेपालमा केही प्रतिनिधि घटनाहरुः
नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको भएतापनि यहाँ पत्रकार माथि अङ्कुसे लगाउने काम भइरहन्छ । हिंसात्मक रुपमा वा बल प्रयोग गरेर नभएपनि धम्की दिने, ब्ल्याकमेल गर्ने, मानसिक तनाव दिने आदिजस्ता तरिकाबाट पत्रकारहरुलाई चपेटामा पारेर निहीत स्वार्थ बोक्नेहरुले फाइदा लुट्दै आएका छन् ।
कहिलेकाहीँ त पत्रकारहरुले त्यही स्वार्थको राँकोमा जलेर ज्यानसमेत गुमाउनु परेको छ ।
यही वि.सं २०७७ साल श्रावणमा कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शंकास्पद मृत्यु पनि त्यसैको एउटा उदाहरण हो ।
त्यो कुनै संयोग वा आत्महत्याको प्रयास थिएन । उनको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरबाट बरामद गरिएको थियो । उनको अनुहारमा गहिरो चोटसमेत देखिएको थियो । शव फेला परेको केही दिनअघि मात्र उनी अचानक घरबाट लापता भएका थिए । यी सबै कुराले शंकास्पद बनाएको उनको मृत्यु कसरी भएको भनेर अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु-याएको खुलेको छ ।
त्यस्तै, डोटीका पत्रकार तेजु खड्का हत्या प्रकरणको पनि टुङ्गो लागेको छैन । वि.सं २०७५ भदौ ९ गते वेपत्ता भएका तेजुको शव एकैचोटी २०७६ मङ्सिर २ गतेका दिन फेला परेको थियो । ज्याकेट, झोला, मोबाइल, परिचय पत्र, पर्ससँगै भेटिएको कंकालको परीक्षण गर्दा तेजुकै भएको पुष्टि भएको थियो ।
के छ नेपालको कानूनमा ?
वि.सं २०७२ मा जारी गरिएको नेपालको नयाँ संविधानको भाग ३ मा मौलिक अधिकारका रुपमा धारा १७ (ब)मा सबै नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता दिइएको छ । तर, यस स्वतन्त्रताको ‘चेक एण्ड ब्यालेन्स’ गर्नका निमित्त यस लगत्तै स्पष्टिकरणको कानून बनाइएको छ जसले यसमा प्रतिबन्ध लगाउन सक्छ ।
त्यसैगरी धारा १९ मा प्रकाशन र प्रशारण सम्बन्धि व्यवस्था गरी त्यसलाई पनि मौलिक अधिकारका रुपमा राखिएको छ ।
धारा २७ मा सूचनाको हक र धारा २८ मा गोपनियताको हकको व्यवस्था पनि मिडिया तथा पत्रकारिता क्षेत्रलाई समेट्ने कानून हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया